
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भू-भागमा मनसुनी तथा स्थानीय वायुको प्रभाव रहने जनाएको छ। विभागका अनुसार कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी प्रभाव सक्रिय रहँदा अन्य प्रदेशमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा छिटफुट वर्षाको सम्भावना रहेको छ।


मधेश प्रदेशका केही स्थान तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुन सक्नेछ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ। कोशी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विभागले अनुरोध गरेको छ।

मौसमविद्हरूले विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका बासिन्दालाई भारी वर्षाको सम्भावनालाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।




