‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

 

जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिनुभएको हो ।

images

मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उहाँले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिनुभयो ।

प्रधानाङ्गका अनुसार विभागले हाल ‘न्युमेरिकल वेदर मोडलिङ’ मार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा जारी गर्दै आएको छ । यो तथ्यांक सडक विभाग, खानी तथा भूगर्भ विभाग र कृषि सूचना तथा तालिम केन्द्र जस्ता निकायहरूलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ ।

विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र शहरी क्षेत्रका लागि विशेष पूर्वानुमान सेवाहरू प्रदान गरिरहेको उहाँले बताउनु भयो । विशेषगरी हवाई मौसम सेवालाई डिजिटाइज गरिएको र २१ वटा स्थानीय तहका लागि ‘प्रभावमा आधारित पूर्वानुमान’ शुरु गरिएको उहाँले बताउनु भयो । सन् २०१० पछि नेपालको मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको चर्चा गर्दै प्रधानाङ्गले आगामी दिनमा सात दिनसम्मको पूर्वानुमान गर्ने प्रणाली विकास गर्ने बताउनु भयो । साथै, मौसमसम्बन्धी जानकारी सजिलै उपलब्ध गराउन मोबाइल एप सञ्चालनमा ल्याउने र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ (निर्णय सहयोग प्रणाली) बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारी वर्षाबाट हुने क्षतिलाई कम गर्नको लागि जोखिमलाई न्युनिकरण गर्नको लागि हामीले २१ वटा स्थानीय तहको लागि भनेर आईबीएफ फोरकास्ट पनि दिइरहेका छौँ । यस बाहेक तथ्यांकको सम्बन्धमा हामीले सेवाग्राहीहरुलाई आवश्यक तथ्यांकहरु माग भएअनुसार तथ्यांकहरु दिइरहेका छौँ । र बीमाको लागि तथ्यांकहरुलाई प्रमाणीकरण गर्ने आदि कार्यहरु पनि गरेका छौँ । यसै जलवायुको क्षेत्रमा सिजनल वेदर आउटलुक जस्तै आगामी मौसम कस्तो हुन्छ भन्नेबारे त्यसको आकलन र त्यस बाहेक यो डेली मन्थली सिजनल र एनुअल रिपोर्टहरु र यो एक्सट्रिम प्रेसिपिटेसन टेम्परेचर मोनिटरिङ ड्राउट मोनिटरिङ क्लाइमेट चेन्ज इन्फर्मेसन जस्ता जानकारीहरु हामीले दिइरहेका हुन्छौँ । त्यस्तै कृषि क्षेत्रमा हामीले हरेक हप्ता बिहीवारको दिन यो गत हप्ताको गत साताको वेदर एनालिसिसहरु रेनफल टेम्परेचर ह्युमिडिटी आदिको जानकारी दिने गर्छौं । र प्रविधिको कुरा अवस्था हेर्दाखेरि विगत भन्दा हाल धेरै प्रविधिहरु जडान भइसकेको अवस्था छ । र जस्तै २०१० अगाडी हामीसँग लिमिटेड टेक्नोलोजीहरु मात्र थिए । र अहिले २०१० बाट हालसम्म आइपुग्दा खेरि थुप्रै प्रविधिहरु जोडिसकेको छ । र आगामी निकट भविष्यमा पनि थप प्रविधिहरु जस्तै सात दिनसम्मको पूर्वानुमान जेनेरेट गर्ने र त्यस्तै यो मोबाइल वेदर मोबाइल एपहरु सञ्चालनमा ल्याउने र यो आफ्नै डिसिजन सपोर्ट सिस्टम बनाउने जस्ता कार्यक्रमहरु प्लानिङ फेजमा छ । र यसरी अब्जर्भेसनबाट प्राप्त हुने तथ्यांकलाई हामीले विश्लेषण गर्छौं । त्यसबाट पूर्वानुमान तयार हुन्छ । र त्यो पूर्वानुमानको आधारबाट त्यसबाट प्राप्त भएको जानकारीबाट हामीले विभिन्न सेवाहरु दिइरहेका छौँ । र यसैबाट धनजनको क्षति न्युनिकरण हुन्छ भनेर हामीले प्रयासरत छौँ । ’

कार्यक्रममा प्रधानाङ्गले मौसमको सटिक अवलोकन र विश्लेषणबाट नै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जल तथा मौसम विज्ञान विभागका प्राविधिक रामविकेश रायले नेपालको जलविज्ञान (हाइड्रोलोजी) क्षेत्रमा अवलोकनदेखि सेवा प्रवाहसम्म महत्वपूर्ण कार्य भइरहेको भएपनि प्रविधि र बजेटको अभाव मुख्य चुनौतीका रूपमा रहेको बताउनु भयो । रायले विभागले जलविज्ञान र मौसम विज्ञानका दुवै पक्षलाई समेटेर सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार हाल देशभर २ सय ३० वटा जलस्तर मापन केन्द्रहरू रहेका छन्, जसमध्ये २ सय ६ वटा स्वचालित (अटोमेटिक) भइसकेका छन् । विभागले राडार लेभल सेन्सर, स्टाफ गेज र डिस्चार्ज मापनमार्फत तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

रायले विभागले मुख्य गरी तीन प्रकारका जलवैज्ञानिक सेवाहरू प्रदान गरिरहेको बताउनु भयो । जलविद्युत आयोजनाहरूको क्षमता गणना, विश्वविद्यालयका विद्यार्थीको अनुसन्धान र बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबीका लागि आवश्यक तथ्याङ्क प्रमाणीकरण गर्ने काम विभागले गर्दै आएको उहाँले बताउनु भयो । वास्तविक समयको जलस्तर, वर्षा र माटोको चिस्यानलाई आधार मानी विभिन्न मोडेलमार्फत बाढीको पूर्वानुमान गरिन्छ । यसरी तयार पारिएको सूचना बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस,रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत प्रवाह गरिन्छ । रायकाअनुसार नारायणी बेसिनको क्षेत्रमा बाढी पूर्वानुमानको शुद्धता करिव ९० प्रतिशतसम्म पुगेको छ । च्छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ सिस्टम जडान भइसकेको र आगामी दिनमा जीसीएफ प्रोजेक्टमार्फत थप चारवटा हिमतालमा यस्तो प्रणाली विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । रायले अपर्याप्त प्रविधि र कठिन भूगोललाई प्रमुख समस्याका रूपमा औंल्याउनु भयो । जलवायु परिवर्तनका कारण बढ्दो अतिवृष्टि र अनावृष्टिले पूर्वानुमानमा अनिश्चितता थपेको रायको भनाइ छ । सूचनाको पहुँचमा नभएका समुदायका लागि साइरन वा लाउडस्पिकरको प्रयोग गरी ‘सफल पूर्वसूचना प्रणाली’ विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यतिका सेवाहरू प्रवाह गरिराख्दा पनि विभिन्न चुनौतीहरू हामीमा छ । सर्वप्रथम अपर्याप्त प्रविधि । हामीले पछिल्लो समयमा प्रविधिको एकदम मोर्डनाइजेसन भइसक्दा पनि अझै पनि पर्याप्त प्रविधि आइननसकेको अवस्था छ । त्यसै कठिन भूगोल । हाम्रो नेपालको केसमा भूगोल एकदमै कठिन भएकोले हाइड्रोलोजिकल मेट्रोलोजिकल स्टेसनहरू स्थापना गर्न एकदमै गाह्रो भइरहेको हुन्छ । त्यसपछि पूर्वानुमानको अनिश्चितता । पक्कै पनि पर्याप्त प्रविधि नभएकोले अझै पनि हाम्रो पूर्वानुमानलाई धेरै एकुरेसी बनाउन सकिन्छ जुन अझै अनिश्चितता अलि अलि छ नै । सिमित ज्ञान । हाम्रो नलेज कन्फाइन्ड भएको छ एक्सपोजर हामीले राम्रोसँग पाइननसकेको अवस्था छ भने हामीसँग सीमित जनशक्ति छ जनशक्तिको अभाव पनि छ । त्यसपछि नयाँ प्रविधि र दिगोपनको चुनौती, नयाँ प्रविधि आइसक्दा पनि त्यसको सस्टेनेबल कतिको छ, त्यसमाथि पनि प्रश्न छ । त्यसपछि जलवायु परिवर्तन र बढ्दो अतिवृष्टि अनावृष्टिले गर्दा पनि हाम्रो पूर्वानुमानको अनिश्चिततालाई बढाएको पक्कै पनि हो । र हाम्रो जनशक्तिलाई प्रोत्साहनको अवस्था पनि अलिकति दयनीय नै छ । त्यसपछि बजेटको कमी पनि छ । हामीले यति सेवा सञ्चालन गरिराख्दा पनि वर्षेनी हाम्रो बजेट कटौतीमा परिरहेको अवस्था छ । त्यसपछि रिसर्च एण्ड डेभलपमेन्टमा पनि एकदम कमजोर अवस्था छ । ’

मौसमले मानिसको जनजीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । हेलस्टोम, भारी वर्षा, हुरीबतास र डढेलो जस्ता विपद्हरुले हरेक वर्ष क्षति पु¥याइरहेको अवस्थामा विभागले अवलोकन प्रक्रियालाई डिजिटाइज गर्दै लगेको छ । सेटेलाइट, राडार र रेडियोसोण्ड जस्ता आधुनिक उपकरणहरुको प्रयोगबाट प्राप्त तथ्यांकलाई न्युमेरिकल वेदर मोडलिङमा फिट गरेर पूर्वानुमान तयार पारिन्छ ।

#WeatherForecastNepal #SevenDayForecast #MeteorologyDepartment #ClimateUpdate #TechnologyChallenge #BudgetCrisis #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages