न्युयोर्क – भिन्न मौहाल र स्वरुपमा प्रवासमा तिहार सुरु भएको छ । तिहारका लागि केहि दिन बाँकी छँदा नै न्युयोर्कमा देउसी भैलो खेलियो । देउसी भैलाको अर्थ थियो, आपतकालीन राहत कोषलाई मजबुत पार्ने ।
शुक्रबार राति स्थानीय सगरमाथा रेस्टुरेन्टमा आयोजित देउसी भैलोमा प्रवासीहरु मन रोमान्चित मात्र भएनन्, कोषका लागि हातेमालोमा पनि बाँधिए । कार्यक्रमलाई ‘न्युयोर्कबासी हामी नेपाली’ ले आयोजना गरेको थियो ।
संघ संस्थाको भीडमा कुनै संघ संस्थाको संलग्नता बिना सबै पक्षलाई समेटन प्रवासी युवा जमातले आयोजनालाई त्यसरी प्रस्तुती गरेको थियो । ‘मानवीय सहायताका लागि गठन गरिएको कोष प्रति सबैको उत्तरदायित्व छ र यो सबैको कार्यक्रम पनि हो,’ कार्यक्रमबारे आयोजक मध्येका युवा मुनेन्द्र नेवाङ ईकान्तिपुर लाई भने ।
भैलो, देउसीबाट शुक्रबार मात्र सात हजार डलर संकलन गरिएको छ । प्रवासी नेपालीहरुको सम्भावित आपत्तकालीन अवस्थालाई मध्यनजर गर्दै गठित राहत कोषमा हालसम्म १८ हजार दुई सय बीस डलर जम्मा भएको छ ।
आयोजक मध्येकै एक जेनेश गुरुङले भनिन्, ‘बिशेषत आकस्मिकरुपमा अमेरिकी भुमिमा हुने नेपाली प्रवासी दुखद घटनाहरुमा अर्थ अभावका कारण निकै कठिन स्थितीको सामना गर्नुपरेको विगतको पिडादायक स्थितीलाई विचार गर्दै कोषलाई बलियो बनाउने अभियान अन्र्तगत यो भैलो देउसी गरिएको हो ।’
भेटघाट, भैलो देउसी, नाचगान र खानपीनको शुक्रबारे भीडमा न्युर्याेक स्थिती विभिन्न संघसंस्थाहरुको प्रतिनिधीहरु लगायत विविध क्षेत्रका प्रवासी व्यक्तिहरु उपस्थित थियो । स्थानीय कलाकारहरु तिलक श्रेष्ठ, लगायत गीता बुर्लाकोटी, अभय ढुङ्गेल, राजेन्द्र राई, विजय नर्कर्मी लगायतहरुले निशुल्क प्रस्तुती पस्केका थिए । सामुहिक देउसी भैलो खेलिएको थियो ।
‘स्वदेशी संस्कृतीलाई बचाईराख्न र कोषलाई बलियो बनाउन हामी सबैको सकारात्मक सोचको जरुरी छ ।’ रोशन ढुङगानाले भने । हालसम्म उठेको रकम नवीन शेरचनको जिम्मामा रहेको र निकट भविष्यमै सबै सँगको सरसल्लाहपछि कमिटी गठन गरेर रकम हस्तान्तरण गरिने आयोजक सदस्य छिरिङ तोप्के लामाले बताए ।
शुक्रबारको भैलो देउसी कार्यक्रमलाई सफल पार्न शारदा क्षेत्री, महेश मल्ल, पुनम राना मगर, विजय थुलुङ, कामी शेर्पा, पम्फा गुरुङ, शान्ता घिमिरे, लछेन लामा, टिका गुरुङ, विजय नकर्मी र मनोज शर्माले सक्रिय भुमिका खेलेका थिए ।कान्तिपुर



