राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्यमा मनोनित

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिमा सरकारले संरक्षण, वातावरण र प्राज्ञिक क्षेत्रका तीन अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ।

कोषकी अध्यक्ष तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनअनुसार बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा मनोनयन गरेकी हुन् ।

सरकारले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै वैज्ञानिक संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरूको मनोनयन गरेको जनाएको छ । मनोनित तीनै जनाको संरक्षण, अनुसन्धान, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यमा लामो अनुभव रहेको बताइएको छ ।

सरकारले यी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिताले नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग थप मजबुत रूपमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको बताएको छ ।

संरक्षणविद्हरूले पनि स्थानीय समुदायको जीविकोपार्जन सुधार, वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन र जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता अनुभवी व्यक्तित्वहरूको सहभागिताले दीर्घकालीन नीतिगत आधार तयार हुने अपेक्षा गरिएको छ ।

चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएको छ । नवमनोनित सदस्यहरूको अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले कोषको रणनीतिक क्षमता अझ सुदृढ हुने विश्वास गरिएको बताइएको छ ।