

काठमाडौँ । बलिवुडमा लामो समयदेखि बन्न नसकेको फिल्म डन- ३ फेरी विवादमा परेको छ । फिल्मबाट रणवीर सिंह बाहिरिएको चर्चा चुलिएसँगै निर्देशक फरहान अख्तरले अभिनेता विरुद्ध उजुरी दर्ता गर्न पश्चिम भारत चलचित्र कर्मचारी महासंघ (एफडब्लुआईसीई) लाई सम्पर्क गरेको बताइएको छ ।

धुरन्धर स्टार रणवीरलाई यस फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको थियो । तर उनी र निर्माण पक्षबीच भएको भनिएको विवादका कारण फिल्म हाललाई रोकिएको अवस्थामा पुगेको छ।

एफडब्लुआईसीईले यो विषयको अध्ययनपछि मे २५ मा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ । संस्थाले जारी गरेको आधिकारिक सूचनामा फरहान अख्तर र रणवीर सिंहबीचको विषयमा पत्रकार सम्मेलनमै जानकारी दिइने उल्लेख छ । यो उजुरी आफ्नो सहयोगी संस्था भारतीय चलचित्र तथा टेलिभिजन निर्देशक संघमार्फत प्राप्त भएको पनि महासंघले स्पष्ट पारेको छ। फरहान अख्तर उक्त संघका सदस्य हुन् ।
डन- ३ लाई लिएर अनुमान त्यतिबेला झन् बढ्यो, जब रणवीर सिंह आफैं परियोजनाबाट अलग भएको खबर बाहिरियो । यद्यपि, यसबारे अभिनेताको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर उद्योगभित्रको चर्चाअनुसार पटकथा र निर्देशन शैलीलाई लिएर भएको भनिएको रचनात्मक मतभेदका कारण यस्तो अवस्था आएको हुनसक्ने बताइन्छ ।

मिडिया रिपोर्टमा फरहान अख्तरले पहिले रणवीरको स्थानमा अर्को कलाकार ल्याउने तयारी गरेको दाबी पनि गरिएको छ । तर धुरन्धरको सफलतापछि ती योजना परिवर्तन भएको बताइन्छ । त्यसपछि रणवीर आफ्नो नयाँ सफलतासँग मिल्ने गरी फिल्म छनोटमा बढी सचेत भएको चर्चा पनि छ ।
यसैबीच, निर्माण पक्षले पूर्वतयारीमा भएको खर्च र छायांकन तालिकामा आएको अवरोधलाई आधार मानेर करिब चालीस करोड रुपैयाँ क्षतिपूर्ति माग गर्ने विचार गरिरहेको दाबी गरिएको छ । खबरअनुसार रणवीर सिंहले उक्त क्षतिपूर्ति तिर्न सहमति जनाएको समेत बताइएको छ।



