रामप्रसाद खनालका चार मौलिक तीज गीत सार्बजनिक

imagesimages

 

काठमाडौँ । नेपाली लोकसंगीतको क्षेत्रमा झण्डै चार दशकदेखि क्रियाशील, १२०० भन्दा बढी मौलिक गीतहरूमा स्वर, शब्द र संगीत दिईसकेका अग्रज लोक दोहोरी गायक रामप्रसाद खनालले यस वर्षको तीज पर्वलाई विशेष बनाउँदै एकै पटक चारवटा मौलिक तीज गीत सार्वजनिक गरेका छन् । करिब १ घण्टा १८ मिनेटको तीज गायन भिडियो Ram Prasad Khanal Official युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Nepal life insurance

खनाल न केवल वरिष्ठ लोकगायक हुन्, उनी रेडियो नेपाल र नेपाल टेलिभिजन मा लामो समयसम्म कार्यरत रहेर नेपाली लोक संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएका एक प्रतिष्ठित सञ्चारकर्मी पनि हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमा International Artists Forum (IAF) को स्थापना गरी नेपाली कलाकारहरूलाई विश्वसामु चिनाउने कार्य गर्दै आएका छन्। साथै, उनी अहिले Federation of International Journalists (FIJA) का अध्यक्ष समेत हुन्।

खनालले देशका विकट गाउँबाट प्रतिभाशाली गायक–गायिकाहरूलाई पहिचान दिलाउँदै राष्ट्रिय स्तरसम्म पुर्‍याउने महत्त्वपूर्ण भूमिका खेलेका छन्। आज नेपालमा स्थापित थुप्रै लोकप्रिय गायकगायिकाहरू खनालकै प्रेरणा र सहकार्यबाट अगाडि आएका हुन्।

यसपटक खनालले शब्द, संगीत, एरेन्ज र निर्देशन आफैं गरेर तयार पारेका तीज गीतहरूमा राजु परियार, रामचन्द्र काफ्ले, जुनु रिजाल, पूर्णकला बीसी, नविन पौडेल, कमला पोखरेल, सुमन थापा मगर, सीमा थापा, मिना लामा, सुनितमी परियार, मनु बीके, दिपिका बायम्बु, प्रतिमा विश्वकर्मा, रूपी सिजाली, कमल कुमार बीके, यान प्रसाद न्यौपाने लगायत चर्चित तथा उदाउँदा कलाकारहरूको साथ रहेको छ।

खनालले प्रस्तुत गीतहरूमा पुराना मौलिक भाकाहरूलाई नयाँ ढंगमा प्रस्तुत गर्दै महिलाहरूको आवाज, पीडा, संघर्ष र चेतनालाई गीतमार्फत उजागर गर्न खोजेका छन् । उनी भन्छन्- ‘यी भाका पुराना हुन्, संकलित पनि हुन्। तर, हाम्रो बाल्यकालदेखि गाइँदै आएका ती मौलिक धुनलाई आज पनि प्रयोग गर्नु, संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यो कुनै कपीराइट उल्लङ्घन होइन, सांस्कृतिक जगेर्ना हो ।’

* गीतको भिडियोको लिंक : https://www.youtube.com/watch?v=3FkemYRFZOQ&list=PLDQAx4fiUc-VHQBwnzqx-o0lICZEKpN_b&index=1

* रामप्रसाद खनालको Youtube Channel :  https://www.youtube.com/@RamPrasadKhanal

 

 

Nepal life insurance