अस्ट्रेलियालाई टाइब्रेकरमा हराउदै इजिप्ट विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ । यससँगै इजिप्टले अन्तिम १६ मा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । इजिप्टका लागि महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र होसाम अब्देलमागुइदले गोल गरेका थिए । अस्ट्रेलियाका ह्यारी साउटर र १८ वर्षीय लुकास हेरेङ्टनले प्रहार चुकाउँदा ज्याक्सन इर्भिन र आवर माबिलले मात्र गोल गर्न सके ।

डलास रंगशालामा भएको खेलको १३औँ मिनेटमा करिम हाफेजको दायाँ विङबाट आएको क्रसलाई इमाम आशुरले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै इजिप्टलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा उनको यो दोस्रो गोल थियो । यससँगै इजिप्टले यस विश्वकपमा गरेको कुल गोल संख्या ६ पुगेको छ, जुन सन् १९३४, १९९० र २०१८ का तीन संस्करणमा मिलाएर गरेको गोलभन्दा बढी हो ।

खेलको सुरुआतमै अस्ट्रेलियाले अग्रता लिने अवसर पाएको थियो । पाँचौँ मिनेटमा क्रिस्टियन भोल्पाटोको लामो दूरीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफमा अस्ट्रेलियाले बराबरी गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ३६औँ मिनेटमा अजिज बेहिचले उत्कृष्ट अवसर पाए पनि इजिप्टका गोलरक्षक मोस्तफा शोबेरलाई छल्न सकेनन् ।

दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै इजिप्टले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । उमर मरमुश एक्लै अगाडि बढ्दा उनको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । त्यसको १० मिनेटपछि अस्ट्रेलियाले बराबरी गोल फर्कायो । एडन ओ’निलको फ्रिकिकलाई इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा छिराउँदा आत्मघाती गोल भएको थियो । यो प्रतियोगितामा उनको दोस्रो आत्मघाती गोल बनेको छ । विश्वकप इतिहासमा एउटै संस्करणमा दुई आत्मघाती गोल गर्ने उनी दोस्रो खेलाडी बने । यस संस्करणमा आत्मघाती गोलको संख्या १३ पुगेको छ, जसले सन् २०१८ को १२ गोलको कीर्तिमान पनि तोडेको छ । इन्जुरी समयको चौथो मिनेटमा मोहम्मद सलाहको उत्कृष्ट क्रसमा रामी राबियाले गरेको शक्तिशाली हेडरलाई अस्ट्रेलियाका गोलरक्षक प्याट्रिक बिचले शानदार बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टीको तयारीस्वरूप अस्ट्रेलियाले अतिरिक्त समय सकिएपछि अनुभवी गोलरक्षक म्याट रायनलाई मैदानमा उतारे पनि उनले इजिप्टका कुनै पनि प्रहार रोक्न सकेनन् ।

यस जितसँगै इजिप्ट पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा पुगेको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।