एचआईभी संक्रमित झन् छाडा, भन्छन्: जे हुनु थियो भयो– नो टेन्सन–जति दिन बाँच्नु छ मस्तीमा बाँचिन्छ

– अतुल मिश्र, कान्तिपुर

 

काठमाडौ – आफूलाई एचआईभी संक्रमण भएको थाहा पाएपछि उनी झन् छाडा भएका छन् । यौन व्यवसायीहरूसँग शारीरिक सम्पर्कमा उनी सुरक्षित यौन व्यवहार अपनाउँदैनन् ।

‘अब के फरक पर्छ र ? जे हुनु थियो भयो, जतिसुकै कन्डम लगाए पनि निको हुने हैन क्यारे, नो टेन्सन,’ हालै आपmनो एचआईभी स्थिति जानेका ती व्यक्तिले भने, ‘जति दिन बाँच्नु छ मस्तीमा बाँचिन्छ ।’

तर उनको यो असुरक्षित व्यवहारले अन्य असंक्रमित यौन साथीलाई एचआईभी संक्रमणको जोखिम त बढाउँछ नै, उनको र संक्रमित रहेका यौन साथीको जीवन समेत छोट्याउँछ ।

‘एचआईभी संक्रमित जोडीद्वारा यौनक्रियाका बेला कन्डम उपयोग नगर्नाले हरेक सम्पर्कपछि शरीरमा संक्रमणको स्तर बढ्दै जान्छ,’ वीर अस्पतालका डा. सुशील शाक्य भन्छन्, ‘यसरी छिट्टै संक्रमित व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमता गुमाउँछ । रोगी झन् बिरामी पर्न थाल्छ ।’

एचआईभी संक्रमित व्यक्तिले बढी समय बाँच्नु छ भने यौनसम्बन्धको बेला कन्डम उपयोग गर्नुपर्ने उल्लेख गर्दै डा. शाक्य भन्छन्, ‘तर एचआईभी संक्रमित भएका धेरैजसोले यौनक्रियाका बेला कन्डम प्रयोग गरेको देखिँदैन । यो लापरबाहीले संक्रमितलाई समेत छिट्टै मृत्युनजिक पुर्‍याइरहेको हुन्छ ।’

एचआईभी संक्रमितले सुरक्षित यौनसम्पर्क नगर्दा ऊ अन्य संक्रमितहरूबाट एचआईभीका फरकफरक प्रजातिबाट स्वतः संक्रमित हुने गर्छ । ‘यसले संक्रमितको शरीरमा भाइरसको संख्या बढ्न सक्छ,’ शाक्य भन्छन् । आफूभन्दा बढी भाइरस रहेको व्यक्तिसँग सम्पर्क गर्दा सम्पर्क गर्ने व्यक्तिको शरीरमा समेत भाइरसको मात्रा बढ्छ ।

एचआईभी-१ का १० प्रजाति रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘संक्रमितहरूले असुरक्षित यौनसम्पर्क गरेपछि आपmनो प्रजाति अरूलाई दिन्छन् र अर्काको प्रजाति आफूमा सार्छन् । यसरी संक्रमितहरूलाई बढी समयसम्म बाँच्न र आफूलाई सुरक्षित राख्न कन्डमको उपयोगसँगै

सुरक्षित यौनव्यवहार अपनाउनु आवश्यक छ ।’

एचआईभी के हो

एचआईभीको अर्थ ह्युमन इम्युनो डिफिसिएन्सी भाइरस हो । यो भाइरसले त्यो वर्गसँग सम्बन्ध राख्छ जसलाई रेट्रोभाइरस भनिन्छ । एचआईभी भाइरसले शरीरमा प्रवेश गरेपछि शरीरको रोगसँग लड्ने क्षमता निर्भर रहने सेता रक्तकोष (सिडी ४ कोशिका) लाई विस्तारै नष्ट गर्न थाल्छ । यस्तो भाइरस दुई प्रकारका हुन्छन्- एचआईभी-१ र एचआईभी-२ । नेपालमा मुख्य रूपमा एचआईभी-१ पाउने गरिएको छ ।

एचआईभी संक्रमण कसरी हुन्छ ?

एचआईभी भाइरस एकबाट अर्को स्वस्थ व्यक्तिमा संक्रमितको वीर्य, योनीद्रव्य र रगतको माध्यमले फैलिन्छ । एचआईभी संक्रमित व्यक्तिको शारीरिक द्रव्यको सम्पर्क अन्य व्यक्तिको रगतसँग हँुदा एचआईभी संक्रमण हुने सम्भावना हुन्छ ।

असुरक्षित यौनक्रियाले गर्दा सजिलै एचआईभी संक्रमण हुन सक्छ । यसबाहेक प्रजनन र यौन अंग छेउछाउमा रगतको सञ्चार धेरै तीव्र हुन्छ । यसले एचआईभी भाइसर रगतसँग मिसिने सम्भावना बढ्छ । यस्तै, पुरुष वा स्त्रीको यौनांगको कुनै भाग काटिएको वा च्यातिएको अवस्थामा असुरक्षित यौनक्रिया गर्दा एचआईभी संक्रमण हुने सम्भावना धेरै बढ्छ । एचआईभीबाट जोगिन सधैं सुरक्षित यौनसम्पर्क राख्नुपर्छ । अर्थात्, संक्रमित व्यक्तिको शारीरिक द्रव्य अर्को साथीको शरीरमा प्रवेश गर्नुहुन्न ।

डा. शाक्यका अनुसार, करिब ८० प्रतिसत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कका कारणले हुन्छ । संक्रमित रगत वा रगत उत्पादन कुनै स्वस्थ व्यक्तिलाई चढाए ऊ पनि संक्रमणमा पर्ने निश्चित हुन्छ । संक्रमित सिरिन्जले समेत यो संक्रमणलाई फैलाउने गरेको छ । कुनै दुव्र्यसनीले ड्रग लिन उपयोग गरेको सिरिन्ज एचआईभी संक्रमितले प्रयोग गरिसकेका छन् भने पनि संक्रमणको सम्भावना धेरै बढी हुन्छ । यसैले एकचोटि प्रयोग भएको सिरिन्ज पुनः उपयोग गर्नु हँुदैन । चिकित्सकीय उपकरणलाई समेत पुनः उपयोगभन्दा अघि संक्रमणमुक्त गर्नुपर्छ, उमालेर । एचआईभी संक्रमित आमाबाट नजन्मिएको शिशुमा संक्रमण सर्ने खतरा करिब ३० प्रतिशत हुन्छ । उक्त भाइरस संक्रमित आमाबाट गर्भावस्थाको समय, जन्मदाताका, स्तनपानको समय सर्ने सम्भावना हुन्छ ।

संक्रमण कसरी रोक्न सकिन्छ

‘एउटा मात्र असंक्रमित भरोसालायकको यौन साथी राख्नुस्,’ डा. शाक्य भन्छन्, ‘यौन साथीको संक्रमण स्थितिबारे जानकारी नभएको परिस्थितिमा हरेक यौनसम्पर्कमा कन्डम उपयोग

गर्नुस् ।’ गुदा मैथुनले संक्रमण विस्तार हुने खतरा बढी हुने भएकोले कन्डम उपयोग आवश्यक मानिन्छ । मुख मैथुन गर्दा समेत कन्डमको उपयोग आवश्यक रहेको उनी बताउँछन् । यस्तै, यौनरोग देखिए छिटो उपचार गराउनुपर्छ । सरकारद्वारा मान्यताप्राप्त ब्लड बैंकबाट परीक्षण गरिएको रगत मात्र लिनुपर्छ । डिस्पोजेबल सिरिन्जको माध्यमले मात्र इन्जेक्सन लिनुपर्छ । गर्भमा रहेका शिशुमा संक्रमण हुन नदिन स्वास्थ्य केन्द्रबाट औषधि र जानकारी प्राप्त गर्नुपर्छ ।

यसरी एचआईभी फैलिँदैन

एचआईभी संक्रमित व्यक्तिसँग हात मिलाउँदा, अँगालो मार्दा, सँगै खेल्दा, एउटै घरमा बस्दा, सवारी साधनमा यात्रा गर्दा एचआईभी फैलिँदैन । टेलिफोन, कम्प्युटर, पुस्तक तथा अन्य उपकरणको सामूहिक प्रयोगले संक्रमण

फैलिँदैन । सँगै खाँदा, एउटै गिलासमा पानी खाँदा संक्रमण फैलिँदैन । खोक्दा वा हाच्छिउँ गर्दा संक्रमण फैलिँदैन । लामखुट्टे लगायत अन्य कीराले समेत संक्रमण सार्दैनन् ।

एचआईभी/एड्सको लक्षण

सुरुवाती चरणमा एचआईभी संक्रमणको स्थिति प्रयोगशाला परीक्षणपछि थाहा पाउन सकिन्छ । सामान्य रूपमा कुनै व्यक्तिलाई हेरेर ऊ एचआईभी संक्रमित हो/होइन, थाहा पाउन सम्भव छैन ।

यो संक्रमणको लक्षण सात वर्षदेखि १० वर्षसम्ममा देखिन सुरु हुन्छ । यो त्यतिखेर हुन्छ जब रोग प्रतिरोधक क्षमताको कमीले गर्दा संक्रमित व्यक्ति बारम्बार बिरामी पर्न थाल्छ । एक वा एकभन्दा बढी लक्षण देखिन थाले एड्सको आशंका गर्न सकिन्छ । यसका लक्षण हुन्- तीन महिनाभन्दा बढी समयसम्म तिघ्रा वा अन्य ठाउँमा गाँठो हुनु, धेरै कम समयमै शरीरको तौल १० प्रतिशतभन्दा बढी घट्नु, एक महिनाभन्दा बढी समयसम्म ज्वरो आउनु, एक महिनामा बढी समयसम्म बारम्बार पखाला लाग्नु, एक महिना वा बढी समयसम्म निरन्तर खोकी लाग्नु ।

विन्डो पिरियड

कुनै व्यक्ति एचआईभी संक्रमित भएको ६ सातादेखि तीन महिनापछि मात्र सामान्यतः परीक्षणद्वारा उसको शरीरमा संक्रमणको स्थिति थाहा पाइन्छ । शरीरमा एचआईभी भाइरस उपस्थित रहे पनि सामान्य परीक्षणद्वारा नदेखिने स्थितिलाई विन्डो पिरियड भनिन्छ । संक्रमणको विस्तारको दृष्टिले यो धेरै खतरनाक स्थिति हो । यस्तो परिस्थितिमा संक्रमित व्यक्तिले अनजानमै अरूलाई रोग फैलाइरहेको हुन्छ । यसैले एचआईभी संक्रमणमा परेको जोखिमपूर्ण व्यवहारको ६ महिनापछि परीक्षण गराउँदा केही नदेखिए ढुक्क हुन सकिन्छ । यो ६ महिनाको समयमा भने असुरक्षित यौनसम्पर्क गर्नुहुन्न ।

एचआईभी र एड्स

एचआईभी भाइरसले सिडी-फोर कोशिकालाई नष्ट गर्दै जाँदा त्यही क्रममा व्यक्तिको रोगसँग लड्ने क्षमतामा कमी आउँदै जान्छ र ऊ बिरामी पर्न थाल्छ । यदि सिडी फोरको स्तर दुई सय प्रतिक्युविक मिलिमिटरभन्दा कम भए एचआईभी संक्रमण एड्समा परिणत भएको भनिन्छ ।

एचआईभी परीक्षण एवं रोग निदान

एचआईभीको स्थिति थाहा पाउन स्त्रिmनिङ एवं पुष्टि परीक्षण गरिन्छ । स्त्रिmनिङ परीक्षणमा एचआईभी देखिएपछि पूर्ण निक्र्योल गर्न पुष्टि परीक्षण गरिन्छ । विश्व स्वास्थ्य संगठनको परीक्षण विधि मान्यताअनुसार गरिएको एन्जाइम लिंक्ड इम्युनोसार्वेट -एलिसा) अवस्था वेस्टर्न ब्लड टेस्टले पुष्टि गर्न सकिन्छ ।

एचआईभी/एड्स र औषधि व्यवस्थापन

हालसम्म एचआईभी संक्रमणको उपचारका लागि औषधि उपलब्ध छैन । तर केही औषधि एन्टिरेट्रोभाइरलका रूपमा एड्स भएकाहरूलाई दिइन्छ । यसले एचआईभी भाइरसको विस्तारलाई मात्र कम गर्छ, तर पूर्ण सुरक्षा प्रदान गर्दैन । औषधिको उपयोगले रोगीको जीवन स्तरमा सुधार आउनुको साथै आयुसमेत बढ्छ । नेपालका विभिन्न सरकारी केन्द्रहरूमार्फत निःशुल्क एन्टिरेट्रोभाइरल औषधि उपलब्ध छ ।

अन्य समाचारहरु