
मुम्बई, १४ साउन । हिन्दी चलचित्रका दिग्गज अभिनेता देव आनन्दका छोरा तथा अभिनेता निर्देशक सुनील आनन्दको निधनको खबर सार्वजनिक भएसँगै बलिउड पनि स्तब्ध भएको छ।
उनले ७० वर्षको उमेरमा त्यही अस्पतालमा अन्तिम सास फेरे, जहाँ उनका पिता देव आनन्दको निधन भएको थियो। उनले बाबु देवानन्द झै फिल्ममा चम्किन त सकेनन तर हिन्दी सिनेमालाइ उनले योगदान भने गरेका थिए ।

उनको परिवारले एक आधिकारिक विज्ञप्तिमार्फत यो दुःखद खबरको पुष्टि गरिसकेको छ।
परिवारद्वारा जारी गरिएको सन्देशमा भनिएको छ, ‘सुनील आनन्दको निधनमा हाम्रो परिवार गहिरो शोकमा छ। यस कठिन घडीमा हामीले पाएको माया, प्रार्थना र सहयोगप्रति हामी अत्यन्त आभारी छौं। यो चुनौतीपूर्ण समयलाई हामी सँगै मिलेर पार गर्न सकौं भन्ने उद्देश्यले सबैलाई हाम्रो गोपनीयताको सम्मान गरिदिन अनुरोध गर्दछौं।’ यो विज्ञप्ति उनकी भतिजी जीना नारङले जारी गरेकी हुन्। यद्यपि, परिवारले उनको मृत्युको कारण वा अन्त्येष्टिको व्यवस्थाबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।


सुनिल आनन्दले सन् १९८४ मा आफ्ना पिता देव आनन्दद्वारा निर्देशित चलचित्र ‘आनन्द और आनन्द’ मार्फत बलिउडमा पदार्पण गरेका थिए । यो चलचित्र ठूलो पर्दामा उनको पहिलो उपस्थिति थियो। त्यसपछि उनले ‘कार थिफ’ र ‘मैँ तेरे लिये’ जस्ता चलचित्रहरूमा अभिनय गरेका थिए यद्यपि उनी आफ्ना पिताजस्तो सफलता हासिल गर्न भने सकेनन्।

अभिनयमा अपेक्षित सफलता वा पहिचान पाउन नसकेपछि उनले क्यामेराको पछाडि रहेर काम गर्न थाले र आफ्नो परिवारको प्रतिष्ठित ब्यानर ‘नवकेतन फिल्म्स’ को जिम्मेवारी सम्हाले। उनी लामो समयसम्म यस प्रोडक्सन हाउससँग आबद्ध रहे र यसको कार्यसञ्चालनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
चलचित्र क्षेत्रमा सुनिल आनन्दको काम सीमित भए तापनि उनी देव आनन्दको विरासतसँग गहिरो रूपमा जोडिएका थिए। ‘नवकेतन फिल्म्स’ मार्फत उनले आफ्ना पिताको चलचित्र यात्रा र सो ब्यानरलाई जीवित राख्ने प्रयास गरेका थिए ।

उनको निधनको खबरले चलचित्र उद्योग र देव आनन्दका प्रशंसकहरूमाझ शोकको लहर ल्याएको छ। प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्। परिवारले यस कठिन घडीमा गोपनीयता र शान्तिको अपेक्षा गरेको छ।




