नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

जेठको अन्त्यमा जुनियर र सिनियरमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने भएको छ । नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो । हाँडीगाउँमा रहेको यमबुद्ध स्केटपार्कमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त प्रतियोगिताका लागि छनोट खेल पनि सञ्चालन भइसकेको छ ।

 

दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीले प्रतिष्पर्धा गर्ने संघका महासचिव शक्ती थापाले जानकारी दिए । पहिलो दिन प्रारम्भिक चरणको छनोट हुने र दोस्रो दिन भने उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा गरिने भएको छ । काठमाडौं महानगरपालिकाले यमबुद्ध स्केटपार्क निर्माण गरेपछि पहिलोपल्ट राष्ट्रिय स्तरको ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो ।

विश्व स्केटिङ फेडेरेसनकै मान्यतामा उक्त स्केटपार्क स्थापना भएको संघले उल्लेख गरेको छ । उक्त प्रतियोगितामा स्केटबोर्डिङको फ्रि स्टाइल विधामा प्रतिष्पर्धा हुनेछ । साथै प्रतियोगिताबाट बेस्ट ट्रिक र बेस्ट रन विधाका विजेतासमेत घोषणा गरिने महासचिव थापाले जानकारी दिए । विजेताले नगद पुरस्कार, पदक तथा प्रमाणपत्र पाउनेछन् । सिनियर पुरुष तथा महिला समूहमा च्याम्पियनले ३० हजार पाउने भएका छन् । दोस्रो स्थान प्राप्त गर्नेले २० हजार र तेस्रो हुनेले १५ हजार प्राप्त गर्नेछन् । जुनियर पुरुष तथा महिलातर्पm पनि छुट्टै प्रतिस्पर्धा तय गरिएको छ । यस विधामा च्याम्पियनले १५ हजार, प्राप्त गर्दा दोस्रोले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल स्केट्स तथा स्केटबोर्डिङ संघले सन् २०१० देखि राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

यस प्रतियोगिताका लागि करिब २१ लाख खर्च हुने अनुमान गरिएको छ । यो प्रतियोगिता आयोजनाले जापानमा हुने २०औं एसियन गेम्सको तयारीमा रहेका खेलाडीलाई पनि मद्दत पुग्ने संघका महासचिव थापाले विश्वास व्यक्त गरे । नेपालले पहिलोपल्ट स्केटबोर्ड खेललाई एसियन गेम्समा सहभागी गराउने तयारी थालेको छ । एसियन गेम्सका लागि चार जना खेलाडीको नाम पहिलो चरणको सूचीमा समावेश गरिसकेको छ । संघले गजेन्द्र वर्देवा, शरदकुमार राई, खुसी बिक र वसन्त राईको नाममा पहिलो चरणको सूचीमा पठाएको छ । त्यहाँबाट दुई जना खेलाडी आगामी एसियन गेम्समा छनोट हुने संघले जनाएको छ ।