बिजुलीमा भ्याट लागे पनि उपभोक्ताको बिल नबढ्ने : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याटका कारण उपभोक्ताले तिर्ने बिजुलीको बिल नबढ्ने स्पष्ट पार्नुभएको छ। बजेटमा बिजुलीमा भ्याट लगाउने व्यवस्था भएपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला अर्थमन्त्री वाग्लेले अन्तिम उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने बताउनुभएको हो।

 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले हाल उपभोक्ताले तिर्दै आएको बिलमा थप रकम नजोडिने र आवश्यक परे मूल्य समायोजनमार्फत व्यवस्थापन गरिने जानकारी दिनुभयो।उहाँका अनुसार ५० युनिटभन्दा माथिको विद्युत् खपतमा मात्र ५ प्रतिशत भ्याटको व्यवस्था गरिएको हो। विद्युत् क्षेत्रमा भएको ठूलो लगानीलाई औपचारिक कर प्रणालीभित्र ल्याउन तथा राज्यको राजस्व दायरा विस्तार गर्न सरकारले यो निर्णय लिएको उहाँको भनाइ छ।

अर्थमन्त्री वाग्लेले दीर्घकालीन आर्थिक सुधारका लागि केही अप्रिय निर्णय आवश्यक हुने उल्लेख गर्दै कर प्रणालीलाई व्यवस्थित बनाउने सरकारको प्रयासमा उपभोक्ताको हितलाई प्राथमिकतामा राखिएको बताउनुभयो।