चेन्नई सुपर किङ्स र स्टेफन फ्लेमिङको १७ वर्ष लामो सहकार्य समाप्त

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को सफल टोली चेन्नई सुपर किङ्स (सीएसके) र मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले आपसी सहमतिमा सहकार्य अन्त्य गरेका छन् । फ्रेन्चाइज व्यवस्थापन र फ्लेमिङबीच भएको छलफलपछि उनी १७ वर्ष लामो प्रशिक्षक यात्रापछि टोलीबाट अलग हुने निर्णयमा पुगेका हुन् ।

न्युजिल्यान्डका पूर्वकप्तान फ्लेमिङ सन् २००८ मा पहिलो संस्करणको इन्डियन प्रिमियर लिगमा खेलाडीका रूपमा चेन्नई सुपर किङ्ससँग आबद्ध भएका थिए । त्यसको एक वर्षपछि उनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा चेन्नई सुपर किङ्सले पाँच पटक इन्डियन प्रिमियर लिगको उपाधि जित्नुका साथै दुई पटक च्याम्पियन्स लिग टी-२० को उपाधि पनि आफ्नो नाममा लेखाएको थियो । टोलीले १२ पटक प्लेअफमा स्थान बनाउँदा १० पटक फाइनलसम्मको यात्रा तय गरेको थियो ।

चेन्नई सुपर किङ्सकी मालिक रूपा गुरुनाथले फ्लेमिङलाई फ्रेन्चाइजको सफलताको प्रमुख आधारमध्ये एक भएको बताएकी छन् । उनले करिब दुई दशकसम्म फ्लेमिङले टोलीको पहिचान, सोच र उत्कृष्टतालाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै उनको नेतृत्व र समर्पणप्रति आभार व्यक्त गरिन्। मैदानमा सहकार्य अन्त्य भए पनि फ्लेमिङ सधैं टोलीको इतिहास र विरासतको अभिन्न हिस्सा रहने उनले बताइन् ।

टोलीबाट बिदा हुँदै फ्लेमिङले चेन्नई सुपर किङ्ससँग बिताएको समय आफ्नो प्रशिक्षक जीवनकै सबैभन्दा महत्वपूर्ण यात्रा भएको प्रतिक्रिया दिएका छन्। उनले टोलीसँग मिलेर अविस्मरणीय जित, चुनौतीपूर्ण समय र धेरै सम्झनाहरू सँगालेको उल्लेख गर्दै चेन्नई सुपर किङ्स सधैं आफ्नो हृदयको नजिक रहने बताएका छन् ।

चेन्नई सुपर किङ्सले पछिल्ला तीन संस्करणमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन । टोलीले सन् २०२३ मा पछिल्लोपटक उपाधि जितेपछि लगातार तीन सिजन प्लेअफमा स्थान बनाउन असफल भएको छ। सन् २०२४ मा पाँचौँ, २०२५ मा दशौँ र २०२६ मा आठौँ स्थानमा रहेर टोलीले प्रतियोगिताको यात्रा समूह चरणमै टुंग्याएको थियो ।