
मुम्बई, २४ असार । बलिउड फिल्म ‘धुरन्धर’का निर्देशक आदित्य धरले के गर्लान् भन्नेमा सबैको नजर रहेको छ।
अब नयाँ फिल्मका लागि कुन अभिनेतालाई छनोट गर्लान् र कस्तो विषयवस्तुमा आधारित भएर चलचित्र बनाउलान् भन्ने मुख्य प्रश्नहरू अहिले चासोको बिषय रहेको छ ।

बलिउडका सफल निर्देशक आदित्य धरले आफ्नो अर्को चलचित्र दक्षिण भारतीय अभिनेता प्रभाससँग मिलेर बनाउनेछन् भन्ने आशा प्रशंसकहरूले गरेका थिए, जुन महिनाको सुरुतिर यसबारे चर्चा पनि चलेको थियो। अब नयाँ जानकारी बाहिर आएको छ ।


चलचित्र वृत्तमा यस्तो चर्चा छ कि आदित्य धर र प्रभासबीच हालै हैदराबादस्थित प्रभासको निवासमा भेटघाट भएको थियो। र, यो भेटघाट सोही चलचित्रका सम्बन्धमा थियो। ‘डेक्कन क्रोनिकल’को एक रिपोर्ट अनुसार प्रभासले आदित्यको आगामी चलचित्रको कथा सुनेका छन् र यसमा काम गर्न मौखिक सहमति जनाएका छन्। प्रभास निकट एक निर्मातालाई उद्धृत गर्दै उक्त रिपोर्टले यस परियोजनालाई ‘भव्य एक्सन चलचित्र’ को रूपमा वर्णन गरेको छ ।
‘प्यान इन्डिया स्टार’ का रूपमा रहेको प्रभासको छविले उनलाई यस भूमिकाका लागि उपयुक्त बनाएको उल्लेख गरेको छ। निर्माताहरूले तत्कालका लागि सम्झौता गोप्य राख्न चाहेका छन् । उनीहरूले प्रभासको जन्मदिनको अवसर पारेर अक्टोबर २३ मा यससम्बन्धी ठूलो घोषणा गर्ने योजना बनाएको जनाइएको छ । यो एक ‘प्यान इन्डिया’ अर्थात सम्पूर्ण भारतभरि प्रदर्शन हुने चलचित्र हुनेछ।

‘पिपिङमुन’ले गत वर्ष भारतीय इतिहासमा आधारित जुन चलचित्रबारे जानकारी दिएको थियो, यो त्यही चलचित्र हुन सक्ने सम्भावना रहेको जनाइएको छ। यसमा प्रभासले प्राचीन भारतीय राजाको भूमिका निर्वाह गर्न सक्छन्। यस चलचित्रमा तीनजना राजाहरूको कथा रहने र तीमध्ये प्रत्येक भूमिकामा फरक फरक चलचित्र उद्योगका अभिनेताहरू रहने चर्चा छ।




