
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ ।आजदेखि झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाट मालपोत सेवा सुरु भएको मन्त्रालयले जनाएको छ । यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह हुन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सञ्चालनको पहिलो दिन लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको थियो। मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत सेवा विस्तार भइरहेको छ। यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका थिए। स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ। मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।


२- वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो । यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा करिब एक हजार दुई सय घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै खाली नगरिएको जनाइएको छ । सडक विभागले यसअघि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई निश्चित समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको थियो । तर तोकिएको अवधि बितिसक्दा पनि संरचना नहटाइएकाले अब विभाग आफैंले डोजर प्रयोग गरेर बाँकी संरचना हटाउने निर्णय गरेको हो । यसका लागि सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक जनशक्ति, सुरक्षा तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ । सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियानअन्तर्गत यो कार्य अघि बढाउन लागेको जनाएको छ ।

३- आज बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न ६ निर्णयहरु सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् । यो बाहेक आजको बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने, संघीय संसद समक्ष देहायका प्रतिस्थापन विधेयकहरु पेश गर्न स्वीकृति प्रदान गर्ने, जस अन्तर्गत सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक ,सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको मन्त्री तिमल्सिनाले जानकारी दिए ।
४- कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कृषि मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् । सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ । कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि बर्सेनि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगतका वर्षहरूमा अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिता माथि आरोप लाग्दै आएको छ । कार्यदलको कार्यादेश (टीओआर) मा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरुपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ । प्रभावकारी देखिएका प्रणालीका हकमा असल अभ्यासको उदाहरण सहित ‘ग्याप एनालाइसिस’ गरी आवश्यक सिफारिस गर्ने र अनुदान दुरुपयोग अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यादेश पनि कार्यदललाई दिइएको छ । कार्यदलले कम्तीमा एक महिनामा दुई पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढी पटक मन्त्रालयका सचिवसमक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेस गर्नुपर्ने छ ।

५- राष्ट्रिय चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा यसपटक ‘ऊनको स्वीटर’ ले आफ्नो वर्चश्व कायम गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा ऊनको स्वीटरले तीन विधामा अवार्ड जितेको हो । फिल्मले उत्कृष्ट फिल्मसहित निर्देशन र अभिनेत्रीको विधामा फिल्मले अवार्ड प्राप्त गरेको हो । यस फिल्मबाट उत्कृष्ट निर्देशकमा नवीन चौहानले अवार्ड पाए भने अभिनेत्रीको अवार्ड मिरुना मगरले जितेकी छन् । त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘परान’ बाट नीर शाहले प्राप्त गरे । उनले ६० वर्ष लामो आफ्नो अभिनय करिअरमा पहिलो पटक राष्ट्रिय अवार्ड पाएका हुन् । ‘परान’ ले लेखन विधामा पनि अवार्ड जितेको छ । यो विधामा दीपक प्रसाद आचार्य र यम थापाले अवार्ड पाए । छायांकनतर्फको अवार्ड ‘कोशेढुङ्गा’बाट पदम बहादुर श्रेष्ठले पाए भने सोही फिल्मबाट नहकुल खड्का उत्कृष्ट सम्पादकको अवार्ड पाएका छन् । निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडीलाई प्रदान गरियो । त्यस्तै विशेष चलचित्र पुरस्कार नाक्छोङ (ज्योतिराज राई) लाई प्रदान गरिएको छ । कार्यक्रममा ३ लाख ७५ हजार राशीसहितको दीर्घ साधना सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो । सो अवसरमा बोर्डले ११ जनालाई विशेष सम्मान पनि प्रदान गर्यो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष स्व. दिनेश सिटौलालाई ५१ हजार रुपैयाँ राशीसहित मरणोपरान्त सम्मान गरियो भने विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अभिनाश विक्रम शाह, रोहित रुम्बा, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, विनोद शेरचन र शङ्कर पाण्डे पनि सम्मान गरिएको थियो ।
६- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका निम्ति बन्द गरिएको छ । चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको हो । सदर चिडियाखानाले सूचना जारी गर्दै भनेको छ- ‘राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आज मिति २०८३ साल आषाढ ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं । यसबाट दर्शकहरुमा पर्न गएको असुविधाकोलागि सदर चिडियाखाना क्षमाप्रार्थी व्यक्त गर्दछ ।’

७- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १. ६३ अंकले बढेर २७०२. ११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, होटल्स, म्युचुअल फन्ड, निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सोपान फार्माको शेयर १४.०२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुन्गल हाइड्रोको शेयर १२.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभन्चर २०८६/८७ को ३३ करोड ११ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभन्चर २०८४/८५ को ३२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा बर्दिबासस्थित अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट सडक ढलान योजना सम्झौताअनुसार सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै घुस मागी रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
९- प्रतिनिधि सभा बैठक असर ११ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बैठक सकिएसँगै सभामुख डिपी अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरि स्थगित गरेका हुन् । आजको बैठकमा आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ स्वीकृत भएका थिए ।
१०- सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् । कार्यदललाई पाथीभरा मन्दिर जाने केवलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ । सबै सरोकारवाला पक्षलाई समेटेर बनाइएको उक्त सात सदस्यीय कार्यदलमा संयोजक राईसहित पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिको प्रतिनिधि सदस्य छन् । साथै केवलकार निर्माण गर्ने कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव पनि कार्यदलमा सदस्य छन् ।

११- राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजामा (एनजी) प्राप्त गरेका वा अनुपस्थित भएका योग्य विद्यार्थीका निम्ति मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । मौका परीक्षा आउदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । साउन २ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै र दुई विषयमा परीक्षा दिनेहरूका निम्ति सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका निम्ति आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा (एनजी) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा (डी) वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार १९ गतेभित्र प्रतिविद्यार्थी ६०० रुपैयाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ । उक्त अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार २६ गतेभित्र विलम्ब शुल्कसहित प्रतिविद्यार्थी एक हजार २०० रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डका कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय एक हजार रुपैयाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र (असार १२ गते अपराह्न ५ बजेसम्म) बोर्डको वेबसाइटमार्फत अनलाइन भुक्तानी गरी आवेदन दिन बोर्डले समय तोकेको छ । परीक्षाफल प्रकाशनमा कुनै त्रुटि, देखिएमा आवश्यक कागजातसहित नतिजा प्रकाशन भएको ६ महिनाभित्र निवेदन पेस गर्न पनि बोर्डले आग्रह गरेको छ । बोर्डले आज शुक्रबार नै कक्षा-१२ को परीक्षाफल सार्वजनिक गरेको थियो ।
१२- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । शुक्रबार धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा प्रारम्भ भएको केन्द्रीय समिति बैठकलाई तीन पुर्व अध्यक्षहरुले बहिष्कार गरेपछि विवाद बढेको हो । बैठकमा पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी अनुपस्थित रहेका छन् । उनीहरुले महाधिवेशन बारे अध्यक्ष राजेन्द्र लिङदेनले लिएका निर्णयहरुप्रति असन्तुष्टि जनाएको बुझिएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । शनिबारसम्म चल्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्ने बताइएको छ । राप्रपाका महामन्त्री रहेका धवलशम्शेर राणालगायतका सयभन्दा बढी नेताहरूले यसअघि नै राप्रपा छोडेर नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।
१३- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि सरकारले कदम चालेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले करका दरका बारेमा बोल्दै अर्थतन्त्रको दूरगामी औपचारिकीकरणका लागि सरकारले कदम चालेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले प्रगतिशिल नारा लिएर आएका सांसदहरुले तीन मिनेटमै विरोधाभासपूर्ण कुरा गरेको सुन्दा आफूलाई अचम्म लाग्ने गरेको बताए । उनले सांसदहरुले प्रगतिशिल करहरुमा विरोध गरेको बताउदै प्रगतिशिल कर भनेको अलिकति आम्दानी भएको र सक्नेले नसक्नेलाई दिने कर भएको बताए । उनले खर्बौ लगानी गरेर, बर्षौसम्म कर छुट गरेर विद्युत क्षेत्रलाई अहिलेको उचाइसम्म पुर्याइएको बताउँदै अहिले निजी क्षेत्रले विद्युत उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने अवस्था बनेको बताए । अर्थमन्त्री डा. वाग्लेले अब निजी क्षेत्रलाई विद्युत बेच्न र ट्रान्समिसन लाइन विस्तारमा सहयोग पुग्ने गरी छुट दिएर अर्को उचाइमा पुर्याउने लक्ष्यमा रहेको बताए । अहिले नयाँ सरकार आएकोले अलिकति विश्वासको संकट कायमै रहेको बताउदै सरकारले विश्वास बढाउने वातावरण बनाउने किसिमले बजेट ल्याएको दाबि गरे ।
१४- स्विट्जरल्यान्डले अमेरिका र इरानबीच शुक्रबार हुने तय भएको वार्ता रद्द भएको पुष्टि गरेको छ । स्विट्जरल्यान्डको बुर्गेनस्टक रिसोर्टमा हुने भनिएको बैठक अब नहुने स्विस विदेश मन्त्रालयले जनाएको हो । यो घोषणा हुनुभन्दा केही घण्टाअघि मात्र ह्वाइट हाउसले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्ड भ्रमण रद्द गरेको जानकारी दिएको थियो । भान्सले इरानी वार्ताकारसँग भेट गरी अमेरिका र इरानबीच भएको समझदारीपत्र कार्यान्वयनका प्रक्रिया र कार्यविधिबारे छलफल सुरु गर्ने कार्यक्रम थियो । तर वार्ता रद्द हुनु र भान्सको भ्रमण स्थगित भएसँगै दुवै देशबीचको अर्को चरणको वार्ता तत्कालका लागि अघि नबढ्ने स्पष्ट भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार लेबनानसँग सम्बन्धित इरानका केही मागका कारण भान्सको स्विट्जरल्यान्ड भ्रमण प्रभावित भएको हुन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन् । अमेरिका र इरान तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न भएको अन्तरिम समझदारीपत्रपछि अर्को चरणको वार्ताको तयारीमा थिए । उक्त समझदारीमा सबै मोर्चामा जारी लडाइँ अन्त्य गर्ने विषय समावेश छ, जसमा लेबनानको युद्ध पनि परेको छ । यद्यपि, उक्त सहमतिको व्याख्या र व्यवहारिक कार्यान्वयनका विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको बताइएको छ । यसैबीच, जेडी भान्सले इजरायली सरकारका केही मन्त्रीहरूको कडा आलोचना गरेका थिए । उनको अभिव्यक्तिले इरानसँगको सहमति र लेबनानमा इजरायलको सैन्य गतिविधिलाई लिएर अमेरिका र इजरायलबीच तनाव बढिरहेको संकेत गरेको छ । यसैबीच, अमेरिकी संसदमा रिपब्लिकन पार्टीका शीर्ष नेताहरूले डोनाल्ड ट्रम्प र इरानबीच भएको सम्झौताबारे विस्तृत जानकारी पाएपछि आश्चर्य व्यक्त गरेको जनाइएको छ । केही नेताले तत्काल प्रतिक्रिया दिनसमेत अस्वीकार गरेका थिए । हाल धेरै रिपब्लिकन सिनेटरहरूले उक्त सम्झौतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका छन् । उनीहरूले इरानप्रति ट्रम्पको रणनीतिमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । लुइजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले भने, ‘यो सम्झौतापछि इरान अझ शक्तिशाली बनेको छ र अमेरिका कमजोर भएको छ ।’

१५- राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ३५ बर्ष शासन गरेका र अहिले सरकार चलाउनेहरुबीच फरक नरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले हिजो शासन गर्ने र अहिले शासन गर्नेहरुमा कुनै परिवर्तन नदेखिएको बताउदै सरकारको आलोचना गरेका हुन् । शाहीले इभि गाडी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै हिजो सुन प्रकरणको छानबिन गर्न नमानेको र अहिलेको सरकारले इभि गाडीको छानबिन गर्न नमानेको उल्लेख गरे । उनले भने- ‘ हामीलाई भोको पेटको पिडा थाहा छ । गरिबको चोट कस्तो हो त्यो थाहा छ । हामि गरिब हुन सक्छौं बरु भोकै बस्न सक्छौं तर इमान बेच्न सक्दैनौं । सत्यको पक्षमा उभिन डराउदैनौं । आज पनि हामि कुनै व्यक्ति विशेषको विरुद्धमा छैनौं । हामि सत्यको पक्षमा छौं । हामी राज्यको राजश्व जोगाउनुपर्छ भन्नेमा छौं । त्यसैले संसदीय छानबिन समिति गठन गरौँ ।’ शाहीले आफुहरुले सुशासन र जवाफदेहिताको पक्षमा कुरा उठाएको र यी विषय उठाउन नडराउने भन्दै सत्ता पक्षले डिजिटल मिडियाबाट विपक्षी दलहरुलाई आक्रमण गरेको आरोप लगाए । देशलाई गरिब किसान र सर्वहाराले बिगारेका होइनन भन्दै देश पढेलेखेका र सत्ता र शक्तिमा पहुँच राख्नेले बिगारेको उनले दाबि गरे । उनले आफु एक्लै भएपनि सधै सत्यको पक्षमा उभिने भन्दै सत्ता पक्षले ५ सिटे र यति सिटे भन्दै आफुहरुलाई कटाक्ष गर्ने गरेको प्रसंग उल्लेख गरे ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १० हजार ५ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर तोलाको ४६४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।
१७- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो । नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् । कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।
१८- सह-आयोजक मेक्सिकोले जारी फिफा विश्वकपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । दक्षिण कोरियामाथि १-० गोलको जित निकाल्दै मेक्सिकोले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा सहज प्रहार गर्दै निर्णायक गोल गरेका थिए । दक्षिण कोरियाका गोलकिपर किम सुङ ग्यु आफ्नै सहकर्मी ली गि ह्युकसँगको ठोक्किएपछि बल नियन्त्रण गर्न नसक्दा गोल सम्भव भएको थियो । दक्षिण कोरियाले खेलमा फर्कने राम्रो अवसर ८७औँ मिनेटमा पाएको थियो । चो गुए सुङको नजिकबाट गरेको हेडरलाई मेक्सिकोका गोलकिपर राउल राङ्गेलले उत्कृष्ट बचाउ गरेका थिए । त्यसपछि याङ ह्युन जुनको रिबाउन्ड प्रहार पनि उनले रोकिदिएका थिए । यसअघि कप्तान सोन ह्युङ मिनले राङ्गेललाई बिट गर्दै गोलको प्रयास गरेका थिए । तर एडसन अल्भारेजले गोललाइनमा बचाउ गरे, यद्यपि उक्त अवस्थामा उनी अफसाइडमा थिए । पहिलो हाफमा कमजोर प्रदर्शनपछि घरेलु दर्शकले हाफटाइममै टोलीलाई हुटिङ गरेका थिए । त्यसपछि दोस्रो हाफमा मेक्सिकोले खेल सुधार गर्दै ७५औँ मिनेटमा राउल हिमेनेजमार्फत अर्को गोल नजिक पुगे पनि उनको प्रहार बचाएको थियो । सब्स्टिच्युट ओबेद वर्गासको शक्तिशाली प्रहारलाई पनि कोरियाली गोलकिपरले अन्त्यतिर राम्रो बचाउ गरेका थिए । यस जितसँगै मेक्सिकोले विश्वकपमा लगातार जितको यात्रा कायम राखेको छ । प्रशिक्षक हाभियर अगिरेको टोलीले अब समूह ‘ए’ को शीर्ष स्थान सुनिश्चित गर्न चेक गणतन्त्रसँगको अन्तिम खेलमा बराबरी खेले मात्र पुग्ने भएको छ । समूह विजेता बने मेक्सिकोले नकआउट चरणका खेल मेक्सिको सिटीमा खेल्नेछ, जहाँ सम्भावित रूपमा इङल्याण्डसँग पनि सामना हुन सक्नेछ । हारका बाबजुद दक्षिण कोरिया भने पहिलो खेलमा चेक गणतन्त्रलाई हराएकाले नकआउट चरण पुग्ने सम्भावनामा अझै बलियो अवस्थामा छ । अब उसले दक्षिण अफ्रिकासँग निर्णायक खेल खेल्नेछ ।
१९- जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । भ्यानकुभरमा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा उनले दोस्रो गोल गर्दै क्यानडालाई ३-० को सहज अवस्थामा पुर्याए । खेलको ३३औँ मिनेटमा कतारका होमाम एल अमिनले व्यावसायिक फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । दोस्रो हाफमा नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि क्यानडाको अग्रता ४-० पुगेको थियो । तर खेलको मुख्य चर्चा इस्माइल कोनेको चोट बन्यो । कतारका आसिम ओमर मादिबोसँग बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा उनी गम्भीर रूपमा घाइते भएका थिए । लामो समय उपचारपछि उनलाई स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो । भिडियो सहायक निर्णायकको समीक्षापछि मादिबोको पहेँलो कार्डलाई रातो कार्डमा परिवर्तन गरिएको थियो । घाइते अवस्थामै कोनेले समर्थकतर्फ हात हल्लाउँदै प्रतिक्रिया जनाएका थिए । क्यानडाका प्रशिक्षक जेसी मार्स पनि भावुक बनेका थिए । त्यसपछि कतारका मोहम्मद अल मन्नाईले आत्मघाती गोल गरे भने अतिरिक्त समयमा डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यो जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । समान अंक भए पनि गोल अन्तरमा स्विट्जरल्यान्डभन्दा तीन गोलले अगाडि रहेको क्यानडा अब नकआउट चरण नजिक पुगेको छ । यद्यपि कोनेको चोट टोलीका लागि ठूलो चिन्ताको विषय बनेको छ । त्यस्तै कतारको भने २ खेलमा केवल एक अंक रहेको छ र समुहमा पुछारमा रहेको छ । अब क्यानडाले अर्को खेल जुन २५ मा स्विजरल्याण्डसँग खेल्ने छ भने सोहि दिन कतारले बोस्नियासँग खेल्ने छ ।
२०- नेपाल सरकारले अमेरिका र इरानबीच आज हस्ताक्षर भएको ‘इस्लामाबाद समझदारीपत्र’को स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले गत अप्रिल ८ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै अमेरिका र इरानका राष्ट्रपतिबीच भएको शान्ति सम्झौतामा हस्ताक्षरलाई कूटनीतिक प्रयासको सफल निष्कर्षका रूपमा लिएको जनाएको छ । नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको अवस्थाको नजिकबाट अनुगमन गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । उक्त द्वन्द्वले नेपालसहित विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको उल्लेख गर्दै शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ । त्यसैगरी, द्वन्द्वका कारण प्रभावित समुद्री यातायात तथा जलमार्ग सञ्चालनलाई पुनः सामान्य बनाउन पनि यो सम्झौता महत्वपूर्ण हुने नेपाल सरकारको विश्वास छ । नेपालले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने विभिन्न देशहरूको योगदानप्रति गहिरो प्रशंसा व्यक्त गरेको छ। साथै, क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थायित्व र सहकार्य प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायले गरेका सबै प्रयासप्रति आफ्नो समर्थन पुनः दोहोर्याएको छ ।




