भक्तपुर – मध्यपुरथिमि नगरपालिका गाघरस्थित छ लेन सडकमा मिनीट्रकको ठक्करले एक मोटरसाइकल चालकको मृत्यु भएपछि मृतक परिवारले क्षतिपूर्तिको माग गर्दै शुक्रबार बिहान १० बजेदेखि सडक बन्द गराएको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ख ६०८८ नम्बरको मिनीट्रकले बिहीबार राति करिब ९ बजे बा१६प ७३३२ नम्बरको मोटरसाइकललाई गाघरमा ठक्कर दिँदा मोटरसाइकल चालक लक्ष्मीभक्त श्रेष्ठको मृत्यु भएको थियो ।
गाघरस्थित पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल सडकको दायाँतर्फ मोडिन लाग्दा तीव्र गतिमा आएको ट्रकको ठक्करबाट थिमी चारदोबाटो हाइटका ४३ वर्षीय श्रेष्ठको बिहीबकार नागरिक अस्पताल गाघरमा उपचारका लागि लगेपछि मृत्यु भएको थियो ।
मिनीट्रक चालक काभ्रेपलाञ्चोक घर भई भक्तपुर जगाते बस्ने २८वर्षीय कृष्णबहादुर श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेको छ । मृतकका आफन्तले रु दस लाख क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आज बिहान ९ बजे महानगरीय प्रहरी वृत्त थिमीमा घेराउ गरेका छन् भने १० बजेदेखि गाघर छ लेन सडक बन्द गराएका छन् ।
सडक बन्द हुँदा गाघर क्षेत्र तनावपूर्ण बनेको छ । काठमाडौँबाट भक्तपुर तथा बनेपा, काभ्रे हुँदै जाने र आउने सबै यातायातका साधन ठप्प भएका छन् । महानगरीय प्रहरी वृत्त थिमीले दुवै पक्षलाई राखेर वार्ता गराउने प्रयास भइरहेको जनाएको छ । रासस



