दुम्कीबास र अरुणखोला जोड्ने कच्ची सडक निमार्ण पूरा

नवलपरासी  –  ६ वर्ष अघि श्रमदान गरेर शुरु गरिएको सिमावर्ति त्रिवेणीदेखि दुम्कीबास र अरुणखोला जोड्ने कच्ची सडक निमार्ण पूरा भएको छ । मुक्तिनाथ पिठाधिश स्वामी कमल नयनाचार्यको संकल्पमा ६ वर्षअघि श्रमदान गरेर शुरु भएको कच्ची सडकले यसै साता त्रिवेणी दुम्किवास र अरुणखोला बजार छिचोलेको हो ।

त्रिवेणीदेखि अरुणखोलासम्म २२ किलोमिटर सडक निमार्णका लागि कमलनयनाचार्यले ६ वर्ष अघि त्रिवेणी आसपासका हजारौँ स्थानीय बासिन्दाको भेला गराएर यो सडक श्रमदानवाट भएपनि निमार्ण गर्नैपर्ने भन्दै सबैलाई आब्हान गरेका थिए । उनैको सकृयतामा स्थानियको पटक पटकको श्रमदानका कारण ६ वर्षपछि यसै साता सडकमा मोटरसाइकल र गाडी गुड्न थालेको हो । त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिब्य धाममा स्वामीको आश्रम, विभिन्न मनोहर एवं ऐतिहासिक महत्वका मठमन्दिर र संस्कृत विद्यालय रहेका छन् । त्रिवेणी र आसपासका १५ गाविसका २० हजारभन्दा बढी स्थानीय बासिन्दाले पटकपटक गरेको श्रमदानका कारण त्रिवेणी-अरुणखोला-दुम्किवास कच्ची सडक निमार्ण पूरा भएको हो ।

भारतबाट सबैभन्दा छोटो दुरीमा महेन्द्र राजमार्गको अरुण खोला र दुम्किवास जोड्ने सडकले त्रिवेणीधाम, दुम्किवास, अरुणखोला, देवघाट, मनकामनाको बिकासमासमेत दिर्घकालीन योगदान पुर्‍याउने कमलनयनाचार्यको भनाइ छ ।

भारतीयहरु करिब डेढ घण्टाको सडक यात्राबाट त्रिवेणीधाम हुँदै देवघाट, मनकामना मन्दिर पुगेर एकै दिनमा फर्किन सक्ने भएकाले छोटो समयमा नेपालका प्रमुख तिर्थस्थलमा पुग्न चाहानेलाई सजिलो हुने भएको छ । यता राजधानी र पोखरालगायत स्थानबाट भारत पुग्न चाहनेका लागि पनि यो सडक अत्यन्त छोटो दुरीको छ ।

त्रिवेणीस्थित पबित्र तिर्थस्थल गजेन्द्रमोक्ष दिब्यधामदेखि अरुणखोला-दुम्किवास सडक खण्डको गत सोमबार स्वामी कमलनयनाचार्य र उनका मित्र समाजसेवी गुणचन्द्र बिष्टले संयुक्त रुपमा सडकको उद्घाटन गरेका थिए । कमलनयनाचार्यले सडक खण्डको नाम ‘गजेन्द्रमोक्ष जनतामार्ग’ राखेका छन् । –कान्तिपुर

अन्य समाचारहरु