गिनीको ‘ल्यान्डफिल साइट’मा पहिरोमा परी ३० जनाको मृत्यु

अफ्रिका, ८ भदौं । गिनीको राजधानी कोनाक्रीस्थित सहरको सबैभन्दा ठूलो ल्यान्डफिल अर्थात फोहोर विसर्जन स्थलमा फोहोरको थुप्रो भत्किदाँ त्यसमा पुरिएर ३० जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार स्थानिय समय अनुसार आइतबार बिहान करिब २ः०० बजे सुरु भएको भारी वर्षाका कारण फोहोर माथि पानी बग्न थाल्यो र यसले गर्दा पहिरो गएको थियो । जसका कारण नजिकैका कच्ची घरहरू फोहोरको थुप्रो मुनि पुरिदाँ उनीहरूको मृत्यु भएको हो ।

यस घटनामा ६ जना गम्भीर घाइते भएका भने ल्यान्डफिल साइट आसपासका धेरै घरहरू नष्ट भएका छन् । फोहोरको थुप्रो मुनि पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । यो घटना कोनाक्रीको सबैभन्दा ठूलो ल्यान्डफिल मानिने दार एस सलाम नामक खुला फोहोर विसर्जन स्थलमा भएको हो।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकृत लेफ्टिनेन्ट कर्णेल बाल्डे मामादौ डियालोका अनुसार उक्त स्थल आइतबार बन्द गर्ने तालिका थियो तर त्यो भन्दा अगावै यो पहिरो गएको हो  ।

केही समय अघि ल्यान्डफिल नजिक बसोबास गर्ने बासिन्दाहरूलाई सो क्षेत्र खाली गर्न सूचना जारी गरिएको थियो। धेरैजसो मानिसहरू त्यहाँबाट गइसकेका भए पनि घटना हुँदाको समयमा केही मानिसहरू अझै पनि सो स्थलमा उपस्थित रहेका थिए ।

अफ्रिकाका धेरै देशहरूमा सहरी जनसङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर फोहोर व्यवस्थापन प्रणालीले सोही गतिमा विकास गर्न सकेको छैन। फलस्वरूप, सहरका बाहिरी इलाकाहरूमा फोहोरको विशाल थुप्रो जम्मा भएको छ। फोहोर थपिँदै जाँदा यो थुप्रो अझ गह्रौँ र अग्लो हुँदै जान्छ, जसले गर्दा यसको संरचनात्मक स्थिरतामा जोखिम उत्पन्न हुन सक्छ।

जसका कारण वर्षायाममा यो जोखिम अझ बढ्छ। फोहोरको थुप्रो भित्र पानी पस्दा यसको तौल बढ्छ र थुप्रो भत्किने वा पहिरो जाने सम्भावना उच्च हुन्छ। विभिन्न प्रतिवेदनहरूका अनुसार गिनीमा हालै भएको घटना भारी वर्षापछि फोहोरको थुप्रो भत्किएका कारण भएको थियो।

अर्को एउटा मुख्य कारण भनेको यी फोहोरका थुप्रोहरू वरपर विपन्न बस्तीहरू रहनु पनि हो। धेरै मानिसहरू फोहोरमा प्लास्टिक र धातु खोजेर जीविकोपार्जन गर्छन् वा जग्गा सस्तो भएकाले त्यहाँ बसोबास गर्छन्। फलस्वरूप, जब फोहोरको थुप्रो भत्किन्छ, तब नजिकै बसोबास गर्ने मानिसहरू प्रत्यक्ष रूपमा त्यसको चपेटामा पर्छन्।

images

गिनीको माटोमा बक्साइट, फलामको कच्चा पदार्थ, सुन र हीरा जस्ता विभिन्न खनिज पदार्थहरू पाइन्छन्। यहाँ विश्वकै ठूला बक्साइट भण्डारहरू मध्ये एक रहेको छ । अर्को शब्दमा भन्नुपर्दा यस देशमा प्राकृतिक स्रोतसाधनको कुनै कमी छैन।

यति हुँदाहुँदै पनि, यहाँको जनसंख्याको ठूलो हिस्सा गरिबीमा बाँचिरहेको छ। विश्व बैंकका अनुसार ४३.७ प्रतिशत मानिसहरू गरिबीको रेखा मुनि जीवनयापन गरिरहेका छन्। यसको कारण के हो भने खनिजजन्य आम्दानीको लाभ प्रत्येक व्यक्तिसम्म पुग्न सकेको छैन। खानी उद्योगले देशका लागि आम्दानी त सिर्जना गर्छ तर उक्त सम्पत्तिलाई रोजगारी, सडक तथा खानेपानीजस्ता राम्रा पूर्वाधार र व्यक्तिगत आयमा रूपान्तरण गर्नु अझै पनि एउटा ठूलो चुनौती बनेको छ।

images