दशैँ मनाउन ठूलो संख्यामा सर्वसाधारण गाउं गएको बेला राजधानीका दर्जनौ ठाउंमा चोरी भएका छन् । गाउंमा खुशियालीसाथ दशैँ मनाएर राजधानी फर्किदा कतिपय सर्वसाधारणले आफ्नो घर र कोठा चोरी भएको थाहा पाएपछि नैराश्य हुनु परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार कतिपय स्थानमा सुनका गहना पसल समेत चोरी भएका छन् । असोज १७ गते कोटेश्वरस्थित ईन्द्र कर्माचार्यको सुनचादी पसलबाट १९ लाख रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको छ । सोही दिन काठमाडौँको टेकुमा सरेश खड्गीको घर फोडेर चोरहरुले १३ लाख बराबरको नगद र गरगहना लगेका छन् ।
त्यस्तै ईचंगु नारायाण गाविस वडा नम्बर ४ मा सूर्यनारयाण मण्डलको घरबाट ७ लाख रुपैयाँ बराबरको गरगहना र सोही गाविसको वडा नम्बर २ निवासी घोरतबहादुर दर्नालको घरबाट २ लाख बराबरको गरगहना चोरी भएको प्रहरीले जनाएको छ । असोज २० गते काठमाडौँ डल्लुका रामचन्द्र सुवेदीको घरबाट ७ लाख रुपैयाँ बराबरको सामान चोरी भएको छ । त्यसैगरी असोज २१ गते मनमैजु गाविस निवासी रामप्रसाद महर्जनको घरबाट साढे ६ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । त्यसैगरी असोज २१ गते राति अनामनगरचोकस्थित एक घरबाट पनि धनमाल चोरी भएको बताईएको छ ।
घरमा सुरक्षाका उपायहरु अवलम्बन नगरिनु, हेरचाहको भरपर्दो ब्यवस्था नहुनु र एकान्तमा रहेका घरहरुमा कोही पनि नबस्नुले चोरीका घटनाहरु बढेको बताईन्छ । सर्वसाधारण गाउंबाट फर्किने क्रम जारी रहेकाले घर तथा कोठा चोरी भएका उजुरीहरु बढ्नसक्ने आँकलन गरिएको छ ।



