आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् ।  लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् । त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले सभापतिका लागि ५१ हजार शुल्क समेत तोकेको छ ।

२- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश  नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।

३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य ५ लाख २३ हजार ४६५ पुगेका छन् । चितवनमा जारी प्रथम महाधिवेशनको बन्द सत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्दै पार्टी सदस्य पुरुषको संख्या ३ लाख ९६ हजार ७८९, महिलाको संख्या ८९ हजार ८९६, अन्य ५८८ तथा पार्टी विवरणमा लिंग नखुलेका ३६ हजार १९२ गरेर कुल ५ लाख २३ हजार ४६५ पुगेको जानकारी दिएका हुन् । रास्वपाको सदस्यताको आधारमा मधेश प्रदेश सबैभन्दा ठूलो प्रदेश बनेको छ भने बागमती दोस्रो स्थानमा रहेको देखिएको छ । प्रतिवेदनअनुसार मधेश प्रदेशमा २३.३ प्रतिशत सदस्य रहेका छन्। बागमतीमा २०.५ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, कोशीमा १४ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेका छन् । जातीय संरचनाअनुसार खस आर्य समुदाय ४१ प्रतिशतसहित सबैभन्दा ठूलो समूह रहेको छ । त्यसपछि आदिवासी जनजाति १८ प्रतिशत, मधेसी १७.३ प्रतिशत, दलित ९.७ प्रतिशत, मुस्लिम २.५ प्रतिशत र थारु २ प्रतिशत रहेका छन्। करिब ९.६ प्रतिशत सदस्यको जातीय विवरण खुलाइएको छैन । उमेर समूहको तथ्याङ्कले रास्वपामा युवा पुस्ताको प्रभाव बलियो रहेको देखाउँछ । जस अनुसार ३५ वर्षमुनिका सदस्य ६४.१ प्रतिशत रहेका छन् । त्यसपछि ३५ देखि ४५ वर्ष उमेर समूहका १८.९ प्रतिशत, ४५ देखि ५५ वर्षका २.६ प्रतिशत र ५५ वर्षमाथिका ७.७ प्रतिशत सदस्य रहेका छन् । रास्वपाले जारी महाधिवेशन अघि ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशमा तयारी जारी रहेको उल्लेख गरिएको छ । हालसम्म ६६ जिल्लामा, ६०९ पालिकामा र ६ हजार २ सय ६२ वडामा अधिवेशन सम्पन्न भएको विवरणमा उल्लेख छ । अधिवेशन हुन बाँकी जिल्लामा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। यस्तै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि अझै सम्पन्न हुन बाँकी रहेको जनाइएको छ । प्रतिवेदनमा गण्डकी, सुदूरपश्चिम र विशेषगरी कर्णाली प्रदेशमा संगठन विस्तार अपेक्षाकृत कमजोर रहेको उल्लेख गर्दै ती क्षेत्रमा थप सुदृढीकरण आवश्यक रहेको औँल्याइएको छ । यस्ता कमजोरी सुधार गर्न नसके आगामी निर्वाचनमा चुनौती थपिन सक्ने चेतावनी पनि प्रतिवेदनमा गरिएको छ ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मनोनयन दर्ताको प्रक्रिया आजै शुरु गर्ने जानकारी दिएको छ । जस अनुसार महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली साँझ ५ बजेसम्म सार्बजनिक गरिएको जनाएको छ । त्यसैगरी आज साँझ ७ बजेदेखि ७: ३० बजेसम्म सभापति पदको मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै केन्द्रीय सदस्यको मनोनयन दर्ता आजै साढे ७ बजेदेखि साढे ९ बजेसम्मका लागि तोकिएको छ । आजै राति १० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक गर्ने कार्यतालिका छन् भने दावी विरोध साढे १० बजेसम्म र उम्मेदवारी फिर्ता लिने समय राति सवा ११ बजेसम्म सार्बजनिक गर्ने आयोगले जनाएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११; ४५ बजेका लागि तोकिएको छ । साथै त्यसपछि मौन अवधि शुरु हुने जानकारी दिइएको छ । सभापति र केन्द्रीय सदस्यको लागि मतदान बुधबार बिहान हुने र मतगणना मतदान सम्पन्न भएको २ घटनामा हुने आयोगले जनाएको छ । दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।

५- नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो । बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- ‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ। बिना सर्त रिहाइको माग गरेको छ ।’ उनले सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाउदै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए ।  उनले एमालेले सरकारका यस्ता क्रियाकलापको विरुद्धमा सदनमा सशक्तरूपमा उत्रिने बताए ।

६-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नुपर्ने बताएका छन् ।  चितवनमा पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै गुट-उपगुटमा नलाग्न आग्रह गरेका छन् । उनले भने- ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जो जहाँ जसरी आउनुभएको भएपनि हाम्रो उद्देश्य साझा छ । जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ ।’ सभापति लामिछानेले जो जहाँ जसरी आएको भएपनि सबैको उद्देश्य साझा भएको बताउदै राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम फरक नहुने बताएका छन् ।

७- सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान गरिएको छ। यस पहलबाट सर्वसाधारणले नजिकैका अस्पतालमै प्रारम्भिक जलन उपचार सेवा पाउने अपेक्षा गरिएको छ। मन्त्रालयले जलनसँगै प्लास्टिक सर्जरी तथा अन्य जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालमा विशेष युनिट स्थापना गर्नु प्रभावकारी हुने जनाएको छ । हालसम्म कान्तिबाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान–वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएका छन् ।

८-  निर्वाचन आयोगले जुम्लाको गुठिचौर गाउँपालिका र नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका उपाध्यक्षको पद रिक्त भएको जनाएको छ । त्यस्तै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको पद पनि रिक्त भएको आयोगले सार्बजनिक सूचना निकालेर जानकारी दिएको हो । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपसिल बमोजिमका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी दिएपछि यी स्थानीय तहका पद रिक्त भएको जानकारी दिएको  हो । आयोगका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी, बर्दघाट सुस्ताको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले आफु निर्वाचित पारित नेपाली काँग्रेस छोडेकाले उनीहरुको पद रिक्त भएको छ ।

images

९-  नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ४० हजार १६४ कित्ता शेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुन्गल हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड १६ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

१०- सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार बजेट निर्माण नभएको निष्कर्ष निकाल्दै बजेटलाई एकतर्फी ढंगले अघि बढाइएको आरोप लगाएको छ । धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठकमा प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा जिल्लास्तरीय गतिविधिको समीक्षा गर्दै ससामयिक राजनीतिक विषयमा छलफल गरिएको थियो । एमालेले संघीय बजेटमा सुदूरपश्चिम, विपन्न वर्ग र दुर्गम क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै थप बजेट र कार्यक्रमको माग गरेको छ ।

images

११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्द सत्र केहि बेरमा शुरु हुदैछ । प्रतिनिधि विवादका कारण सोमबार विहानदेखि नै शुरु हुनुपर्ने बन्द सत्र आज दिउसो २ बजेदेखि शुरु गर्ने तयारी भएको छ । यसअघि रास्वपाले महाधिवेशनका प्रतिनिधि टुंगाएको छ । यसअघि ४२ सय भन्दा बढी प्रतिनिधि रहेकोमा अन्तत: ३ हजार ८४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी जानकारी दिएका छन् । उनले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम भएको भएका छन् ।

१२- अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । यस लगानीपछि क्रेडको मूल्यांकन ४ अर्ब ५० करोड डलर पुगेको क्रेडले जानकारी दिएको छ । यसैसँगै क्रेडका संस्थापक कुनाल शाहलाई विश्वव्यापी रूपमा व्हाट्सएपको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन् । कम्पनीले भारतमा सन्देश सेवाबाट अघि बढ्दै भुक्तानी र व्यवसायिक सेवामा समेत विस्तार गरिरहेको छ । हालका व्हाट्सएप प्रमुख विल क्याथकार्टले सात वर्षको नेतृत्वपछि मेटाभित्रै अर्को जिम्मेवारी सम्हाल्ने भएका छन् । मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जानकारी दिदै अब क्रेडका संस्थापक शाहले हवाट्स एपको नेतृत्व सम्हाल्ने बताएका हुन् । यो लगानी पछिल्ला वर्षहरूमा भारतको वित्तीय प्रविधि क्षेत्रमा भएको सबैभन्दा ठूलो लगानीमध्ये एक मानिएको छ । पछिल्लो चरणको लगानीपछि क्रेडको मूल्यांकन २०२५ को फन्डिङभन्दा बढी भए पनि सन् २०२२ को ६ अर्ब ४० करोड डलरको उच्च बिन्दुभन्दा कम रहेको बताइएको छ । यस सम्झौताअन्तर्गत मेटाले क्रेडमा अल्पसंख्यक हिस्सा लिनेछ, तर ग्राहकको व्यक्तिगत डेटा पहुँच पाउने छैन । २०१८ मा स्थापना भएको क्रेडले उच्च क्रेडिट स्कोर भएका प्रयोगकर्ताका लागि सदस्यतामा आधारित सेवा सञ्चालन गर्दै आएको छ । यसमार्फत भुक्तानी, ऋण, बीमा, सम्पत्ति व्यवस्थापन र जीवनशैली सेवासम्म उपलब्ध गराइन्छ । कम्पनीका अनुसार यसले प्रत्येक महिना १ करोड ७० लाख सदस्यलाई सेवा दिइरहेको छ । साथै भारतको क्रेडिट कार्ड बिल भुक्तानीको ४० प्रतिशतभन्दा बढी हिस्सा यसैमार्फत हुन्छ र साझेदार वित्तीय संस्थाका लागि करिब २५ अर्ब डलर बराबरको ऋण सम्पत्ति व्यवस्थापन भइरहेको छ । नयाँ पूँजीले कम्पनीलाई वृद्धि तीव्र पार्न, नेतृत्व सुदृढ बनाउन तथा उत्पादन विस्तार गर्न प्रयोग गरिने बताइएको छ । हाल क्रेडमा रणनीति तथा वित्त प्रमुख मितेन सम्पतलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । मेटाले भारतमा यसअघि पनि रिलायन्स इन्डस्ट्रिजको डिजिटल इकाइ जियो प्लेटफर्ममा ठूलो लगानी गरेको थियो, जसले हालै प्राथमिक सेयर निष्कासनका लागि कागजात बुझाएको छ ।

images

१३-  विश्वकप फुटबलमा अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्दै पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनलाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरण पुग्ने आफ्नो सम्भावना जोगाएको छ । खेलमा जोर्डनले सुरुदेखि नै संगठित रक्षात्मक खेल प्रदर्शन गरेको थियो । बल नियन्त्रणमा अल्जेरियाले दबाब बनाए पनि पहिलो हाफमा जोर्डनले अग्रता लियो । ३६औँ मिनेटमा नजर अल रशदानले अल्जेरियाको डिफेन्सबाट भएको गल्तीको फाइदा उठाउँदै सुन्दर प्रहारमार्फत गोल गरेका थिए । दोस्रो हाफमा अल्जेरियाले आक्रमण तीव्र बनायो । ६९औँ मिनेटमा नधिर बेनबुआलीले रियाद महरेजको कर्नरमा हेडर गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा अमिन गुइरीले उछालिएको बललाई नियन्त्रणमा लिँदै निर्णायक गोल गरेका थिए । यसअघि खेलको सुरुवातमै जोर्डनका अल रशदानको हेडर थोरै बाहिर गएको थियो भने अल्जेरियाका गुइरी र फारेस चाइबीका प्रयासहरू रोकिएका थिए । महरेजले पनि लामो पासमा अवसर पाए पनि जोर्डनका गोलकिपर याजिद अबुलाइलाले बचाउ गरेका थिए । दोस्रो हाफमा अबुलाइलाले बेनबुआलीको हेडर र अर्को शक्तिशाली प्रहार रोक्दै जोर्डनलाई जोगाउने प्रयास गरे पनि अन्ततः असफल भए । अर्कोतर्फ जोर्डनका नूर अल रावाब्देहको प्रहार निकै नजिकबाट बाहिरिएको थियो ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर तोलाको ४५९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७३० मा कारोबार भएको थियो । यो जितसँगै अल्जेरियाले समूह चरणमा आफ्नो स्थिति बलियो बनाएको छ भने जोर्डन पहिलो सहभागितामै जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ ।

१५- पूर्वमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्ने बारे आफुले सदन र पार्टीमा आवाज उठाएको दाबी गर्दै अहिले आफु बारे भ्रम सिर्जना गरिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले सदन र पार्टीमा उठाएको उल्लेख गर्दै त्यसमा आफु अहिले पनि अडिग रहेको बताएका छन् ।  उनले भनेका छन्- ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धिकरणमा पक्राउ परेपछि मिडिया र सामाजिक सञ्जालमा शर्मा पनि पक्राउ हुदै भन्ने आशयका समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका छन् ।

१६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको  नयाँ नेतृत्व चयनका लागि उम्मेदवारका प्रस्तावक र समर्थकका लागि केन्द्रीय निर्वाचन आयोगले विशेष निर्देशन जारी गरेको छ । आयोगले महाधिवेशन अन्तर्गत कार्यतालिका अनुसारको निर्वाचन प्रक्रियामा पार्टी सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य समेत सबै पदका लागि उम्मेदवारी मनोनयन फारम दर्ता गर्ने क्रममा प्रस्तावक र समर्थक सम्बन्धी जारी गरिएका नियम पालना गर्न आग्रह गरेको छ । आयोगले उम्मेदवारको प्रस्तावक र समर्थकका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ, जुन यस प्रकार छ:  १- पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र ५१ ( एकाउन्न ) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ । २- पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरुले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र २१ (एक्काइस) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ । ३- कुनैपनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रुपमा हस्ताक्षर गर्न पाइने छैन । ४- कुनैपनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा हस्ताक्षर भने गर्न पाइनेछ । ५- कुनैपनि उम्मेदवारका प्रस्तावक वा समर्थकको रुपमा हस्ताक्षर गर्ने पार्टी सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सुचीमा अनिवार्य हुनुपर्ने छ भने, कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक आफू स्वयं उम्मेदवार बन्न पाइने छैन । साथै आयोगले उल्लेखित नियम विपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फारम स्वतः अमान्य ठहर हुने सम्बन्धित सबै उम्मेदवार तथा प्रतिनिधिहरुलाई स्पष्ट गरेको छ ।

Nepal life insurance

१७- इर्लिङ हालान्डले दुई गोल गरेपछि नर्वेले सेनेगलमाथि ३-२ गोल अन्तरको जित निकाल्दै विश्वकपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । विश्वकपमा दुई खेल खेलेका हालान्डले अब चार गोल गरिसकेका छन् । यो विश्वकप इतिहासमा कुनै पनि नर्वेजियन खेलाडीले गरेको गोलभन्दा दोब्बर बढी हो । पहिलो हाफको अन्त्यतिर सेनेगलका कप्तान कालिडु कुलिबालीको कमजोर क्लियरेन्सको फाइदा उठाउँदै सुरुआती वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रक्षक मार्कुस पेडर्सेनले नर्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने हालान्डले खेल आफ्नो नियन्त्रणमा लिए। ४८औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा दौडिँदै उनले दोस्रो गोल गरे । यससँगै उनी विश्वकपमा नर्वेका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । त्यसपछि इस्माइला सारले एक गोल फर्काउँदै सेनेगललाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसको पाँच मिनेटपछि नै हालान्डले बारमा ठोक्किँदै गोलभित्र छिरेको आकर्षक भलीमार्फत नर्वेको दुई गोलको अग्रता पुनः स्थापित गरेका थिए । हालान्डले अब नर्वेका लागि लगातार १२ प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन् । पछिल्ला छ खेलमा उनले हरेक खेलमा कम्तीमा दुई गोल गरेका छन् । इन्जुरी समयमा सारले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । अन्तिम क्षणमा क्रिस्टल प्यालेसका विङ्गर सारसँग बराबरी गोल गर्ने अवसर पनि आएको थियो, तर उनको हेडर बारमाथिबाट बाहिरियो । समग्रमा प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे पहिलो हाफ केही अव्यवस्थित देखिए पनि खेलभर उत्कृष्ट टोलीका रूपमा प्रस्तुत भएको थियो । लगातार दोस्रो जितसँगै नर्वे फ्रान्ससँगै समूह ‘आई’ बाट अन्तिम ३२ मा प्रवेश गरेको छ । सेनेगलले भने नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न आफ्नो अन्तिम समूह खेलमा इराकलाई हराउनै पर्ने अवस्था बनेको छ ।

१८- कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ । समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको हो । एम्बाप्पेले दुवै हाफको सुरुआती समयमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन् । उनी अब केही घण्टाअघि कीर्तिमान बनाएका लियोनेल मेसीभन्दा दुई गोलले मात्र पछाडि छन् । यो खेल सन् २०२६ को विश्वकपमा खराब मौसमका कारण अवरुद्ध हुने पहिलो खेल बनेको छ । खेलस्थल वरपर चट्याङ परेपछि दोस्रो हाफ पहिलो हाफ सकिएको दुई घण्टाभन्दा बढी समयपछि मात्र सुरु गरिएको थियो । यसअघि दिनभरको भारी वर्षाका कारण समर्थकहरूको फिलाडेल्फिया रङ्गशालामा प्रवेशमा पनि ढिलाइ भएको थियो । यद्यपि, खेल भने निर्धारित समयमै सुरु भएको थियो । फ्रान्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्‍यो र १४औँ मिनेटमा त्यसको प्रतिफल पायो । एम्बाप्पेले पेनाल्टी क्षेत्रको किनाराबाट गरेको शक्तिशाली बायाँ खुट्टाको प्रहार गोलमा परिणत भएको थियो । तर, पहिलो हाफको हाइड्रेसन ब्रेकपछि सन् २०१८ को विश्वविजेता फ्रान्सले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्‍यो । यसबीच चोटका कारण कप्तान तथा स्ट्राइकर आयमेन हुसेन मैदानबाट बाहिरिएपछि पनि इराकले लामो समय बल आफ्नो नियन्त्रणमा राख्न सफल भयो । लामो अवरोधपछि मैदान फर्किएको फ्रान्सले दोस्रो गोल उपहारस्वरूप पायो । इराकका गोलरक्षक अहमद बासिलले रक्षक जाइद तहसिनले छोटो पासमा दिएको गोलकिक नियन्त्रण गर्न नसक्दा उस्मान डेम्बेलेले एम्बाप्पेलाई सहज अवसर सिर्जना गरिदिएका थिए । त्यसपछि फ्रान्सले अग्रता अझै फराकिलो बनाउने अवसरहरू पनि पाएको थियो । एड्रियन राबियोटले स्पष्ट हेडरको अवसर गुमाए भने माइकल ओलिसेको आकर्षक प्रहार क्रसबारमा लागेको थियो । यद्यपि, डेम्बेलेले ओलिसेको उत्कृष्ट बाहिरी खुट्टाको पासलाई सदुपयोग गर्दै तेस्रो गोल गरेका थिए । यो फ्रान्सका लागि कुनै ठूलो प्रतियोगितामा उनको २०औँ खेलमा पहिलो गोल पनि हो । खेलको अन्तिम २० मिनेटमा इराकले दुई राम्रो अवसर सिर्जना गरेको थियो । जिदान इक्बालको कर्नरमा रेबिन सुलाकाको भली प्रहार माथिबाट बाहिरियो भने मार्को फार्जीको उत्कृष्ट क्रसमा अली अल हमादी बलसम्म पुग्न सकेनन् । अन्तिम समयमा एम्बाप्पेसँग ह्याट्रिक पूरा गर्ने अवसर पनि आएको थियो । तर, उनको बायाँ खुट्टाको प्रहार माथिबाट बाहिरियो । लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेको फ्रान्स ६ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा पुगेको छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ ।

१९- कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै अर्जेन्टिनालाई अन्तिम ३२ मा पुर्‍याएका छन् । समूह ‘जे’ अन्तर्गत गएराती सम्पन्न अस्ट्रियाविरुद्ध २-० को जित निकाल्ने क्रममा मेसीले दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका हुन् । यससँगै उनले सन् २००२ देखि २०१४ सम्म जर्मनीका मिरोस्लाभ क्लोजेले बनाएको १६ गोलको कीर्तिमान तोडेका छन् । बुधबार ३९ वर्ष पुग्न लागेका मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए । थियागो अल्माडाले चतुर ढंगले बल छाडेपछि फाकुन्डो मेडिनाको पासलाई उनले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो स्पर्शमै जाली चुमाएका थिए । उनको दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा आयो । जुलियन अल्भारेजको प्रयास अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर स्लागरले रोकेपछि फर्किएको बलमा मेस्सीले साँघुरो कोणबाट दुई रक्षकलाई छल्दै गोल गरेका थिए । यद्यपि, मेसीसँग खेलको सुरुमै कीर्तिमान बनाउने अवसर थियो । खेलको आठौँ मिनेटमा स्टेफन पोस्चले लाउटारो मार्टिनेजमाथि फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । त्यसक्रममा जाभेर स्लागर पनि चुनौती दिन पुगेका थिए । तर, मेसीको प्रहार पोस्ट बाहिर गएको थियो । त्यसपछि भने उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक रातलाई सम्झनलायक बनाए । अल्जेरियामाथि पहिलो खेलमा ३-० को जित निकाल्दा ह्याट्रिक गरेका मेसीले दुई खेलमा पाँच गोल गर्दै सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । मेसीको दोस्रो गोलअघि अस्ट्रियाले खेल बराबरी गर्ने अवसर पाएको थियो । तर, आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मार्सेल साबिट्जरको शक्तिशाली फ्रिकिकलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए । लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोडेको छ । यससँगै मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीसँगै अर्जेन्टिना अन्तिम ३२ मा प्रवेश गरेको छ । समूह ‘जे’ को अर्को खेलमा जोर्डनले अल्जेरियालाई पराजित गर्न नसके अर्जेन्टिना समूह विजेता बन्नेछ । पहिलो खेलमा जोर्डनलाई हराएको अस्ट्रिया भने तीन अंकसहित अझै पनि अर्को चरण प्रवेशको प्रतिस्पर्धामा कायम छ ।

२०- नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। यस कार्यदलको संयोजकत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवले गर्ने छन् । कार्यदलका सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू रहने छन् । त्यस्तै भन्सार विभागका उप-महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक, र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उप-सचिव पनि कार्यदलको सदस्यका रूपमा रहेका छन् । कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई तोकिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।