
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउनु भयो । उहाँले विगतमा राजनीतिक दलहरुले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाउनु भयो ।
उहाँले राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन र पहुँच भएकालाई सफल हुन सहज हुने अवस्था सिर्जना गर्ने तथा व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक हुने व्यवस्था कायम गरेको समेत आरोप लगाउनु भयो । उहाँले राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध सिर्जना गरेको बताउनु भयो । उक्त अवरोध हटाउने अभियानमा रास्वपा रहेको उहाँको कभनाइ छ ।


उहाँले भन्नुभयो, ‘नेपालको समस्या स्रोतको अभाव मात्र होइन । नेपालको समस्या सम्भावनाको अभाव पनि होइन । हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो । राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन । यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ ।’

विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण, भागबण्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।




