

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको उल्लेख गरेका छन् । साथै साम्बाले आफ्नो इच्छाअनुसार कतारमा उपचार गराउन चाहँदा एन्फाले आवश्यक सबै पहल र समन्वय गरिसकेको प्रवक्ता शाहले बताएका छन् ।

साम्बाको घुँडामा चोट लागेको विषयमा एन्फा पूर्णरूपले जानकार रहेको र र उनको उपचार सुनिश्चित गर्न सबै आवश्यक पहल गरिरहेको बताएका छन् । उनले भनेका छन्- ‘राष्ट्रिय टोलीकी कप्तानलाई परेको यो पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा छ र उहाँलाई यथाशीघ्र मैदानमा फर्काउने हाम्रो प्रतिबद्धता छ ।’
एन्फाले औपचारिक पत्राचार मार्फत कतार फुटबल संघसँग साम्बाको उपचारका लागि समन्वय गरिसकेको बताएको छ । यसअघि पनि राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता राना मगरको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोरेको थियो र ती खेलाडीहरू हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको एन्फाले उल्लेख गरेको छ ।
यसअघि साम्बाले सामाजिक सञ्जालमा एन्फा अध्यक्षले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्ने बाँकी खर्च आफै व्यवस्थापन गर्न भनेको उल्लेख गर्दै आम दर्शकसँग आफ्नो उपचारका लागि सहयोगको याचना गरेकी थिइन् । साम्बाको सो पोष्टपछि एन्फाका पदाधिकारीको सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ भने उनको उपचारको लागि सहयोग गर्ने क्रम शुरु भएको छ । सामाजिक सञ्जालमा आलोचना शुरु भएपछि एन्फाले आफुले पहल गरिरहेको भन्दै विज्ञप्ति निकालेको छ ।
#Samba #ANFA #NepalFootball #FootballNews #SportsNepal #PlayerSupport #HealthUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #SportsUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



