
बढ्दो लोडसेडिङका बेला उपलब्ध हुने विद्युत् पनि चुहावटका कारण वितरण गर्न अपुग हुन थालेपछि प्राधिकरणको इनरुवा र दुहबी शाखाले चुहावट नियन्त्रण अभियान सुरु गरेको हो । गत माघ १६ देखि इनरुवा शाखाले गरेको अभियानअन्तर्गत पक्राउ परेका १ सय १२ जनाबाट ३ लाख ५४ हजार ७ सय ९ रुपैयाँ राजस्व संकलन गरेको प्राधिकरणको इनरुवा शाखाका प्रमुख इम्तियाज आलमले जानकारी दिए ।
विद्युत् चुहावट गर्दा पक्राउ परेका ती सबैलाई जनही ३ हजार १ सय जरिवाना गरी पहिलो पटकका लागि छाडिएको उनले बताए । जरिवाना तिरेर रिहा भएकाहरु पुनः चुहावट गरेर पक्राउ परे कडा कारबाही गर्ने उनले जनाए । प्राधिकरणको इनरुवा शाखाले सुरु गरेको चुहावट नियन्त्रण अभियानअन्तर्गत खासगरी सदरमुकाम इनरुवाका साथै नरसिंह, भोक्राहा, डुम्राहा, मधेसा, जल्पापुर र बबियामा अत्यधिक चुहावट गर्नेहरू पक्राउ परेको शाखा प्रमुख आलमले जनाए ।
यस्तै प्राधिकरणको दुहबी शाखाले सञ्चालन गरेको अभियानअन्तर्गत हालसम्म ७१ जनालाई पक्राउ गरिएको छ । दुहबी शाखाले जिल्लाको पूर्वदक्षिणी गाविस सिमरिया, मधेली, अमाही बेल्हा, चिमडी, अमडुवा, रामगन्ज बेलगछिया, सतेरझोरा, छिटहा, औरावनी र दुहबीमा सञ्चालन गरेको अभियानका क्रममा पक्राउ परेका ७१ जनाबाट कुल २ लाख १३ हजार जरिवाना संकलन भएको प्राधिकरणको दुहबी शाखाका सुपरभाइजर कृष्णनारायण यादवले बताए । – कान्तिपुर



