डा. बाबुराम भट्टराईलाई हिन्दूविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिएको भन्दै आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दूविरोधीका रूपमा चित्रित गर्ने उद्देश्यले पुराना अभिव्यक्ति तोडमरोड गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाइएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

सचिवालयले प्रेस विज्ञप्ती जारी गर्दै धार्मिक आस्था प्रयोग गरेर राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भइरहेको आरोप लगाएको हो ।

सचिवालयले धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध गर्नु नभएको स्पष्ट पार्दै राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने तथा नागरिकलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुने भन्दै वैज्ञानिक सोच र नास्तिकता पनि व्यक्तिगत वैचारिक स्वतन्त्रताको विषय भएको जनाएको छ ।

हिन्दू धर्मभित्रको जातव्यवस्था, जातीय विभेद र सामाजिक असमानताबारे प्रश्न उठाउनु वा सुधारका लागि बहस गर्नु धर्मविरोधी गतिविधि नभएको सचिवालयले जनाएको छ । भट्टराईका विचारलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्नु गैरजिम्मेवार व्यवहार भएको भन्दै यस्ता गतिविधिले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पार्न सक्ने चेतावनी दिइएको छ ।

सचिवालयले भ्रामक, धम्कीपूर्ण र घृणा फैलाउने सामग्रीबाट सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ । साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरेका सामाजिक सञ्जाल खातामाथि निगरानी राखी आवश्यक अनुसन्धान गर्न तथा प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ ।