बारा – आफूलाई तपस्वी भनेर चिनाउने बारा रतनपुरीका रामबहादुर बम्जन विरुद्ध जिल्ला बन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । बम्जनसहित बोधी धर्म श्रवण संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाईबा, सचिव रामकुमार थिङ्ग, दर्शन लिम्बु, बालहरी राईका विरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो ।
बन अतिक्रमण गरेको आरोपमा उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको कार्यालयले जनाएको छ । पुर्जी जारी भएपछि प्रहरीले बोधी धर्म श्रवण संघको नाममा विभिन्न बैंकमा रहेको खाता रोक्का गर्न पत्रचार गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक केपी शर्माले जानकारी दिनुभयो ।
एभरेष्ट बैंक, हिमालयन बैंक र बैंक अफ काठमाडौको विरगञ्ज शाखामा रहेका खाता रोक्का गर्न पत्राचार गरिएको शर्माले बताउनुभयो । विभिन्न घटनाका कारण विवादमा तानिन्दै आएका बम्जनले फरक फरक जन्ममिति र नामबाट जन्मदर्ता प्रमाण पत्र लिएर राहदानी बनाउने प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालय बाराले उनलाई पक्राउ गर्ने तयारी गरे लगत्तै आफ्ना समर्थक सहित बमजन जेठ ३२ गते भागेका थिए ।



