गर्मी सँगै मुलुकका बिभिन्न क्षेत्रमा डडेलो – आगलागी

तेह्रथुम – तेह्रथुमको पञ्चकन्या र हमरजुङको सामुदायिक वन क्षेत्रमा चार दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डडेलोले चार वटा सामुदायिक वनका हजारौं रूख र जडीबुडी सखाप भइसकेका छन् ।

भोर्लेनी, कर्कलेपानी, लाहावारी, अँधेरी, अचम्वरे, गढीहात्ती ढुंगे र घामे कालिदह सामुदायिक वन क्षेत्र डडेलोले सखाप भएको जिल्ला वन कार्यालयले जनायो । फागुन २ बाट जिल्लाका वन क्षेत्रमा यो वर्ष पहिलो पटक डडेलो सुरु भएको हो ।

अहिलेसम्म १३ घरगोठ र ग्वाली जलेर १ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको छ । वन क्षेत्रमा फागुन २ र २४ मा आगलागी भएको थियो । यो आगलागी नियन्त्रण हुन नपाउँदै गत २६ गते पञ्चकन्या र हमरजुङ गाविसको पुछार तेलिया खोलाबाट सुरु भएको आगो आइतबारसम्म नियन्त्रणमा आउन सकेको छैन ।

तमोर नदीको दोभान भएर आगो माथितिर बढिरहेको वन अधिकृत फणीन्द्र पोखरेलले बताए । ‘नियन्त्रण गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘भएको वन सखाप भएपछि मात्र आगो नियन्त्रणमा आउने भयो ।’

वन डडेलो वस्तीमा सल्किएपछि गत शनिबारमात्र स्थानीय ज्यामिरे गाउँका हर्कबहादुर र लोकबहादुर लिम्बूको घर र गोठ जलेका थिए । डडेलोमा परी भोर्लेनी सामुदायिक वनको २, कर्कलेको १०, लाहाबारीको ७२, अँधेरीको १३, अचम्वरेको ३०, गढीहात्ती ढुंगेको ४८ र घामे कालीदह सामुदायिक वनको २० हेक्टर वन क्षेत्र खरानी भएको वन अधिकृत पोखरेलले बताए ।

आइतबार अबेरसम्म पनि अँधेरी, अचम्वरे, गढीहात्ती ढुंगे र घामे कालीदह सामुदायिक वनमा डडेलो जारी छ । डडेलोमा परी आइतबारसम्ममा १९५ हेक्टर वन क्षेत्र पूरै खरानी भएको पोखरेलले बताए ।

निरन्तर वनमा डडेलो लाग्नुको कारण अहिलेसम्म खुल्न नसकेको वन कार्यालयले जनायो । तेलिया खोलाको पुछार तमोर नदीको दोभान भएर व्यापारीहरूले गाई खरिद गरेर लग्ने गरेको र तिनै व्यापारीले चुरोट खाादा र आगो बालेर त्यसै छाडिदिने गरेकाले वनमा डडेलो सल्किएको हुन सक्ने अनुमान वन कर्मचारीको छ ।

वनमा डडेलो लाग्नुको कारणबारे अध्ययन र अनुसन्धान गर्न दुई जना वन प्राविधिक डडेलो क्षेत्रतर्फ पठाइएको वन कार्यालयले जनायो । ‘डडेलो सल्किनुको कारणबारे अध्ययन थालिसकेका छौं,’ वन अधिकृत पोखरेलले भने ।

जिल्लाका तमोर नदी किनारमा रहेका ३५ वटा सामुदायिक वन आगलागी र डडेलोको उच्च जोखिममा छ । डडेलोमा परी कति परिमाणको वन पैदावर नष्ट भयो भन्ने यकिन तथ्यांक आउन बाँकी रहेको पनि वन कार्यालयले जनायो ।

डडेलो नियन्त्रणका लागि जिरिखिम्तीमा रहेको सशस्त्र प्रहरीको म्याङलुङ गुल्मबाट शनिबार राति नै प्रहरी गएको छ । तर पनि डडेलो नियन्त्रणमा आउन सकेको छैन । यी वन क्षेत्रको चारै दिशाबाट आगो सक्किरहेकाले वस्तीतर्फ आउने सम्भावना रहेको स्थानीय घनश्याम थापाले टेलिफोनमा बताए ।


करोडौंको क्षति

धनकुटा- सदरमुकामको विभिन्न स्थानका दर्जनभन्दा बढी सामुदायिक वनमा लागेको डढेलोबाट हालसम्म ६ घरगोठ जलेका छन् भने करोडौंको क्षति भएको छ ।

लागेको डढेलो वस्तीमा सल्किएपछि तांखुवा २ मा साँझ पाँच घरगोठ जलेर नष्ट भएको छ । सदरमुकामसहित तांखुवा, तेलिया, मौनाबुधुक लगायतका स्थानमा भीषण आगलागी जारी छ । तांखुवा २ को सिभुवा ताक्लाखर्क सामुदायिक वनमा दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

वनबाट हालसम्म ५ घरगोठ जलेर नष्ट भएको प्रहरीले बतायो । नजिकको गाउँमा प्रवेश गर्दा स्थानीय गोपाल विश्वकर्मा, गणेश विश्वकर्मा र हरि दियालीको तीन घरसहित दुई गोठ जलेको प्रहरीले जनायो ।

यसैगरी आइतबार दिउँसोदेखि धनकुटा ३ को गोठगाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो नजिकको वस्तीमा सल्कदै गर्दा नेपाल तथा सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिए । आगलागीबाट स्थानीय नारायण विकको गोठ जलेर नष्ट भएको छ । उनको घर भने जोगिएको छ ।

यसैगरी मौनबुधुकको सामुदायिक वनमा भीषण डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष शिव आङ्लाले बताए । यस्तै तेलियाको मुड्के आहाल, भन्ज्याङ्डाँडा सामुदायिक वनमा डढेलो फैलिदै गएको छ । अधिकांश सामुदायिक वनको डढेलो नियन्त्रण बाहिर गएकाले नजिकका वस्ती जोखिममा परेको प्रहरीले जनायो । तेलियाको भन्ज्यांडाँडा सामुदायिक वनमा लागेको आगोले नजिकको पिप्ले, कर्कले, फडिरेलगायत गाउँ उच्च जोखिममा परेको छ ।

साताभित्र एउटै प्रकृतिबाट डेढ दर्जन घरगोठ जलेर नष्ट भइसकेको छ । यसअघि सामुदायिक वनको आगो वस्तीमा सल्किएपछि कुरुले तेनुपामा पनि नौ घर जोठ जलेर नष्ट भएको प्रहरीले जनायो । हालसम्म क्षतिको यकिन विवरण प्राप्त भइनसकेको प्रहरी नायव उपरीक्षक शरदकुमार तामाङले बताए ।


लालिगुराँस सखाप, होटेल जोखिममा

पोखरा- विश्वकै प्रसिद्व पर्यटकीय अन्नपूर्ण पदमार्गको उल्लेरी खण्डको जंगलमा फैलिएको आगोले ठूलो मात्रामा लालिगुराँसका बोट सखाप पारेको छ । करिब आधा दर्जन पर्यटकीय स्तरका होटल जोखिममा परेका छन् ।

शनिबार अपराह्नदेखि फैलिएको आगो साँझ नियन्त्रणमा आए पनि फेरि सल्किएर होटल र वस्तीतर्फ बढेको स्थानीय बासिन्दाले जानकारी दिए । ‘६/७ वर्षका दुई केटाले खेल्दाखेल्दै लगाइदिएको आगो फैलिएर पूरै वन नै सखाप बन्दैछ,’ उल्लेरी होटल व्यवस्थापन समितिका अध्यक्ष गुनबहादुर पुनले भने, ‘साँझ बल्लतल्ल आगो नियन्त्रणमा लिए पनि हावाले राति फेरि सल्किएकाले कुन बेला होटल र बस्तीसम्म पुगेर नोक्सान पार्छ भन्न सकिन्न ।’ उनले उल्लेरी क्षेत्रमा पर्यटकीय स्तरका करिब आठ होटल रहेकोमा स्थानीय बासिन्दाको सक्रियतामा चार होटल आगोबाट जोगाएको बताए । ‘आगो नियन्त्रणमा लिन नसकेकाले भीरसँगै रहेको पुनः रेस्टुरेन्ट अझै जोखिममा छ,’ उनले भने, ‘राति फेरि सल्कियो भने अरू होटललाई पनि क्षति पुर्‍याउने सम्भावना छ ।’ उनले शनिबार रातिदेखि फैलिएको आगोलाई घरेलु प्रविधि अपनाएर आइतबार अपराह्न नियन्त्रणमा लिन सकेका कारण हेभन, हिमचुली, सनलाइट, हिमालयन होटलमा क्षति हुन नपाएको बताए । उल्लेरीमा २० देखि ४० शय्या रहेका आठ होटलमध्ये ६ होटलमा ७० लाख रुपैयाँ लगानी रहेको जानकारी दिए ।

दाङसिङ ९ का पूर्व वडाध्यक्ष समेत रहेका गुनबहादुरले अन्नपूर्ण पदयात्रामा निस्केका केही पर्यटक होटलमा बसेका र सबै सुरक्षित रहेको बताए । ‘हिजोदेखि फैलिएको आगोले जंगलमा ठूलो क्षति पुर्‍याएको छ, तर कति भयो अहिल्यै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वनजंगलमा क्षति भए पनि कुनै पनि मानवीय क्षति भएको छैन ।’ पर्यटकहरू विरेठाँटी, तिखेढुंगा, घोरेपाटी हुँदै अन्नपूर्ण पदमार्गमा यात्रा गर्दछन् । यो पदयात्राको मुख्य आकर्षण लालिगुराँसको जंगल भने आगोले खरानी पारेको स्थानीय बासिन्दाले बताए ।

आगोले अन्नपूर्ण सरक्षण क्षेत्रअन्तर्गतको दाङसिङ ९ स्थित चाउरेपहिरो भूतखोरको जंगलमा ठूलो क्षति पुगेको पुनले जानकारी दिए । कास्कीको उतरी क्षेत्रस्थित घटनास्थल पुग्न नयाँ पुल विरेठाँटीबाट करिब चार घन्टाको पैदल हिँड्नुपर्छ । घटनास्थलमा विरेठाँटी प्रहरी चौकीबाट तीन र पर्वतबाट एक दर्जनभन्दा बढी प्रहरी टोली आइतबार अपराह्न पुगेको स्थानीयबासीले बताए । प्रहरी पुग्नुअघि नै करिब १५० जना स्थानीय बासिन्दाले पाइपको पानी, माटो र स्याउलाले होटलतर्फ बढ्दै गरेको आगो नियन्त्रणमा लिएका थिए ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी टोली खटिएकाले साँझसम्म उल्लेरी वस्ती जोखिममा नपरेको कास्कीका प्रहरी उपरीक्षक यादवराज खनालले बताए । ‘आगो फैलिएर वस्तीमा क्षति नपुर्‍याओस भनेर आडैका जंगलका रूख काट्न भनेको छु,’ उनले भने, ‘नियन्त्रणका लागि सबै जना खटिएकाले वस्तीसम्म पुगेको छैन, क्षतिको पूर्ण विवरण आइसकेको छैन ।’ उनले भीरतर्फ फैलिएको आगो नियन्त्रण गर्न नसकिए्द्यको जानकारी दिए ।


आगोले ५५ घरगोठ जले

लहान- सिरहाको नहरारिगौल ३ मा शनिबार राति आगलागी हुँदा १० परिवारको ५५ घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट ६० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय रामकृपाल यादवको गाई गोठबाट राति ८ बजे सल्किएको आगोले शत्रुघन, भीषण, केशव यादवलगायत १० परिवारको ५५ घर गोठ जलेको हो । आगलागीमा मानवीय क्षति नभए पनि सरसामान, गरगहना, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनायो । प्रहरी, स्थानीय गाउँले र लहानबाट गएको वारुणयन्त्रले राति १० आगो नियन्त्रणमा लिएको थियो । क्षतिको विवरण लिने कार्य भइरहेको वडा प्रहरी कार्यालय लहानले जनायो ।

यसैबीच काभ्रे संवाददाताका अनुसार आगलागीमा एक घर नष्ट भएको छ । आइतबार महादेवस्थान ३ स्थित भोला नेपालको दुई तले पक्की घरमा आगोलागी भएको जिल्ल&#23

अन्य समाचारहरु