
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो ।
मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताउनु भयो । हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो ।

उहाँले इयूको आकाशमा उडानमा लगाइएको प्रतिवन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दावी गर्नुभयो ।


मन्त्री पौडेलले भन्नुभयो,‘नेपाल भूपरिवेष्ठित कन्ट्री भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाई उद्योगको एउटा ठूलो भुमिका नेपालको विकासमा अडिएको छ । हामी जति संख्यामा पर्यटकहरु भित्रयाउने आकांक्षा देखेका छौँ । त्यही अनुसार हामीले योजनाहरु, नीतिहरु बनाईरहन्छौ । तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन । भएका कम्पनीका साथीहरुको पनि गुनासो मात्रै बढि छ । सप्रिँदै जाने भन्दा विग्रदै गएजस्तो देखिन्छ । र, अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराई हालौ भन्ने अवस्था पनि छैन । धेरै चिजहरुबाट यो कम्पिलिकेट रहेछ भनेर मैले ३ महिनाको दौरानमा थाहा पाएँ । तर अब यो यत्तिकै छोडेर त भएन । यसलाई कुनै न कुनै तरिकाले पार लगाउनुपर्दछ भन्नेमा हामी छौँ । र हवाई उद्योग एकदमै सुदृढ नगरी यो देशको उन्नयन सम्भव छैन । पर्यटन उद्योगको उन्नयन पनि सम्भव छैन । र राष्ट्रको उन्नयन पनि सम्भव छैन भनिसकेपछि यो क्षेत्रसँग सम्बन्धित अझ बढि साईटफूल बहसहरुमा हामी केन्द्रित हुनेछौँ । र प्रमुख रुपमा त हामी सबैलाई थाहा छ–अहिले इयुको आकाशमा हामी प्रतिवन्धित छौ । त्यो प्रतिबन्धबाट उठाउनका लागि पनि हामीले धेरै नीतिगत, कानूनी सुधारहरु पनि गर्नुपर्नेछ । अरु धेरै सुरक्षाका मापदण्डहरुलाई पूरा गर्दै जानुपर्नेछ ।’
मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले आर्थिक समस्याका कारण नेपालको हवाई उड्डयनको क्षेत्रमा सुरक्षाको प्रश्न समेत उठने गरेको बताउनु भयो । उहाँले निगम आफैले पनि यसको सुरक्षाको अवस्थालाई सुदृढ बनाउनका लागि सरकारसँग पुँजीको लागि निरन्तर माग गर्दै आउनु परेको गुनासो पनि गर्नुभयो ।
निमित्त महाप्रवन्धक कालाखेतीले भन्नुभयो,‘व्यवस्थापनको कुरामा हेर्दाखेरी नेपाल एयरलाईन्सको विषय यहाँ सेयर गर्न चाहँे । हामी आफैले पनि नेपाल सरकारलाई पँुजी लगानीको सन्दर्भमा धेरै लामो समयदेखि यी कुराहरु गरिराखेका हौँ । हामी व्यवस्थापनले उपलब्ध भएको साधन स्रोतलाई अधिकतम प्रयोग गरेर त्योअनुसार कर्मचारी साथीहरुको मनोबल उकासेर सेफ्टी र सेक्युरिटी र सँगसँगै नियमनकारी निकायको निर्देशनअनुसार काम गर्नुपर्ने हुन्छ ।

अब प्राईभेट सेक्टरको पाटोमा हेर्ने हो भने उहाँहरुको कुनै एउटा कम्पनीको डिसिजन फाष्ट हुने भएकोकारणले गर्दा उहाँहरुको उच्च व्यवस्थापन पक्षको टिमले आफ्ना प्रमुखहरुलाई अथवा आफना म्यानेजिङ डाईरेक्टरलाई झक्झक्याउनुपर्ने हुन्छ ।’
निमित्त महाप्रबन्धक कालाखेतीले स्रोत साधनको उचित व्यवस्था गरेर अघि बढ्दा मात्रै नेपालको हवाई उडानको सुरक्षा पनि भरपर्दो हुने उल्लेख गर्नुभयो ।




