अमेरिकामा नेपालीभाषी युवतीलाई श्रम शोषण गरेको अभियोगमा भारतीय उच्च अधिकारीलाई पन्ध्र लाख डलर क्षतिपूर्ति भराउने कोर्टको फैसला


अमेरिकाको न्युयोर्कस्थित साउदन डिस्ट्रिक्ट कोर्टले नेपालीभाषी एक युवतीलाई श्रम शोषण गरेको अभियोगमा भारतीय विदेश मन्त्रालयकी एक उच्च कूटनीतिक अधिकारीलाई पन्ध्र लाख अमेरिकी डलर क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

 

न्यायाधीश फ्र्यांक मासले सयुक्त राष्ट्रका लागि न्यूयोर्कस्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सूचना र सामुदायिक मामिलासम्बन्धि काउन्सुलर निना मलहोत्रा र उनका पति ईन्जिनियर जोगेश मलहोत्रालाई पीडित दार्जिलिङकी शान्ति गुरुङको मुद्दामा सो रकम भर्न आदेश दिएको हो ।

 

दार्जिलिङ सुकुनाकी गुरुङले २०६७ भदौंमा न्युयोर्कको फेडेरल कोर्टमा आफूलाई बाल श्रम शोषण र दास बनाएको लगायत २० अभियोगसहित हदैसम्मको कारवाहीको माग गरी मुद्दा हालेकी थिइन् । पीडित गुरुङको संरक्षणलगायत मुद्दामा साथ दिएको अधिकार संस्थाकी अधिकारकर्मी नर्वदा क्षेत्रीले अदालतको फैसलाबाट नैतिकरुपमा अमेरिकामा रहेका नेपाली भाषी महिलाहरुको जित भएको प्रतिक्रिया दिइन् ।

 

गुरुङले रीटमा १७ वर्षको उमेरमा अपहरण शैलीबाट आफूलाई मलहोत्रा दम्पतीले न्यूयोर्क पु-याएको र दासको रुपमा झण्डै साढे तीन बर्ष घरेलु कामदार बनाएको उल्लेख थियो ।