


नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षका लागि ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ मुख्य एजेण्डा रहने घोषणा गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र देशको अर्थतन्त्रलाई गति दिन ‘६ स्तम्भ र ६० पहल’ को विस्तृत कार्यदिशा सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष श्रेष्ठले महासंघको साख र गरिमालाई थप उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले ‘जोसिलो, जिम्मेवार र जीवन्त महासंघ’ को नारासहित आफूले नेतृत्व सम्हालेको बताउँदै निजी क्षेत्रको हकहितका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।


देशको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै अध्यक्ष श्रेष्ठले विदेशी मुद्रा सञ्चिति ३.४१४ खर्ब पुग्नु र रेमिटेन्समा ४० प्रतिशतको वृद्धि हुनु सकारात्मक भएपनि आन्तरिक उत्पादन र लगानीको अवस्था चिन्ताजनक रहेको औँल्याउनु भयो । बैंकहरूमा करिव ७ सय अर्बको तरलता भएपनि उद्यमीहरूबाट लगानीको माग नहुनु, कर्जा विस्तार लक्ष्यभन्दा न्युन रहनु र उद्योगहरू क्षमताभन्दा कममा सञ्चालन हुनुले निजी क्षेत्रको मनोबल कमजोर भएको उहाँको विश्लेषण छ ।
सचिवालयको व्यावसायिकरण, डिजिटल सदस्य पोर्टल, मोबाइल एप, र जिल्ला तथा वस्तुगत डेस्कको स्थापना गर्ने, नीति अनुसन्धान शाखाको स्थापना, कानूनी डेस्क, र सरकारको दोस्रो चरणको आर्थिक सुधारमा सक्रिय सहभागिता, ‘मेड इन नेपाल’ अभियानको प्रवद्र्धन, निर्यात सहजीकरण र स्टार्टअप प्रोत्साहन, वैदेशिक लगानी सहजीकरण, जलवायु वित्त, र प्रवासी नेपालीको लगानी परिचालन, ‘स्किल एकेडेमी’ को स्थापना, श्रम विवाद समाधानका लागि मध्यस्थता केन्द्र र दक्ष जनशक्ति निर्माण, व्यावसायिक विवादको गैर–अपराधीकरण, ‘इज अफ डुइङ बिजनेस’ मा सुधार र निजी सम्पत्तिको सुरक्षाका लागि पैरवी गर्ने उहँँको योजना छ । अध्यक्ष श्रेष्ठले महासंघ सरकारको प्रतिद्वन्द्वी नभई अर्थतन्त्रको सहयात्री भएको स्पष्ट पार्नुभयो । व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र अग्रिम धरौटी जस्ता समस्याको समाधान हुनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘सरकारले निजी क्षेत्रलाई केवल साक्षी मात्र नबनाई नीति निर्माण र कार्यान्वयनको हरेक चरणमा वास्तविक साझेदार मान्नुपर्छ ।’
उद्यमीलाई ‘शोषक’ नभई ‘सम्पत्ति निर्माता’ र ‘करदाता सहयात्री’ का रूपमा हेर्ने सामाजिक दृष्टिकोण विकास गर्न महासंघले अभियान चलाउने समेत उहाँले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा पूर्व अध्यक्षहरूको मार्गनिर्देशन र वर्तमान कार्यसमितिको सामूहिक भावनालाई आत्मसात गर्दै अघि बढ्ने उहाँले बताउनु भयो । जिल्ला, नगर, वस्तुगत र एशोसिएट सदस्यहरूको आवाजलाई केन्द्रसम्म पु¥याउन महासंघले प्रभावकारी भुमिका खेल्ने विश्वास दिलाउँदै उहाँले सबै सरोकारवालालाई हातेमालो गर्न आह्वान गर्नुभयो ।



