पोखरामा चम्किलो ढुंगा देखाएर बहुमूल्य वस्तु भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो क्रिस्टलजस्तो लाम्चो आकारको एक थान वस्तु, काठको फोल्डिङ बट्टा एक थान, करिब ६ फिट ५ इन्च लामो तारसहितको चार्जर एक थान र ६ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–५ का ३५ वर्षीय राजन विक, सोही स्थानकी २७ वर्षीया रोशनी विक र ६९ वर्षीया खगिसरा कामी रहेका छन् । त्यस्तै म्याग्दीको मालिका गाउँपालिका–४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२६ बस्दै आएका ५१ वर्षीय दिलबहादुर बुढा मगर, म्याग्दीको रघुगंगा गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२७ अर्चले बस्ने २९ वर्षीय दीपक गोतामे र कास्कीको पोखरा महानगरपालिका–२१ निर्मलपोखरी घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्दै आएका ४५ वर्षीय प्रेमचन्द्र विश्वकर्मालाई समेत नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।