रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ ।
आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा हामीले जुन स्तरको प्रदर्शन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा हामी चुक्यौँ । हाम्रो आलोचना हुनु स्वाभाविक हो र त्यसको एउटै जवाफ भनेको मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु नै हो । अब हामी विगतलाई बिर्सेर नयाँ योजनाका साथ अगाडि बढ्नेछौँ ।’

नेपाली टोली थप तयारीका लागि भारतको बैंगलोर प्रस्थान गर्दैछ । त्यहाँ १० दिनसम्म चल्ने विशेष प्रशिक्षणले मलेसियाको कन्डिसनमा अभ्यस्त हुन मद्दत पुग्ने कप्तान लामिछानेको विश्वास छ । उहाँले टोलीमा अनुभवी र नयाँ पुस्ताका खेलाडीहरूको राम्रो सम्मिश्रण रहेको र सबै खेलाडीहरू उच्च मनोबलका साथ मैदान उत्रन तयार रहेको जानकारी दिनुभयो ।

नेतृत्व परिवर्तन र टोलीको आन्तरिक लयका बारेमा बोल्दै कप्तान लामिछानेले भन्नुभयो,  ‘नेतृत्वमा परिवर्तन आएपनि हाम्रो साझा लक्ष्य नेपाललाई जिताउनु नै हो । रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पु¥याउनु मेरो जिम्मेवारी हो । टिमभित्रको एकता र विश्वास नै हाम्रो मुख्य शक्ति हो । हाम्रो मुख्य लक्ष्य भनेकै एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी घर ल्याउनु हो । नेपाललाई विश्वकै बलियो एसोसिएट राष्ट्रको रूपमा स्थापित गर्न हामीले घरेलु मैदानमा मात्र नभई विदेशी भूमिमा पनि सन्तुलित र उत्कृष्ट खेल प्रदर्शन गर्नु आवश्यक छ ।’

नेपालले पहिलोपटक एशिया कप खेल्दाको अनुभव सम्झँदै उहाँले सोही सफलतालाई दोहो¥याउने उद्देश्यका साथ मलेसिया प्रस्थान गर्न लागेको बताउनु भयो ।