बलिउडको चर्चित हाँस्य फ्रेन्चाइजी ‘धमाल’को पाँचौ श्रृंखला पनि बन्ने

मुम्बई, २६ असार । बलिउडको निकै लोकप्रिय र सफल ‘धमाल’ फ्रेन्चाइजको चौथो शृङ्खला ‘धमाल’ आजवाट  हलहरूमा प्रदर्शन हुँदैछ।

यस चलचित्रको ट्रेलर र कलाकारहरूको टोलीले पहिले नै निकै चर्चा बटुलिसकेको छ। यसका निर्माताहरू ‘धमाल ४’ ले पनि आफ्ना अघिल्ला शृङ्खलाहरू झैँ बक्स अफिसमा सफलता हासिल गर्ने कुरामा विश्वस्त छन्। यसैबीच, पाँचौँ शृङ्खलाका बारेमा पनि एउटा महत्त्वपूर्ण जानकारी बाहिर आएको छ।

बलिउड हंगामाका अनुसार अनुसार ‘धमाल ४’को अन्त्यमा एउटा यस्तो दृश्य छ, जसले ‘धमाल ५’ आउने संकेत गर्छ। र, अघिल्ला चार चलचित्रहरू जस्तै ‘धमाल ५’ पनि निकै रमाइलो र उत्कृष्ट मनोरञ्जनले भरिपूर्ण चलचित्र हुने अपेक्षा गरिएको छ।

इन्द्र कुमारद्वारा निर्देशित‘धमाल’मा यस फ्रेन्चाइजका मुख्य कलाकारहरू अजय देवगन, रितेश देशमुख, अरशद वारसी, सञ्जय मिश्र र जावेद जाफरीको पुनरागमन भएको छ। यस कमेडी शृङ्खलामा ईशा गुप्ता, सञ्जीदा शेख, अञ्जली आनन्द, उपेन्द्र लिमये, विजय पाटकर र रवि किशनजस्ता नयाँ अनुहारहरू पनि जोडिएका छन्।

विशेष गरी ‘धमाल ४’ लाई देवगन फिल्म्सको सहकार्यमा गुलशन कुमार र टी सिरिजले प्रस्तुत गरेका हुन् भने यो टी सिरिज फिल्म्स, मारुती इन्टरनेसनल र प्यानोरामा स्टुडियोजको संयुक्त प्रस्तुति हो। यसको निर्देशन इन्द्र कुमारले गरेका हुन् भने अजय देवगन, भूषण कुमार, कृष्ण कुमार, अशोक ठकेरिया, इन्द्र कुमार, आनन्द पण्डित र कुमार मंगत पाठक यसका निर्माता हुन्।

‘धमाल ४’लाई लिएर चर्चा बढ्दै गएको छ र दर्शकहरू यस चलचित्र प्रति निकै उत्साहित छन्। कोइमोईको एक रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन १२ देखि १५ करोड रुपैयाँसम्मको व्यापार गर्न सक्ने अनुमान गरिएको छ । यदि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएमा यो आँकडा अझ बढ्न सक्छ। यद्यपि, वास्तविक तथ्याङ्क भने चलचित्र प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ।