



-गोपाल प्रसाद भट्टराई
मंसिर–१८,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नागरिकका सुझावलाई ग्रहण गर्दै विकास र सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चालू आर्थिक बर्ष ०८२÷८३ को पहिलो चौमासिकमा ढिकुराको गौचौर र नुवाकोटको चिदिचौरमा भएको सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाको टिमले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साउन देखि कार्तिक मसान्तसम्म भूमिकास्थानले ३१ प्रतिशत भौतिक प्रगति हासिल गरेको जानकारी दिनुभएको छ ।


उहाँका अनुसार यो ४ महिनामा भूमिकास्थानले २३ प्रतिशत वित्तीय प्रगति प्राप्त गरेको छ । भूमिकास्थानले सन्धिखर्कबाट भूमिकास्थान हुँदै प्युठान र दाङ पुग्ने सडकको स्तरवृद्धि, कर्मशिल जनशक्ति परिचालन कार्यक्रम, सिक्दै–कमाउदै–रमाउँदै विद्यालय कार्यक्रम, बुक फ्रि फ्राइडे, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा गरिएका सकारात्मक कामलाई प्रगतिको रूपमा लिएको छ ।

उत्पादन, स्वरोजगार र आर्थिक समृद्धिको जग बसाल्नेगरि भुमिकास्थान अगाडि बढेको नगरप्रमुख झविलाल थापाको दाबी छ । यद्धपि स्थानिय सरकारको पूर्ण अधिकार र स्वतन्त्रता संघिय सरकारकै नियन्त्रणमा रहेकोले धेरै काममा बाधा पुगेको उहाँले बताउनुभएको छ ।

पालिकाको बढ्दो बसाइसराई नियन्त्रण, आन्तरिक आम्दानीको वृद्धि, सक्षम नागरिक र आत्मनिर्भर पालिका बनाउने लक्ष्य अनुरुप संचालित कर्मशिल जनशक्ति परिचालन कार्यक्रम परिणाममुखि भइरहेको नगरप्रमुख थापाको भनाई छ ।


सिमित स्रोतलाई मितव्ययिताको साथ उपयोग गरि नगरपालिकाको हित र नागरिकको सेवालाई चुस्त, दुरुस्त र सहज बनाउने काममा आफुहरु लागि परेको नगर उपप्रमुख बालकृष्ण बन्जाडे र प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपालीको भनाइ छ ।

नयाँ मिडिया प्रा.लि.अर्घाखाँचीको सहजीकरणमा मंसिर १४ र १५ गते सम्पन्न पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, कृषिको व्यवसायिक विकास, पालिकाको दिगोविकास, स्वरोजगारका कामलाई अझ प्रभावकारी र दिगो बनाउन सुझाव दिएका छन् ।

भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कार्यक्रममा उठेका सवालको जवाफ दिदै नागरिकका सुझावलाई ग्रहण गरि अगाडि बढ्ने वचन दिनुभएको छ ।



