महेश्वर चामलिङ राई
उदयपुर -उदयपुरमा गाउँबाट आलु लिएर घर फर्किँदै गरेका बाबु-छोरीलाई स्थानीय खहरेले बगाएर मृत्यु भएको छ। पहाडी गाविस इनामेबाट आलु लिएर आउँदै गरेका त्रियुगा नगरपालिका-१२ चिसापानीका ४० वर्षीय खड्गबहादुर खड्का र १४ वर्षीया उनकी छोरी बुद्धमायाको मृत्यु भएको स्थानीयले बताएका छन्।
एक छोरासहित खोला तर्दै गरेका उनीहरु तीनैजनालाई बगाएकोमा छोरा भने बाँच्न सफल भएको स्थानीय बाबुराम थापाले बताए। घाइते अवस्थामा रहेका छोराको उपचार गाईघाटस्थिथ अस्पतालमा भइरहेको छ।
स्थानीयका अनुसार त्रिनपा-१३ चिसापानीका खड्का आलु र खसी किन्न भनेर केही दिनअघि पहाड गएका थिए। सोमबार साँझ मुर्कुची आइपुगेपछि आलु बोक्न भनी छोराछोरीलाई बोलाएपछि उनीहरु गएर फर्कदै गर्दा घटना भएको गाउँलेले बताएका छन्।
त्यस्तै पौडी खेल्ने क्रममा दुधकोसी नदीमा डुबेर खोटाङका एक युवा आईतबारदेखि बेपत्ता भएका छन्। गर्मी छल्न पौडी खेल्न कोसी पसेका सुन्तले-५ का १८ वर्षीय गोपाल श्रेष्ठ डुबेर बेपत्ता भएको खोटाङ प्रहरी नायब उपरीक्षक वसन्तराज थापाले बताए।