

काठमाडौं, ०७ जेठ । पोखरामा सञ्चालन हुँदै आएको एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र नेपाल राष्ट्र बैंकले रद्द गरेको छ। कम्पनीले स्वयं कारोबार बन्द गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले कानुनी प्रक्रिया पूरा गर्दै लाइसेन्स खारेज गरेको हो।

नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले पोखरा–६ स्थित ‘सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रालि’को मनिचेञ्जर इजाजतपत्र रद्द गरिएको जनाएको छ। बैंकद्वारा जारी सूचनाअनुसार कम्पनीले स्वेच्छिक रूपमा व्यवसाय बन्द गर्ने निर्णयसहित इजाजतपत्र खारेजीका लागि निवेदन दिएको थियो।

उक्त निवेदनमाथि आवश्यक अध्ययनपछि ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
विदेशी मुद्रा सटही सेवा सञ्चालन गर्दै आएको कम्पनी अब औपचारिक रूपमा बजारबाट बाहिरिने भएको छ। पछिल्लो समय मनिचेञ्जर व्यवसायमा नियामकीय कडाइ बढिरहेका बेला कम्पनीले स्वेच्छिक रूपमा कारोबार बन्द गर्ने निर्णय गरेको बुझिएको छ।
राष्ट्र बैंकले देशभर सञ्चालनमा रहेका मनिचेञ्जर संस्थाको नियमित अनुगमन गर्दै आएको छ। नियम पालना नगर्ने वा स्वयं व्यवसाय बन्द गर्न चाहने संस्थाको इजाजतपत्र आवश्यक प्रक्रिया पूरा गरेर खारेज गरिने व्यवस्था रहेको छ।



