कानूनी व्यवस्थाका कारण मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गर्न कठिन छः महानिर्देशक सापकोटा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटाले विद्यमान कानूनी व्यवस्थाका कारण ूल्यवृद्धि नियन्त्रण गर्न विभागलाई समस्या परेको बताउनुभएको छ ।
बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले कानुनी सुधार आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले विभागलाई विद्यमान कानुनले प्रत्यक्ष हस्तक्षेप गर्न नदिएका बताउनु भयो । उहाँकाअनुसार कालोबजारी तथा केही सामाजिक अपराध तथा सजायसम्बन्धी ऐन, २०३२ मा रहेको २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था हटेपछि विभागसँग मुल्य नियन्त्रण गर्ने स्पष्ट आधार कमजोर भएको छ ।

एमआरपीका आधार बजार अनुगमन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । कानूनी आधार स्पष्ट नभएको अवस्थामा पनि विभागले व्यवसायीमाथि नैतिक दबाब दिने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले एमआरपी निर्धारणको वैज्ञानिक आधार पनि आवश्यक रहेको बताउनु भयो । उत्पादन लागत, ओभरहेड लागतलगायत आधार तोकिएमा एमआरपी मनपरी नबढ्ने र अनुगमन गर्न पनि सहज हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘मूल्य वृद्धि भयो वाणिज्य विभागले के हेरेको छ भन्ने प्रश्न आउँछ । मूल्य वृद्धिलाई रोक्ने आधार के त वाणिज्य विभागलाई ? कानुनी आधार के छ त ? कालोबजारी तथा अन्य केही सामाजिक अपराध र सजाय ऐन २०३२ मा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था थियो, त्यो १÷२ वर्ष अगाडि हटाइयो । त्यो हटाएपछि एमआरपी छ भने जति पनि लिन पाए । एमआरपी राख्ने आधार पनि अहिले तयार गर्न सकिएको छैन । के कुराको आधारमा यति एमआरपी राख्नुपर्छ भन्ने हामीले आधार स्पष्ट आधार तयार गर्न नसक्दा खेरि अघिल्लो महिना २३०० रुपैयाँ रहेको सोना मन्सुली चामल अहिले २९०० एमआरपी राखेर आइराखेको छ । अब एमआरपी राखिसकेपछि एमआरपी राख्ने आधार के हुन ? यसमा लागत कति लाग्ने भयो ? उत्पादन लागत कति हो ? ओभरहेड कष्ट कति हो ? यी सबै तोकिदियौँ भने एमआरपीको आधार तोक्दा बित्तिकै एमआरपी बढी हुँदै हुँदैन । अनि हामीलाई त अनुगमन गर्न सजिलो हुन्छ । वाणिज्य विभागको अधिकार भनेको एमआरपी छ कि छैन त्यहाँबाट सुरु गर्ने हो ।र उपभोक्ताको आम गुनासो मूल्य वृद्धि भयो, बढी नाफा भयो भन्ने छ । आखिर यो कालोबजारी नियन्त्रण ऐन २०३२ ले त्यो प्रावधान हटेपछी कति नाफा लिन पाउने हो त ? कसरी गर्न पाउने हो ? भन्ने विषयमा स्पष्ट कानुनी आधार नहुँदाखेरि हामीलाई मूल्य वृद्धिलाई सिधै हस्तक्षेप गर्नको लागि वाणिज्य विभागलाई गाह्रो भइराखेको छ । हामीले नैतिक दबाब चाहिँ दिन्छौँ ।’

उहाँले चाडपर्व नजिकिँदै गर्दा विभागले जोखिम र सूचनामा आधारित बजार अनुगमन प्रणाली लागू गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । आगामी साता केन्द्रिय बजार अनुगमन समितिको बैठक बसेर चाडपर्व लक्षित बजार अनुगमनको कार्ययोजना बनाइने उहाँको भनाई छ । उहाँकाअनुसार जोखिम क्षेत्र पहिचान गरी आकस्मिक अनुगमन गर्नुका साथै प्राप्त सूचनाका आधारमा बजार अनुगमन गरिनेछ । अत्यावश्यक वस्तु कहाँ सञ्चय हुने तथा जोखिम क्षेत्र पहिचान गरेर आकस्मिक अनुगमन गर्ने उहाँले बताउनु भयो । अत्यावश्यक वस्तुको आपूर्तिमा प्राकृतिक विपत्तिलगायतका कारणले अवरोध आए जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।

हाँले भन्नुभयो, ‘अब हामी यो चाडपर्व आउँदैछ । यसको लागि चाडपर्व लक्षित बजार अनुगमनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अब तुरुन्तै अर्को हप्ता हामी केन्द्रीय बजार अनुगमन समितिको बैठक बसेर कार्ययोजना बनाएर हामीहरू अगाडि बढ्छौँ । यसलाई हामीहरूले दुई वटा कुराहरू, एउटा जोखिममा आधारित र सूचनामा आधारित अनुगमन प्रणाली अगाडि बढाएर गर्छौँ । जोखिम क्षेत्रहरू कहाँ कहाँ हुन्, कस्ता र कहाँ कहाँ सञ्चय हुन्छन्, अत्यावश्यक वस्तुहरू के हुन्, चाडपर्व लक्षित भनेर जोखिम क्षेत्र पहिचान गरेर त्यहाँ हामीहरूले आकस्मिक रूपमा अनुगमन गर्ने र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने गरी हामीहरूले केही जनशक्ति बढाएर र काजमा ल्याएर पनि यसलाई प्रभावकारी बनाउने प्रयास गरिराखेका छौँ ।’

विभागले अत्यावश्यक वस्तुको मूल्य विश्लेषणलाई देशभर विस्तार गर्ने तयारीसमेत गरेको छ । हाल विभागअन्तर्गतका पाँचवटा वाणिज्य कार्यालय र विभागले दाल, चामल, तेललगायत वस्तुको स्थानीय मूल्य संकलन तथा विश्लेषण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कालीमाटी तरकारी बजार, खुद्रा व्यवसायी संघ तथा थोक व्यवसायी संघका प्रतिनिधिबाट मूल्य सूची लिएर मूल्य विश्लेषण गर्ने गरिएको सापकोटाले बताउनु भयो । तर यस्तो प्रणालीले देशभरको बजार समेट्न नसकेको भन्दै उहाँले ७५३ वटै स्थानीय तहको अत्यावश्यक वस्तुको मूल्य विश्लेषण गर्न पोर्टल निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । सापकोटाले उपभोक्ता संरक्षण ऐनमा व्यवस्था भएपनि कार्यान्वयनमा आउन नसकेका प्रावधानलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अत्यावश्यक वस्तुको सूची तयार गर्ने, न्यूनतम मूल्य निर्धारण गर्ने, मूल्य सूचना केन्द्र स्थापना गर्ने र मूल्य विश्लेषण गर्ने जस्ता व्यवस्था कार्यान्वयनमा ल्याउन संस्थागत संयन्त्र निर्माण वा जिम्मेवारी तोक्नुपर्ने उहाँको भनाइ छ ।