भीषण वर्षापछि गएको पहिरोले दशदिनदेखि अबरुद्ध तामाकोसी प्रवेशमार्ग सुचारु

दोलखा  – दोलखामा मुसलधारे वर्षापछि गएको पहिरोले दशदिनदेखि अबरुद्ध तामाकोसी प्रवेशमार्ग आइतबार अपरान्हबाट खुलेको छ । भदौ १६ गतेको भीषण वर्षाले दोलखा-सिंगटी हुँदै लामावगर जोड्ने सडकको सुस्पाक्षेमावतीका दुई वटा खोलामा सडक बगाउँदा सडक पूर्णतः अबरुद्ध भएको थियो ।

दोलखाको उत्तरतर्फको २० गाविसमा वस्ने करिब ५० हजार नागरिक यात्रा गर्ने सडक विग्रदा त्यस क्षेत्रमा खाद्यन्न अभावलगायत विभिन्न समस्या परेको थियो । जिल्ला मुख्यालय चरिकोटदेखि ६८ किलोमिटर सडकको कुथली खोलामा विग्रिएको सडक पूर्णतः मर्मत भइसकेको र सुन्द्रावतीमा आशिंक मर्मत गरेपछि यातायाता संचालनमा आएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका साइट इन्जिनियर पुष्कर भट्टराईले बताए ।

४५६ मेगावाट क्षेमताको विद्युत् उत्पादन गर्नका लागि स्तरबृद्धि भइरहेको सडक मर्मतको जिम्मेवारी माथिल्लो तामाकोसी आयोजनाले चाइनिज कम्पनी सिनो हाइड्रोलाई दिएको छ । केहीदिनमा सडक पूर्णतः सुधार भई आवागमण सहजै हुने आयोजनाले स्थानीय नागरिकलाई आश्वस्त पारेको छ ।

पुष्पलाल मार्ग पनि खुल्यो

वर्षातकै कारण शुक्रवार साझदेखि अबरुद्ध तामाकोसी-मंथली-खुर्कोट सडक आइतबार दिउँसोबाट खुलेको छ ।

दोलखा भिर्कोटस्थित पाँच किलोमिटर खण्डमा करिब तीनसय मिटर माथिबाट आएको पहिरोले अबरोध हुँदा यातायात अबरुद्ध भएको थियो ।

एसियाली विकास बैंकले गत असार महिनामा कालोपत्रेसमेत सकेको सडक आंशिक ममर्तपछि आइतबार मध्यान्हबाट खुलेको हो । नचिताएको ठाउँबाट पहिरो आएपछि सडक र नागरिकको धानखेत नष्ट भएको बताउँतै आयोजना निमित्त प्रमुख कृष्ण पन्तले भत्किएको सडक पूर्ण रुपमा मर्मत हुन केही दिन लाग्ने बताए ।

पहाड र तराई जोड्ने तामाकोसीबाट ५५ किलोमिटर लामो सडकमा रामेछाप जिल्ला पुरै र सिन्धुली जानेहरु यात्रा गर्छन् ।

अन्य समाचारहरु