गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका प्रत्यासीबीच बिहीबार साँझको पत्रकार सम्मेलनमा ‘व्यक्तिगत’ आरोप-प्रत्यारोप चलेको छ ।
एनआरएन अध्यक्षका प्रत्यासी एवं वर्तमान अध्यक्ष देवमान हिराचन र अर्का प्रत्यासी एवं वर्तमान उपाध्यक्ष जीवा लामिछानेबीच पत्रकार सम्मेलनमै विवाद भएपछि पत्रकार सम्मेलन स्थगित भएको हो । दुई अध्यक्षका उम्मेदवार बीच आरोप-प्रत्यारोप तल्लो तहबाट हुन थालेपछि प्रतिनिधि एनआरएनहरुले सहमतिबाटै नयाँ नेतृत्व छान्न माग गर्दै होहल्ला गरेका थिए ।
आफ्नो उम्मेदवारी प्रष्ट पार्नेक्रममा वर्तमान उपाध्यक्ष लामिछानेले अघिल्लो कार्यकालमा काम हुन नसकेको बताएका थिए । जवाफमा हिराचनले उनको आरोपको प्रतिवादन गर्दै ‘अध्यक्ष एक्लैले हैन तपाईंसमेत उपाध्यक्ष हुनुहुन्थ्यो, यसको जस अपजस तपाईंले पनि लिनुपर्छ’ भनेका थिए ।
लामिछानेले भने आफूलाई अघिल्लो कार्यकालमा काम गर्ने वातावरण तयार नगरेको भन्दै हिराचनको आलोचना गरेका थिए । उनले अध्यक्षले एकलौटी संस्था चलाएको आरोप लगाएपछि विवाद तीब्र भएको थियो ।
पत्रकार सम्मेलन स्थगित भएपछि दुवै समूहका प्रतिनिधिबीच भनाभन भएको थियो ।
गैरआवासीय नेपालीको पाँचौं सम्मेलन सुरु, प्रधानमन्त्रीद्वारा लगानीको आह्वान/निर्वाचन भए महतोले प्रमुख सँरक्षकको पद छाड्ने
काठमाडौं, आश्विन २५ – प्रधानमन्त्री बाबुराम भट्टराईले पाँचौं गैर आवासीय नेपालीहरुको पाँचौं विश्व सम्मेलनको राजधानीमा बुधबार उद्घाटन गरेका छन् । हरेक दुई बर्षमा गैर आवासीय नेपाली संघ (एनआरएन)ले उक्त सम्मेलनको आयोजना गर्दै आएको छ ।
प्रधानमन्त्री भट्टराईले उद्घाटनका क्रममा नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन् ।
‘बाह्यरुपमा राजनीतिक सङ्क्रमण र अस्थिरताजस्तो देखिए पनि आन्तरिकरुपमा त्यस्तो अवस्था छैन, तपाईंहरु लगानी गर्न तयार हुनुहोस्, सरकारले उपयुक्त वातावरण तयार गरिदिन्छ’ उनले भने ।
प्रधानमन्त्री डा भट्टराईले अगामी वर्षलाई लगानी वर्षका रुपमा मनाउन लागेकाले विश्वमा छरिएर रहेका नेपालीलाई आफ्ना ज्ञान, सीप र अनुभवलाई नेपालमा लगाउन आग्रहसमेत गरे ।
नेपालको प्रतिव्यक्ति आय ४०० डलरबाट तीन हजार डलर पुर्याउन सरकारले विशेष आर्थिक नीतिको प्याकेज ल्याउन लागेको जानकारी दिँदै प्रधानमन्त्री भट्टराईले भने, ‘लगानीका क्षेत्रमा नेपालको बजार सानो छैन ।’
शान्ति प्रक्रिया र नयाँ संविधान लेखन कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै उनले केही समयभित्रै यी दुई महत्वपूर्ण कामको परिणाम देखिने पनि दावी गरे ।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र नयाँ संविधान लेखनका लागि दलहरुबीच उच्चस्तरको सकारात्मक छलफल भइरहेको उल्लेख गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपालीका ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक एवम् सामाजिक विकासमा लगानी गर्न सरकारले उचित वातावरण तयार गर्ने बताए ।
उनले गैरआवासीय नेपालीको परिचयपत्र वितरण कार्य सुरु गरिएको, सङ्घको विधिवत् मान्यताको कार्य अगाडि बढिरहेको र लगानी भित्र्याउन थप उचित वातावरण तयार गर्न लागिएको जानकारी पनि दिए ।
सङ्घका अध्यक्ष देवमान हिराचनले आगामी संविधानमा गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिइनुपर्ने प्रावधान राख्न माग गरेका थिए ।
सङ्घका पूर्वअध्यक्ष डा उपेन्द्र महतो र गैरआवासीय नेपाली दर्शन रौनियारले नेपालमा उचित लगानीको वातावरण तयार गर्न माग गरेका थिए ।
तीनदिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ५६ देशका गैरआवासीय नेपालीहरुबीच नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लगानीको सम्भावनाका क्षेत्रका बारेमा छलफल हुनेछ । सम्मेलनले दुई वर्षका लागि सङ्घको नयाँ नेतृत्वको पनि चयन गर्नेछ ।
निर्वाचन भए महतोले प्रमुख सँरक्षकको पद छाड्ने
गैरआवासीय नेपाली सँघ (एनआरएन) को नेतृत्व सर्वसम्मत बनाउने प्रयास सफल नभए प्रमुख सरक्षक डा. उपेन्द्र महतोले आफ्नो पदसमेत त्याग्ने सम्भवना बढेको छ ।
राजधानीमा जारी एनआरएनको पाँचौ विश्व सम्मेलनमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछाने दुवैले उम्मेदवारी बिहीबार दोस्रो दिन पनि कायमै राखेपछि इतिहासमै नेतृत्व निर्वाचनबाट छानिने सम्भावना बढेको हो ।
एनआरएन स्थापनामा प्रमुख भूमिका खेलेका महत्तोले दुवै पक्षलाई मिलाएर सर्वसम्मत नेतृत्व चयनको पहल जारी राखेका छन् । उनले प्रयास असफल भएर निर्वाचनबाट नै नेतृत्व छानिने अवस्था आएमा एनआरएन एकताबद्ध भएर जान नसक्ने अवस्था श्रृजना हुने भन्दै प्रमुख सरक्षकको रुपमासमेत नबस्ने निकटवर्तीहरुसँग बताएका छन् ।
उनी निकट स्रोतका अनुसार प्रमुख सँरक्षकसहित कुनै पनि पद नलिएर साधारण सदस्यको रुपमा मात्र रहेर व्यक्तिगत हिसावले योगदान गर्ने इच्छा महतोले ब्यक्त गरेका छन् ।
एनआरएनको सस्थापक अध्यक्षसमेत रहेका महतोले तीन पटक र चौथो पटक हिराचनलेसमेत सर्वसम्मतबाट नेतृत्व सम्हालेका थिए । विहीबारको एक कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु लामिछाने र हिराचनबीच ब्यक्तिगत रुपमै आरोपप्रत्यारोपको अबस्था श्रृजना भएपछि सहमतिका लागि पहल गरिरहेका निरास बनेका छन् । उनीहरुले सहमति नजुटे बहिस्कार गर्ने चेतावनीसमेत दिएका थिए ।



