
काठमाडौं, ६ भदौं । अल हिलालसँगको सम्झौता रद्द गरे पछि जोआओ कान्सेलो बार्सिलोनामा आबद्ध भएका छन्।
शताब्दीकै शीर्ष पाँच युरोपियन लिग मध्ये ४ जित्ने पहिलो खेलाडी ३२ वर्षीय कान्सेलो बार्सिलोनासँग तीन वर्षको सम्झौता गरेर आबद्द भएका हुन् ।

एन्थोनी गोर्डन, करिम एडेयेमी, जेसी बिसिउ र रोड्रीपछि उनी यस गर्मीको सिजनमा स्पेनिस च्याम्पियन क्लबमा आबद्ध हुने पाँचौं खेलाडी बनेका छन्।


पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी कान्सेलो बार्सिलोनामा आबद्ध भएको यो तेस्रो पटक हो, यद्यपि, ‘स्पोटिफाइ क्याम्प नोउ’ मा स्थायी सम्झौता गरेको भने यो पहिलो पटक हो। यसअघि उनले २०२३–२४ को सिजन उक्त क्लबमा लोन अर्थात अल्पकालीन सम्झौतामा बिताएका थिए र यसै वर्षको जनवरीमा दोस्रो पटक ‘लोन’ मा नै त्यहाँ फर्किएका थिए।
‘फरक यति मात्र हो कि यहाँको मेरो पहिलो सिजनमा बार्सासँग कुनै उपाधि जित्न नसक्दा मलाई खल्लो महसुस भएको थियो,’ कान्सेलोले भने, ‘म त्यो सपना पूरा गर्न चाहन्थें। त्यसपछि, गत सिजनको उत्तरार्धमा म बार्सासँग उपाधि जित्न सफल भएँ, जसले मलाई निकै खुसी बनायो किनभने यो मेरो बाल्यकालको सपना थियो, साथै, मेरो खेल जीवनको उपलब्धिमा ला लिगा उपाधि थप्न पाउनु पनि महत्त्वपूर्ण थियो,’ उनले भने, ‘तर बार्साको प्रतिनिधित्व गर्ने मेरो लगाव भने सधैं उस्तै रह्यो, म सधैं यहाँ हुन चाहन्थें।’

कान्सेलो डिफेन्सको ‘ब्याक फोर’ अर्थात चार सदस्यीय रक्षापंक्तिमा दुवैतर्फ वा विंगरका रूपमा पनि खेल्न सक्छन्, यद्यपि गत सिजन प्रशिक्षक हान्सी फ्लिकले उनलाई प्रायः बायाँतर्फ (लेफ्ट ब्याक) नै खेलाएका थिए।
लेफ्ट ब्याकको स्थानमा उनले अलेजान्द्रो बाल्डे र युवा खेलाडी जोर्डी पेस्क्वेरसँग प्रतिस्पर्धा गर्नेछन्, जबकि राइट ब्याकका लागि हाल जुल्स कुन्डे, एरिक गार्सिया र जाभी एस्पार्ट उपलब्ध विकल्पहरू हुन्।

बेन्फिकाको युवा टोलीबाट अघि बढेका कान्सेलोले भ्यालेन्सिया, इन्टर मिलान र युभेन्टसका लागि खेले पछि सन् २०१९ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए। सन् २०२३ मा बायर्न म्युनिखमा ‘लोन’ अर्थात अल्पकालीन सम्झौतामा खेले पछि साउदी अरेबियाली क्लब अल हिलालमा जानु अघि उनी २०२३–२४ सिजनका लागि बार्सिलोनामा आबद्ध भएका थिए।
गत जनवरीमा उनी दोस्रो पटक बार्सिलोना फर्किए र क्लबलाई ‘ला लिगा’ उपाधि जिताउन मद्दत गरे, यससँगै उनी यस शताब्दीमा युरोपका शीर्ष पाँच लिगमध्ये चारवटा लिग जित्ने पहिलो खेलाडी बने। स्पेनको शीर्ष लिगका अतिरिक्त उनले इङ्गल्याण्ड, इटाली र जर्मनीका लिगहरू तथा पोर्चुगलको प्राइमेरा लिगा पनि जितेका छन्।




