गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित


 

काठमाडौ – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल भएको छ । जीवा लामिछाने निर्विरोध ढंगले अध्यक्ष चुनिएका छन् ।

अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष देवमान हिराचनले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतिको वातावरण बनेको हो । यसअघि दुई जना उम्मेदवार रहेका कारण पहिलोपटक अध्यक्ष पदमा चुनाव हुने सम्भावना बढेको थियो । सबैको दवाब र आग्रहपछि हिराचनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गरेको दावीबाट पछि हटेका छन् ।

एनआरएनएको विषयमा बिहीबार भएको घटना अतिरञ्जित तरिकाले बाहिर आएपछि त्यसले आफूलाई दुःखी बनाएको र संघको एकताका लागि आफूले आफ्नो दावी छाडेको हिराचनले प्रतिक्रिया दिएका छन् । उनले एनआरएनएले गरेको सहमतिले नेपाली राजनीतिक दललाई पनि सन्देश दिने बताए ।

त्यस्तै,निर्विरोध भएपछि लामिछानेले स्थापनाकालदेखि आफूहरुसंगै रहेको र फेरि पनि एकताको सन्देश गएको बताए । उनले एनआरएनएको लक्ष्य हासिल गर्न संगसंगै अगाडि बढ्ने जनाए । उनले भने-‘विगतमा पनि हामी संगै थियौं,भोलि पनि संगै रहने छौं, हामीबीच कुनै मतभेद छैन ।’ अब अध्यक्ष पदबाहेक अन्य पदमा मात्र निर्वाचन हुने भएको छ ।