साउदी जेलमा उपचार नपाएर नेपालीको मृत्यु/दुई नेपाली जेलमै सिकिस्त – दुतावासको पहल सुन्य

यूएई डेस्क – साउदी अरबको दमामस्थित सफर जेलमा रहेका इटहरा-१ मोरङका मोहनकुमार कार्कीको समयमै उपचार नपाउदा मृत्यु भएको छ । उनी घरफिर्तीका लागि जेल बसेका थिए । त्यस जेलमा यसअघि पनि एक नेपालीको ज्यान गएको थियो ।


जेलमा सँगै रहेका कामदारले बिरामीको हेलचक्र्याइँबाट ज्यान गएको दाबी गरेका छन् भने जेल प्रशासनले उपचार क्रममा ज्यान गएको बताएको छ । ‘मृत्युको विषयमा कामदार र जेल प्रशासनले भनेका कुराहरू फरक छन्,’ साउदीको राजधानी रियादस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘वास्तविकता बुझ्न हामी जेल अनुगमन गर्ने तयारीमा छौं ।’


जेल आएको ५० औं दिनमा ज्यान गएको जेलमा रहेका मोरङका एक नेपालीले फोन सम्पर्कमा बताए। ‘जेल आउँदा ७० केजीभन्दा बढी थिए-विस्तारै बिरामी पर्दै गए,’ ती नेपालीले भने, ‘हामीले बारम्बार उपचारका लागि जेल प्रशासन र दूतावासलाई आग्रह गरेका थियौं । तर समयमै कतैबाट सुनुवाइ भएन ।’


उनका अनुसार जेलमा ज्यान गएपछि जेल प्रशासनले हतार-हतार अस्पताल लगेको थियो । त्यस जेलमा अझै दुई जना गम्भीर बिरामी परेका छन् । खुट्टामा ठूलो घाउ भएका बागलुङका चिरञ्जीवी जैसी र श्वासप्रश्वासको समस्या देखिएका यादव थरका नेपालीको उपचार भइरहेको छ । चिरञ्जीवीलाई भर्ना गरिएको घिमिरेले बताए । ‘एउटै कोठामा सयभन्दा बढ्ता नेपाली रहेकोले नेपालीहरू बढी बिरामी हुने गरेका छन्,’ जेलमा रहेका नेपालीहरू भन्छन्, ‘अक्सिजनको कमी, समयमै औषधि नपाउने समस्या र खानेकुरा अभावले नेपालीहरू ठूलो समस्यामा छन् ।’


सफर जेलमा स्वदेश आउने गैरकानुनी हैसियत भएका नेपालीसहित विदेशी कामदारलाई राख्ने गरेका छन् । जेलमा बसेकाले स्वदेश फिर्न अनिश्चित समय बस्नुपर्ने हुँदा बसाइ स्थितिको अनुगमन गर्न दूतावासलाई अनुरोध गर्दै आइरहेका छन् ।