
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरुले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताउनुभएको छ । सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गर्नुभएको हो ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरु गरिसकेको बताउनु भयो । मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताउनु भयो ।


उहाँले भन्नुभयो,‘आज भन्दा अघि जति सरकारहरु थियो, तिनीहरु भन्दा धेरै बढि सडक सुरक्षामा ध्यान दिएका छौ । अहिले हामीले ३ वर्षको सडक सुरक्षा योजना बनाएका छौँ । र यसमा भरपुर बजेट पनि राखिएको छ । हामीले रोड फर्निसिङमा ३ अव वर्षे कार्ययोजनासहित ४ अर्व ७४ करोड विनियोजन गरेका छौँ । अर्को हामीले जिल्ला जोडने एकलेनको सडक बनाउने भनेर ११ अर्व बजेट विनियोजन गरिएको छ । त्यो सडक चौडा गर्नका लागि मात्रै हो । यसले पुगेन भने हामीले बजेट पनि थप्छौ । तर आगामी ३ वर्ष भित्र हामीले एक लेनको सडकलाई २ लेन बनाएर सक्नेछौँ ।’

मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रुपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताउनु भयो । उहाँले सडकको स्तरोन्नतिका लागि बजेटको अभाव नहुने पनि बताउनु भयो ।




