वर्षा भएपछि बालुवाको ढिस्कोमा ओत लाग्ने क्रममा धनकुटामा चार किशोरको मृत्यु

रमेशचन्द्र अधिकारी

 

धनकुटा – वर्षा भएपछि बालुवाको ढिस्कोमा ओत लाग्ने क्रममा सोमवार राति वोधे ४ सदामटारमा चार किशोरको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा वोधे ४ का १६ वर्षिय झमक याख्खा, १५ वर्षिय सुनिल गुरुङ्, १३ वर्षिय टिकाराम गुरुङ र धनकुटा ७ सितलपार्टिका १७ वर्षिय अभिषेक राई रहेका छन् । गुरुङ् दाजु भाइ हुन् । उनीहरुकै अर्का दाजु सुमन गुरुङ् भने बच्न सफल भएका छन् । उनी घाइते अवस्थामा पुरिएको स्थानबाट बच्न सफल भए ।

माछा मार्न तमोर नदी किनार सदाम बगरमा गएका उनीहरु वर्षा भएपछि ओत लाग्न ओढारमा पसेको ज्यान जोगाउन सफल सुमनले जानकारी दिए । मृतक झमक र टिकाराम स्थानीय बज्रमाइ माविमा क्रमश ८ र ६ कक्षामा अध्ययनरत रहेको वोधे प्रावि सदामटारका प्रधानाध्यापक गजेन्द्र न्यौपानेले बताए ।

नदीको दुइ भंगालो रहेको स्थानबिचमा बालुवाको टापु रहेको स्थानमा उनीहरु बसेका थिए । अकस्मात बालुवाको ढिस्को झरेपछि किशोरहरुको निस्सासिएर तत्काल मृत्यु भएको प्रहरीको भनाई छ । नदीको भंगालो तरेर घटनास्थल जानु पर्ने भएपछि मंगलबार अपरान्ह मात्र प्रहरीले पुरिएको स्थलबाट लाश उत्खनन् गरेको छ ।

अन्य समाचारहरु