विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै रोकिए
जेष्ठ २६ गते, २०८३ मा प्रकाशित
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। फिफा विश्वकप फुटबल हेर्न मेक्सिको हुँदै अमेरिका जाने तयारीमा रहेका उनीहरूलाई अध्यागमन विभागको ‘ब्ल्याक लिस्ट’ मा नाम रहेको भन्दै सोमबार बिहान विदेश जान अनुमति दिइएन।
अध्यागमन कार्यालयका अनुसार विभागको अभिलेखमा कालोसूचीमा नाम रहेकाले उनीहरूको यात्रा रोकिएको हो। एन्फासम्बन्धी आर्थिक विषयको छानबिन भइरहेका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा गत वैशाखमै एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाइएको थियो।
विश्वकप अवलोकनका लागि विदेश जान अनुमति माग्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले आइतबार राखेपसँग प्रतिबन्ध फुकुवाको आग्रह गरेका थिए। तर राखेपले आफ्नो निर्णय यथावत् राखेपछि उनीहरूलाई विमानस्थलबाटै फर्काइएको हो। एन्फा पदाधिकारीमाथिको प्रतिबन्ध र आर्थिक छानबिनको विषयले नेपाली फुटबल वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।