रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ

‘बढ्दो तापक्रमले हिमनदी सुक्दै, हिमताल फैलिँदै’
हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम भएको बताउनुभएको छ ।
राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको उहाँले बताउनु भयो । अध्ययनकाअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढिरहेको उहाँले बताउनु भयो । उहाँले नेपालको अन्य क्षेत्रको तुलनामा पनि मनाङ जिल्लामा तापक्रम बढ्ने दर अझै उच्च रहेको बताउनु भयो ।

यसले भविष्यमा हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको उहाँको भनाइ छ । कायस्थले सन् १९७८ देखि विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको र यही कारण जलवायु परिवर्तनजन्य घटना बढ्दै गएको उल्लेख गर्नुभयो । जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्म ९३ वटा स्टेशनबाट संकलित तथ्यांक विश्लेषण गरी सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा अधिकतम तापक्रम प्रतिवर्ष ० दशमलव ०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको उहाँले बताउनु भयो ।

उहाँले विश्व बैंक समूहको अध्ययनले सन् २००० देखि २०१७ सम्मको अवधिमा नेपालमा तापक्रम उल्लेख्य रूपमा बढेको देखाएको बताउनु भयो । उहाँले हिमनदी, समुद्री बरफ, तालको बरफ र हिउँलाई क्रायोस्फेयरका प्रमुख तत्वका रूपमा व्याख्या गर्दै हिमनदी हिउँ पुनःक्रिस्टलीकरणबाट बनेको गतिशील बरफको पिण्ड भएको बताउनु भयो । उहाँले हिमताल फुट्दा पानी मात्र नभई पानीसँगै ढुंगा, माटो र अन्य पदार्थ बगाएर ल्याउने भएकाले त्यसले तल्लो क्षेत्रमा ठूलो क्षति गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले जुन जलवायु परिवर्तन भन्छौँ त्यसमा तापक्रम र आद्रतालाई प्यारामीटरको रुपमा लिएको छ । यो वार्मिङ पिरियड १९८० देखि नियमित रुपमा भइरहेको छ । सन् १९७८ देखि नै निरन्तर रुपमा ग्लोबल टेम्परेचर बढिराखेको अवस्थ छ । यही कारण जलवायु परिवर्तनको कारण भइरहेका घटनाहरु हामीले भोगिराखेका छौँ । नेपालको चाँही १९७१ देखि २०१४ सम्मको ९३ वटा स्टेसनको डाटा एनालाइसिस गरेर डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मिटिओरोलोजीले २०१७ मा निकालेको रिपोर्टअनुसार हाम्रो म्याक्सिमम टेम्परेचर ० दशमलव ०५६ डिग्री प्रतिवर्ष रहेको देखिरहेको छ । र न्युनतम तापक्रम ० दशमलव ००२ प्रतिशतले बढिराखेको अवस्था छ । यो समग्र देशको अवस्था भयो । जिल्लास्तरमा हेर्ने हो भने सबैभन्दा धेरै मनाङ जिल्लामा बढिराखेको देखिएको छ । हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर बढी छ । त्यसकारण हाम्रो हिमनदिहरु सानो भएको र हिमतालहरु ठूलो भएको अवस्था हो । वल्र्ड बैंक गु्रपको हो । २००० देखि २०१७ अर्थात रिसेन्ट पास्टमा नेपालमा टेम्परेचर धेरै बढेको छ । गत वर्ष पनि बढेको छ भने यो वर्ष पनि बढेको देखिन्छ । त्यस्तै फोरकास्ट पनि थियो । हामी चिसो पदार्थलाई क्रायोस्फेयर भन्छौँ । ग्लेसियर्स, सी आइस, लेक आइस, स्नो क्रायोस्फेयरको तत्व हुन् । अनि ग्लेसियर भनेको ‘फ्लोइङ बडी अफ अ मुभिङ बडी अफ स्नो एण्ड आइस द्याट ह्याज बिन फर्मड बाइ रिक्रिस्टलाइजेसन अफ स्नो’ भन्छौँ । यहीबाट ग्लेसियर बन्ने हो । ग्लेसियरको तल्लो भागलाई एब्लेसन एरिया भन्छ, एक्युमुलेसन एरिया भन्छ । यहाँ हिउँ जम्मा हुन्छ र वर्षैपिच्छे आइसमा परिणत हुन्छ । पहिला स्नोको डेन्सिटी ५० देखि ८० किलोग्राम  परमिटर क्युब हुन्छ । त्यो बढ्दै गएपछि हामी आइस भन्ने हो । हामीले बनाउने फ्रिजमा बनाउने आइस पानी बाट बन्ने हो । फ्रिजमा बन्ने आइसको डेन्सिटी बढी नै हुन्छ । ग्लेसियरले बनाएको ताललाई हामी हिमताल भनेर भन्छौँ । नेपालमा हिमतालको संख्या धेरै नै छ । ताल फुटेपछि उसले ढुंगा, माटो पनि सोहोरेर ल्याउने कुरालाई हामी मोरेन भन्छौँ । रोल्पाको र दोलखाको हिमतालहरु भयो । यस्ता १ हजारभन्दा मािथको क्षेत्रमा भेटिने आइल्याण्डहरु अरु पनि छन् । ग्लेसियरले तल्लो तहसम्म पुग्दा उसले माटो र ढुंगा समेत लिएर आउँदा त्यसलाई मारेन भनिन्छ । त्यो फुट्यो भने बाढी उत्पन्न हुन्छ । हामीकहाँ यस्ता तालहरु धेरै छन् । तर यो प्रक्रिया एकैचोटि नभई पाँच–छ वर्षजति लाग्छ ।’

उहाँले हिमपहिरो तथा हिमताल फुट्ने घटना एकैचोटि नभई ५–६ वर्ष लाग्ने भन्दै जोखिमयुक्त हिमतालहरुको निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । 
(नोटः यो समाचार सामग्रि  आईतवार काठमाडौंमा भएको कार्यक्रमबाट बनाइएको हो ।