नेपाल वायुसेवा निगमको जहाजमा रहेको मुसा अझै भेटिएन,मुसा नभेटी सम्म हङकङबाट जहाज नउडाउने पाइलटको अडान

– निर्मल श्रेष्ठ

 

हङकङ  – नेपाल वायुसेवा निगमको जहाजमा मुसा देखिएपछि मंगलबार मध्यरातदेखि समात्ने प्रयास गरिए पनि बुधबारसम्म फेला पार्न सकिएको छैन । काठमाडौंबाट मंगलबार मध्याह्न उडेको जहाजमा अवतरण गर्नुभन्दा करिब १५ मिनेटअघि ककपिटमै मुसा देखिएको थियो । मुसा समात्न जहाजका विभिन्न ठाउँमा १० वटा पासो थापिएका छन् । हङकङ एयरक्राफ्ट इन्जिनियरिङ कर्पोरेसन (हेको) ले मुसा खोज्ने जिम्मेवारी लिएको थियो । तर नभेटिए पनि हेकोले जहाज उडाउन लिखित स्वीकृति दिन अस्वीकार गरेको छ । निगमको काठमाडौंस्थित  इन्जिनियरिङ विभागले पत्र लेखी आफ्नै जिम्मेवारीमा उडाउन चाहेमा भने हेकोले नरोक्ने बताएको निगमका हङकङ स्टेसन म्यानेजर गौरीलाल डाँगीले बताए ।

विमानका क्याप्टेन युवराज भट्टराईले  जहाजमा मुसा नभएको प्रमाणित नभएसम्म नउडाउने अडान लिए । ‘मुसा खोज्नेले नभएको प्रमाणित गर्न सक्दैन भने क्याप्टेनले कसरी जिम्मेवारी लिनसक्छ ?’ भट्टराईले अहिले पनि निगम व्यवस्थापनबाट जहाज उडाउन दबाब आइरहेको संकेत गर्दै भने, ‘म निर्धक्क नभएसम्म कसैले कर गरेर हुँदैन ।’ हेकोले जिम्मेवारी लिन नसक्नुले नै जहाज उडाउनु कति जोखिम छ भन्ने प्रस्ट भएको उनले बताए । ‘मैले लगबुकमा मुसा देखिएको लेखिसकें, अब नभएको निश्चित नभएसम्म विमान उडाउँदिनँ,’ उनले भने, ‘निगमले छैन भनी चिठी दिएको भरमा म यात्रुको जीवन जोखिममा हाल्न सक्दिनँ ।’

दुई पक्ष रहेको निगमभित्रै एकले एउटा मात्र जहाज सञ्चालनमा रहेका बेला निगमलाई डुबाउन यस्तो परिपञ्च रचिएको आरोप लगाएका छन् । केबी लिम्बू पक्षका भनेर चिनिएका भट्टराईले उनकै इसारामा यस्तो गरेको समेत निगम स्रोतले बतायो । मुसा नै नभएको जहाजमा क्याप्टेनले मुसा देखेको दाबी गरेको कुरा झुटो भएको हुन सक्ने एकपक्षमा शंका छ । क्याप्टेन भट्टराईले भने यस्तो शंका गलत भएको बताए । ‘म तीस वर्षदेखि निगममा कार्यरत छु,’ उनले भने, ‘मलाई पनि संस्थाप्रति उत्तिकै श्रद्धा र माया छ, निगमलाई नोक्सान पुर्‍याउने काम मबाट हुन सक्दैन ।’ कम्प्युटर प्रविधिबाट चल्ने जहाजमा सानो तार काटिएमात्र पनि जस्तोसुकै घटना हुन सक्ने भएकाले जोखिम लिनै नमिल्ने उनको भनाइ थियो । उडिरहेको विमानमा आफैंले मुसा देखेको व्यावसायिक जीवनकै पहिलो घटना भए पनि विश्वका चर्चित जहाज कम्पनी युनाइटेड एयरलाइन्स, लुफथान्सा लगायतमा समेत मुसा भेटिएकाले नौलो नभएको उनले जनाए ।

पासोमा नपरेपछि बुधबार मध्यरातबाट मुसा समात्न छुट्टै पेस्ट कन्ट्रोल टिम -मुसा, किरा फट्याङ्ग्रा नियन्त्रण टोली) खटिने भएको छ । ‘टोलीले विष छर्केर मुसालाई बाहिर निकाल्ने प्रयास गर्नेछ,’ म्यानेजर डाँगीले भने, ‘भोलि सम्ममा जहाज उडाउने प्रयत्न गर्नेछौं ।’ मंगलबारको उडान रद्द भएपछि रोकिएकाहरू सबैलाई बुधबार ड्रागन र थाई एयरवेजबाट पठाइयो । दुई वटा मात्र बोइङ रहेको निगमको एउटा जहाज जाँचका लागि इजरायल पठाइएको छ । उक्त जहाज १८ सेप्टेम्बरमा फिर्ता आउने निगमले जानकारी गरायो ।

अन्य समाचारहरु