आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको  कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईँ, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सीताराम काफ्लेलाई जिम्मेवारी दिएको छ ।

२-अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो । हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्- ‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो ! सुटिगंको बिचमा दीपाजी लाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नुपर्ने भयो ! भारत जाने सल्लाह पाइयो । तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्तद्दारा शल्यक्रिया गर्ने निर्णय भयो ! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो । हाल उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।’

३- मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवार र पिडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परिवारका तर्फबाट मृतक नेपालीकी पत्नीसहितबीच सहमति भएको हो । सहमतिका बुँदाहरू:  १- यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ । २- स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ । ३- घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानविन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने । ४- काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् । ५- काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ । ६- मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ । ७- पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ । ८- मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ । ९- पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मलाइनेछ ।

४- सरकारले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ । मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिको सहभागिता बसेको बैठकले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले संघ, प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड दिइने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्यसम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरबारे व्यापक प्रचारप्रसार गरिनेछ। मोबाइल रिङ ब्याकटोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल तथा अनलाइन काउन्सेलिङमार्फत पनि जनचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ । बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ। साथै, आयुर्वेद अन्तर्गत योग, ध्यान तथा मनोसामाजिक सेवासमेत अभियानसँग जोडिनेछ। मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको मौज्दात सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवा नियमित स्वास्थ्य सेवामा एकीकृत गर्ने तथा आवश्यकताअनुसार अस्पतालहरूमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाउने जनाएको छ। त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी परिचालन गर्ने, उपचारबाट बाहिरिएका (डिफल्टर) बिरामीको खोज तथा पुनःउपचारमा ल्याउने, लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी उपचारको दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ। बैठकले चालु आर्थिक वर्षका बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने तथा मानसिक स्वास्थ्यलाई संस्थागत स्वास्थ्य सेवाभन्दा समुदायमा आधारित परामर्श र सेवासँग जोडेर अघि बढाउने निष्कर्ष निकालेको छ।

५-  अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ । घर पुगेपछि पत्रकार सम्मेलन योजना गर्दै प्रसाईँले सरकारको चर्को आलोचना गर्दै सुकुम्बासी, गरिब, घरबारविहीन नागरिक तथा आत्मदाहका घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । उनले पछिल्लो ३५ वर्षदेखि राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमितता गरेको दाबी गर्दै वर्तमान सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए । प्रसाईँले सुकुम्बासी बस्ती हटाउने कार्यको विरोध गर्दै सरकारले आफ्नै मतदातालाई विस्थापित गरेको आरोप लगाए । उनले आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई राहत र सुविधा दिने सरकारी घोषणामाथि प्रश्न उठाउँदै यस्ता घटना दोहोरिन नदिन सरकारले नागरिकको आधारभूत समस्या समाधान गर्नुपर्ने धारणा राखे । सवारी साधनमा बढाइएको जरिवानाको पनि आलोचना गर्दै उनले पूर्वाधार सुधार नगरी नागरिकमाथि दण्डात्मक व्यवस्था लागू गरिएको टिप्पणी गरे । देशमा सामाजिक तथा आर्थिक संकट गहिरिँदै गएको दाबी गर्दै प्रसाईँले सरकारले जनताको पीडा बुझ्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारलाई लक्षित गर्दै ‘यो सरकार नेपालीहरूको सरकार होइन’ भन्ने अभिव्यक्ति दिएका छन् । साथै सरकारबाट जनता त्रसित भएको भन्दै प्रसाईले भने-‘ ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त ? ‘

६-  अभिनेता आमिर खान र निर्देशक आशुतोष गोवारिकर २५ वर्षपछि फेरि एउटै चलचित्रमा सहकार्य गर्ने भएका छन् । चर्चित चलचित्र लगान प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा नयाँ परियोजनाको तयारी अघि बढाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ चलचित्रको नाम ललकारा राखिएको छ । यो कुनै व्यक्तिको जीवनीमा आधारित नभई सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट क्रिकेट शृङ्खलाबाट प्रेरित कथा हुनेछ । चलचित्रको कथा दंगलका लेखक पियुष गुप्ता र निल बट्टे सन्नाटाका लेखक नीरज सिंहले तयार पारेका हुन् । चलचित्रमा खेलकुदसँगै प्रतिस्पर्धा, मित्रता, विभाजन र राष्ट्रप्रेमका विषयलाई प्रस्तुत गरिने बताइएको छ । यो चलचित्र फरहान अख्तर र रितेश सिधवानीको निर्माण कम्पनीले निर्माण गर्नेछ । निर्देशक राजकुमार हिरानी पनि यस परियोजनामा निर्माता रूपमा जोडिएका छन् । आमिर खानले यसअघि फरहान अख्तरसँग दिल चाहता है र राजकुमार हिरानीसँग थ्री इडियट्स तथा पीके जस्ता सफल चलचित्रमा काम गरिसकेका छन् । यसअघि सन् २०१९ मै ललकारा निर्माण गर्ने तयारी भएको र त्यसबेला राजकुमार हिरानीलाई निर्देशनको प्रस्ताव गरिएको थियो । मुख्य भूमिकाका लागि अभिनेता शाहरुख खानको नामसमेत प्रारम्भिक छलफलमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उता, आमिर खान थ्री इडियट्सको सिक्वेलमा पनि अभिनय गर्ने तयारीमा छन् । तर त्यस चलचित्रको कथा लेख्ने काम अझै जारी रहेकाले उनले पहिले ललकाराको काम अघि बढाउने निर्णय गरेको बताइएको छ ।

७- फिफा विश्वकपको अन्तिम ३२ चरणबाट बाहिरिएपछि सेनेगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पाप थियाउलाई बर्खास्त गरेको छ । डिसेम्बर २०२४ देखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका थियाउको नेतृत्वमा सेनेगलले समूह चरणका पहिलो दुई खेलमा फ्रान्स र नर्वेसँग पराजय बेहोरेको थियो । त्यसपछि इराकलाई ५-० ले हराउँदै समूहका उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुगेको थियो । अन्तिम ३२ को खेलमा सेनेगलले बेल्जियमविरुद्ध २-० को अग्रता बनाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल खायो । अतिरिक्त समयमा पेनाल्टीमार्फत अर्को गोल खाएपछि सेनेगल ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकपबाट बाहिरिएपछि टोलीका मिडफिल्डर पाप गुएयेले वर्तमान प्रशिक्षक समूह कायम रहेसम्म राष्ट्रिय टोलीबाट केही समय विश्राम लिने बताएका थिए । सेनेगल फुटबल महासंघले टोलीको नतिजा र भविष्यको सम्भावनाको विस्तृत समीक्षा गरेपछि सेनेगाली फुटबलको हितलाई ध्यानमा राख्दै थियाउलाई पदमुक्त गरिएको जनाएको छ । विश्वकपअघि पनि थियाउ विवादमा तानिएका थिए । सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा मोरक्कोलाई इन्जुरी समयमा पेनाल्टी दिइएपछि उनले टोलीलाई मैदानबाट बाहिर लगेका थिए । करिब १७ मिनेटपछि खेल पुनः सुरु भएको थियो । त्यसक्रममा मोरक्कोको पेनाल्टी असफल भएको र अतिरिक्त समयमा गुएयेले निर्णायक गोल गरेका थिए । तर अफ्रिकी फुटबल महासंघले पछि उक्त घटनाको समीक्षा गर्दै फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई प्रतियोगिताको विजेता घोषणा गरेको थियो । त्यसविरुद्ध सेनेगलले खेलसम्बन्धी अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा पुनरावेदन दर्ता गरेको छ र उपाधि पुनः प्राप्त गर्ने आशा राखेको छ ।

images

८- कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ । कतार सरकारले आइतबार उनको निधन भएको जानकारी दिएको हो । शेख हमद बिन खलिफा अल थानी सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर रहेका थिए । उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो । उनी आधुनिक कतार निर्माणका प्रमुख व्यक्तिमध्ये एक मानिन्छन् । उनको नेतृत्वकालमा सन् १९९६ मा उनको आदेशमा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराको स्थापना भएको थियो ।सन् २०१३ मा शेख हमदले सत्ता आफ्ना छोरा शेख तमीम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । हाल शेख तमीम नै कतारका अमिर छन् ।

९- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी नागरिकको व्यवस्थापनका विषयमा सरकारमाथि प्रश्न उठाएका छन् । उनले सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाएका छन् । आङ्देम्बेले सामाजिक सञ्जालमार्फत जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने भनिए पनि अहिले उनीहरूलाई थप समस्यामा पारिएको बताएका छन् । उनले भनेका छन्- ‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु– ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’ उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरसमेत डुबानमा परेको घटनाले सरकारको व्यवस्थापनको कमजोरी देखाएको दाबी गरेका छन्। जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका नागरिकलाई सरकारले एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलेको उनको आरोप छ । आङ्देम्बेले सुकुम्बासी नागरिकको अवस्थाबारे जानकारी लिन पुगेका युवामाथि नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाउदै लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न उठाउनु अपराध नभएको भन्दै सरकारलाई प्रश्नको जवाफ दिन माग गरेका छन् । उनले भनेका छन्- ‘आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुपर्ने सरकारले प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण हो ।’ कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग सुकुम्बासी नागरिकसँग गरिएको प्रतिबद्धताको जवाफ माग गर्दै प्रश्न सोध्ने नागरिकलाई नियन्त्रणमा लिनुभन्दा समस्या समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

images

१०- निजी विद्यालयका प्रमुख चार छाता संगठन प्याब्सन, एन-प्याब्सन, हिसान र अपेनले सरकारसमक्ष ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेजको माग गर्दै ६ बुँदे माग प्रस्तुत गरेका छन् ।  आइतबार उनीहरूले आर्थिक वर्ष २०८३/८४ को बजेट, वित्तीय व्यवस्थासम्बन्धी व्यवस्था तथा हालै जारी शिक्षा नियमावली (दशौँ संशोधन) का केही प्रावधानप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् । चारवटै संगठनले निजी शिक्षा क्षेत्रको योगदानलाई राज्यले उचित रूपमा मूल्याङ्कन गर्नुपर्ने माग गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । निजी शैक्षिक संस्थाहरूले सरकारसमक्ष राखेका मुख्य ६ बुँदे माग:  १- ३% समता शिक्षा सेवा शुल्क खारेजीको माग: ​विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा ३ प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था अव्यावहारिक र अन्यायपूर्ण रहेको भन्दै यसलाई तुरुन्त खारेज गर्न माग गरिएको छ। नागरिकको मौलिक हकका रूपमा रहेको शिक्षामा यसरी कर थप्नु संविधानको भावना विपरीत हुने उनीहरूको जिकिर छ। २- बिनाधितो शैक्षिक ऋण र ‘पढ्दै कमाउँदै’ कार्यक्रम:  ​उच्च शिक्षामा सबै वर्गका विद्यार्थीको पहुँच सुनिश्चित गर्नका लागि बिनाधितो, सहुलियतपूर्ण ब्याजदरमा कम्तीमा १० लाख रुपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराउन माग गरिएको छ। साथै, निजी क्षेत्रसँगको साझेदारीमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रूपमा विस्तार गर्न आग्रह गरिएको छ । ​३- सार्वजनिक बिदा र शैक्षिक क्यालेन्डरमा समन्वय: ​सार्वजनिक बिदा वा विद्यालय सञ्चालन सम्बन्धी कुनै पनि निर्णय गर्दा शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त छलफल र परामर्श गरिनुपर्ने माग छ, जसले गर्दा विद्यार्थीको सिकाइ प्रक्रिया र शैक्षिक क्यालेन्डरमा प्रतिकूल प्रभाव नपरोस्। ४- शिक्षा नियमावली (दशौँ संशोधन) को पुनरावलोकन: ​हालै संशोधित नियमावलीका केही बुँदाहरूले विद्यार्थीको अधिकार संरक्षण गरे तापनि विद्यालय व्यवस्थापन, अनुशासन र शिक्षकको व्यावसायिक अधिकारबीच सन्तुलन कायम गर्न नसकेको भन्दै ती व्यवस्थाहरूको पुनरावलोकन गर्न माग गरिएको छ । ​५- शैक्षिक सत्र र योजनाको ६ महिना अगावै निर्णय:  ​शैक्षिक सत्र, पाठ्यक्रम, परीक्षा प्रणाली वा विद्यालय सञ्चालनसँग सम्बन्धित नीतिगत परिवर्तनहरू कम्तीमा ६ महिना अगावै निर्णय गरी सार्वजनिक गरिनुपर्ने सुझाव दिइएको छ, ताकि विद्यालय, विद्यार्थी, अभिभावक र पुस्तक प्रकाशकहरूले आवश्यक तयारी गर्न सकून्। ​६- नीतिगत निर्णय प्रक्रियामा संस्थागत सहभागिता: विद्यालय शिक्षा ऐन, शिक्षा नियमावली, राष्ट्रिय पाठ्यक्रम र वित्तीय नीतिहरू तर्जुमा गर्दा निजी शिक्षा क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको नियमित संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने माग उठाइएको छ ।

११-  मेटाले इन्स्टाग्रामका लागि सार्वजनिक गरेको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) – म्यूज इमेज टूल विवादपछि बन्द गरेको छ । यहि जुलाई ८ मा सार्वजनिक गरिएको उक्त सुविधाले कुनै पनि सार्वजनिक इन्स्टाग्राम खाताका तस्बिरका आधारमा नयाँ डिजिटल तस्बिर तयार गर्न सक्थ्यो । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले केवल सार्वजनिक इन्स्टाग्राम खाताको नाम लेखे पुग्थ्यो । त्यसपछि कृत्रिम बुद्धिमत्ताले उक्त खातामा रहेका तस्बिरका आधारमा नयाँ डिजिटल स्वरूप तयार गर्ने व्यवस्था गरिएको थियो । सुविधा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको व्यापक आलोचना सुरु भएको थियो । धेरै प्रयोगकर्ताले आफ्नो अनुमति बिना तस्बिरलाई कृत्रिम बुद्धिमत्तामा प्रयोग गर्नु गोपनीयताको अधिकार विपरीत भएको बताएका थिए। यस सुविधाको दुरुपयोग गरी कसैको नक्कली डिजिटल तस्बिर बनाउन सकिने, पहिचानको दुरुपयोग हुन सक्ने तथा डिजिटल ठगी र भ्रामक तस्बिरको जोखिम बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको थियो । यो सुविधाको विरोध सर्वसाधारणले मात्र होइन, हलिउडका कलाकारहरूको प्रतिनिधित्व गर्ने प्रतिष्ठित प्रतिभा व्यवस्थापन संस्थाले पनि गरेको थियो । संस्थाले कुनै व्यक्तिको स्पष्ट सहमति बिना उसका तस्बिर कृत्रिम बुद्धिमत्ताका लागि प्रयोग गर्नु स्वीकार्य नहुने जनाएको थियो। विवाद बढेपछि मेटाले आधिकारिक ब्लगमार्फत उक्त सुविधा बन्द गरिएको जानकारी दिएको छ । कम्पनीले यो सुविधा सिर्जनात्मक अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको भए पनि सम्भावित दुरुपयोग र प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियालाई ध्यानमा राख्दै हटाउने निर्णय गरिएको जनाएको छ । अब कुनै पनि प्रयोगकर्ताले सार्वजनिक इन्स्टाग्राम खाताको नाम प्रयोग गरेर कृत्रिम बुद्धिमत्तामार्फत तस्बिर बनाउन खोजे प्रणालीले त्यसलाई अस्वीकार गर्नेछ । यसअघि नै निजी खाता र १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका खाता भने यो सुविधाबाट बाहिर राखिएका थिए ।

images

१२- अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शनिबार राति छोटो र अचानक आएको स्वास्थ्य समस्याका कारण उनको मृत्यु भएको जनाएको छ । परिवारले यस कठिन समयमा प्रार्थनाको आग्रह गर्दै गोपनीयताको सम्मान गर्न सबैसँग अनुरोध गरेको छ । सन् २००३ मा सिनेट सदस्य निर्वाचित भएका ग्राहम रिपब्लिकन पार्टीका प्रभावशाली नेता थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगीका रूपमा परिचित थिए । उनी सिनेटको बजेट समितिका अध्यक्षसमेत थिए र आगामी नोभेम्बरमा पाँचौँ कार्यकालका लागि पुनः चुनाव लड्ने तयारीमा थिए । रक्षा, राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलामा ग्राहमलाई रिपब्लिकन पार्टीका प्रमुख आवाजमध्ये एक मानिन्थ्यो । अमेरिकी सञ्चारमाध्यमका अनुसार शनिबार राति उनको क्यापिटल हिलस्थित निवासमा हृदयघात भएको सूचनापछि आपत्कालीन उद्धार टोली पुगेको थियो । त्यहाँबाट उनलाई स्ट्रेचरमार्फत एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

१३- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताउदै सहयोगको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !’ कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी शनिबार बिहान बाढी पसेपछि डुबानमा परेका थिए ।  उनले अहिलेको नेतृत्वले सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाउँदै नागरिकलाई सही नेतृत्व चिन्न आग्रह गरेका छन् । साथै, बालबालिकाको भविष्य जोगाउन सके मात्र देशको भविष्य सुरक्षित हुने भन्दै सुकुम्बासीको पीडाप्रति संवेदनशील बन्न सबैसँग अपिल गरेका छन् ।

१४- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिममा ३ जना, गण्डकी र कोशी प्रदेशमा २-२ जना र मधेश र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा ३५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, सुदूरपश्चिममा १३ जना, काठमाडौँ बाहेक बागमतीमा ५ जना र कर्णालीमा १ घाइते भएका छन् ।

१५- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८७ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४५१० मा कारोबार भएको थियो ।

Nepal life insurance

१६- नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको २०० रनको लक्ष्य पछाएको सिङ्गापुरले २० ओभरमा ८ विकेट गुमाउदै ४८ रन मात्र बनाएको थियो ।  यस अघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा कुनै विकेट नगुमाएर १९९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अविजित ९८ र सावित्री धामीले अविजित ७८ रन बनाएकी थिइन् ।   यो जारी प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा शनिबार कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अब नेपालले अर्को खेलमा मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

१७-  जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । अब उपाधि नजिक पुग्न फ्रान्सले स्पेनसँग तथा इङ्ग्ल्यान्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन डलास रंगशालामा आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच एटलान्टा रंगशालामा प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई र स्पेनले बेल्जियमलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । फ्रान्स र स्पेनबीच यो ३६औँ भेट हुनेछ । दुवै टोली विश्वकपको फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । हालका वर्षहरूमा युरोपेली प्रतियोगितामा फ्रान्सले स्पेनलाई लगातार निराश बनाएको छ । फ्रान्सले सन् २०२४ को युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई २-१ ले पराजित गरेको थियो । त्यसपछि सन् २०२५ को राष्ट्र लिगमा पनि फ्रान्सले स्पेनलाई ५-४ ले हराएको थियो । यसपटक स्पेन ती हारको बदला लिँदै विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपमा यी दुई टोलीबीच यसअघि एकपटक मात्र भेट भएको थियो । सन् २००६ को विश्वकपको नकआउट चरणमा जिनेदिन जिदानको नेतृत्वमा रहेको फ्रान्सले स्पेनलाई ३-१ ले पराजित गरेको थियो । युरोपेली च्याम्पियनसिपमा भने दुवै टोली पाँचपटक आमनेसामने भएका छन् । सन् १९८४ को फाइनलमा फ्रान्सले घरेलु मैदानमा स्पेनलाई २-० ले हराउँदै उपाधि जितेको थियो । सन् २०१२ को क्वार्टरफाइनलमा स्पेनले २-० को जित निकालेको थियो भने सन् १९९६ मा दुवै टोली १-१ को बराबरीमा रोकिएका थिए । सन् २००० को क्वार्टरफाइनलमा भने फ्रान्स २-१ ले विजयी भएको थियो । फ्रान्स यस विश्वकपमा स्विडेन, पाराग्वे र मोरक्कोलाई हराउँदै अन्तिम चारमा पुगेको हो । युरोपेली च्याम्पियन स्पेनले अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । यस खेलमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे र स्पेनका युवा प्रतिभा लामिन यामालबीचको प्रतिस्पर्धा पनि विशेष आकर्षणको केन्द्र रहने अपेक्षा गरिएको छ । दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन् । विश्वकपमा यी दुई टोलीबीचको प्रतिस्पर्धा सधैँ इतिहास, विवाद र तीव्र प्रतिस्पर्धाका कारण विशेष मानिन्छ । यी दुई राष्ट्रबीचको सबैभन्दा चर्चित भेट सन् १९८६ को विश्वकपमा भएको थियो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले डिएगो म्याराडोनाको दुई ऐतिहासिक गोलको मद्दतमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो । तीमध्ये एउटा ‘ईश्वरको हात’ नामले चर्चित गोल थियो भने अर्को गोललाई विश्व फुटबल इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ । त्यसको चार वर्षपछि सन् १९९० को विश्वकपको क्वार्टरफाइनलमा पनि दुवै टोली आमनेसामने भएका थिए । त्यसबेला अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको यो प्रतिस्पर्धा केवल खेलमा सीमित नरही राष्ट्रिय गौरव, प्रतिष्ठा र ऐतिहासिक प्रतिस्पर्धासँग पनि जोडिएको मानिन्छ। त्यसैले यसपटकको सेमिफाइनल पनि विश्वकपकै सबैभन्दा प्रतिक्षित खेलमध्ये एक बनेको छ।

१८- चेक गणतन्त्रकी २१ वर्षीया लिन्डा नोस्कोभाले विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जित्दै करिअरकै पहिलो ग्रान्ड स्लाम ट्रफी आफ्नो नाममा लेखाएकी छन् । फाइनलमा नोस्कोभाले आफ्नै देश चेक गणतन्त्रकी करोलिना मुचोभालाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरिन् । खेलको दोस्रो सेटमा ५–२ को अग्रता लिँदै पाँच पटकसम्म खेल जित्ने अवसर गुमाएकी नोस्कोभाले त्यसपछि सेट पनि गुमाएकी थिइन् । दर्शकको चर्को समर्थन र दबाबका बीच उनले कान थुनेर बसेकी थिइन् भने केही समय विश्रामका लागि मैदानबाहिर समेत गएकी थिइन् । मैदानबाहिर रहँदा आफूले उपविजेताको सानो ट्रफी होइन, विजेताको ठूलो ट्रफी नै जित्ने अठोट गरेको नोस्कोभाले बताइन् । तेस्रो सेटमा आफ्नो सम्पूर्ण शक्ति लगाउने निर्णय गरेकी उनले अन्ततः उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्न सफल भइन् । छैटौँ खेल जित्ने अवसरमा सफल भएपछि नोस्कोभा भावुक बन्दै अनुहार छोपेर घाँसे मैदानमै ढलेकी थिइन् । त्यसलगत्तै वेल्सकी राजकुमारी क्याथरिनले उनलाई विजेताको ट्रफी प्रदान गरेकी थिइन् । उपाधिपछि नोस्कोभाले अन्तिम अंक जित्न कहिल्यै सहज नहुने भन्दै मुचोभाले आफूलाई कडा चुनौती दिएको बताइन् । योसँगै पछिल्ला चार वर्षमा विम्बल्डन महिला एकल उपाधि जित्ने उनी तेस्रो चेक खेलाडी बनेकी छन्। यसअघि सन् २०२३ मा मार्केटा भोन्ड्रोसोभा र २०२४ मा बारबोरा क्रेज्चिकोभाले उपाधि जितेका थिए । नोस्कोभा र मुचोभाले सन् २०२४ को पेरिस ओलम्पिकमा युगलतर्फ सँगै प्रतिस्पर्धा गर्दै चौथो स्थान हासिल गरेका थिए । फाइनलपछि नोस्कोभाले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल मुचोभासँग खेल्न पाएकोमा खुसी व्यक्त गर्दै यो दिन चेक टेनिसका लागि ऐतिहासिक बनेको बताइन् । उनले नतिजा जस्तो भए पनि आफ्ना समर्थकहरू दुवै खेलाडीप्रति गर्व गर्ने विश्वास व्यक्त गरिन् । फाइनल हेर्न दुईपटककी विम्बल्डन विजेता पेट्रा क्विटोभा, नौ पटककी विम्बल्डन च्याम्पियन मार्टिना नाभ्रातिलोभा तथा सन् १९७३ का पुरुष एकल विजेता यान कोडेस पनि उपस्थित थिए ।

१९- बेलायतको शाही परिवारमा लामो समयदेखि देखिएको मतभेद अन्त्य गर्ने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्ना कान्छा छोरा राजकुमार ह्यारी र उनको परिवारसँग वर्षौंपछि पहिलो पटक भेट गरेका छन् । यस भेटमा ह्यारीसँग उनकी पत्नी मेगन, छोरा आर्ची र छोरी लिलिबेट पनि सहभागी भएका थिए । शाही दरबारले जारी गरेको जानकारीअनुसार लन्डनको पश्चिममा रहेको शाही निवास हाइग्रोभ हाउसमा राजा चार्ल्स, रानी क्यामिला, राजकुमार ह्यारी, मेगन र उनीहरूका दुई सन्तानबीच भेटवार्ता भएको हो । राजकुमार ह्यारी विभिन्न परोपकारी कार्यक्रममा सहभागी हुन बेलायत पुगेका थिए । तर उनको भ्रमणको सबैभन्दा ठूलो चासो उनी आफ्ना पिता राजा चार्ल्सलाई भेट्छन् कि भेट्दैनन् भन्ने विषयमा केन्द्रित थियो । साथै मेगन र दुवै सन्तान पनि बेलायत आउँछन् कि आउँदैनन् भन्ने विषयमा बेलायती सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो । ह्यारी र मेगनले करिब छ वर्षअघि शाही जिम्मेवारी त्याग्दै अमेरिका बस्ने निर्णय गरेका थिए। त्यसयता उनीहरू र शाही परिवारबीच सम्बन्ध चिसिएको मानिँदै आएको छ ।  राजा चार्ल्सको कार्यतालिका धेरै अघि नै तय हुने भएकाले पिता-छोराको भेट हुने सम्भावना निकै कम मानिएको थियो। तर अन्ततः दुवैबीच भेट हुन सफल भएको हो । यद्यपि सबै कुरा सहज भने रहेन । ह्यारी र शाही अधिकारीबीच केही असहज अवस्था पनि सिर्जना भएको थियो । सुरुमा अधिकारीहरूले उनलाई बकिङ्घम दरबारमा बस्न निमन्त्रणा दिएका थिए । तर समयमै जवाफ नआएपछि उक्त प्रस्ताव फिर्ता लिइएको थियो, जसले केही तनाव उत्पन्न गरेको बताइएको छ । ह्यारीको बेलायत भ्रमण अर्को कारणले पनि चर्चामा रह्यो । उनले बेलायती पत्रिकाविरुद्ध दायर गरेको गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतबाट हार बेहोरे । अदालतले ह्यारीले आफ्ना आरोप पुष्टि गर्न नसकेको ठहर गरेको थियो । शाही परिवारसँग देखिएको दूरीको एउटा कारण उनका यस्ता कानुनी विवाद पनि मानिन्छ । राजकुमार ह्यारीले यसअघि पनि क्यान्सरको उपचार गराइरहेका ७७ वर्षीय पिता राजा चार्ल्ससँग सम्बन्ध सुधार्न चाहेको सार्वजनिक रूपमा बताएका थिए । गत सेप्टेम्बरमा पनि छोटो बेलायत भ्रमणका क्रममा उनीहरूबीच चियापानसहित भेट भएको थियो । यो पारिवारिक भेटलाई शाही परिवारमा लामो समयदेखि देखिएको दूरी घटाउने र सम्बन्ध सुधार्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

२०- इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलडमरूमध्य अर्को सूचना जारी नभएसम्म बन्द रहने घोषणा गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले यस क्षेत्रमा हस्तक्षेप अन्त्य नगरेसम्म जलडमरूमध्य बन्द रहने इरानको अडान छ । इरानको इस्लामिक रिभुलुस्नरी गार्ड कोर्प्सले जलडमरूमध्य बन्द गर्ने निर्णयविरुद्ध अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ । साथै, अमेरिकासँग सम्बन्धित क्षेत्रीय सैन्य अड्डाहरूलाई पनि निशाना बनाइने जनाएको छ । सुरक्षा बलले इरानले तोकेको मार्ग छाडेर आफ्ना पहिचान प्रणाली बन्द गरी अघि बढेको आरोप लगाउँदै अर्को एक जहाजतर्फ चेतावनीस्वरूप गोली चलाइएको पनि दाबी गरेको छ । यो घोषणा यसै साता तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएको आक्रमण र त्यसपछि इरान तथा अमेरिकाबीच भएको सैन्य कारबाहीपछि आएको हो। यसबारे अमेरिकाले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । इरानका अनुसार ओमानको समुद्री क्षेत्रमा अमेरिकाले सिफारिस गरेको मार्ग प्रयोग गरिरहेका तीन तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। इरानले भने आफ्नै समुद्री मार्गलाई मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ। त्यसपछि भएको अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगीमाथि आक्रमण गरेको जनाएको छ । घटनापछि तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको बताएका छन् । यता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका स्वयंले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। तनावका बीच पनि वार्ता जारी रहने संकेत दिँदै ट्रम्पले मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास जारी राखेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले इरानले तेल ट्याङ्करमाथिको आक्रमणलाई गल्ती भएको भन्दै त्यसको जिम्मेवारी आफ्नै एक नियन्त्रणबाहिरको समूहलाई दिएको जनाएको उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथि आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको बताएका छन् ।