
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप परिसरमा आयोजित कार्यक्रममा सांसद् रजनी श्रेष्ठ तथा राखेपका सदस्य सचिव रामचरित्र मेहताले खेलाडी र प्रशिक्षकलाई बधाइ दिँदै स्वागत गरेका हुन्।

यसअघि टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सांसद् रजनी श्रेष्ठ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा आफन्तले स्वागत गरेका थिए ।


प्रतियोगितामा विनु जिटीले महिला स्विमसुट विधामा स्वर्ण तथा मोडल फिजिक विधामा रजत पदक जितिन् । सगेन्द्र सिंहले पुरुष ८० केजी तौल समूहमा स्वर्ण पदक जित्दा आकाश श्रेष्ठले पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि विधामा स्वर्ण पदक आफ्नो नाममा पारेका थिए । त्यसैगरी सीता खत्रीले महिला एथलेटिक फिजिक विधामा रजत पदक जितिन् भने नेपाली महिला टोली समग्र टिम च्याम्पियनसिपमा रजत पदक विजेता बन्यो ।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि विधामा पुकार शाक्यले कांस्य पदक जितेका थिए । यस्तै सागर श्रेष्ठ पुरुष ८५ केजी तौल समूहमा पाँचौँ र दीपजंग रोका मगर पुरुष ७५ केजी तौल समूहमा पाँचौँ स्थानमा रहे।





