
काठमाडौं । अफगानिस्तानको तालिबान शासनले पाकिस्तानी सेनाले आइतबार राति कुनार र पक्तिका प्रान्तमा सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा बमबारी गरेको दाबी गरेको छ ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनामा कुनारमा तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको बताएका छन् ।

मुजाहिदका अनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । घाइते हुनेमा दुई महिला र दुई पुरुष छन् । पक्तिका प्रान्तमा एउटा घर र स्थानीय पसलमा बमबारी भएको तर त्यहाँ मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन् ।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मुजाहिदले घटनाको निन्दा गर्दै अफगानिस्तानले यसको उचित जवाफ दिने बताएका छन् । उनले पाकिस्तानको सैन्य नेतृत्वले आफ्नै देशभित्रको सुरक्षा असफलताबाट ध्यान हटाउन यस्तो कारबाही गरेको आरोपसमेत लगाएका छन् ।
पाकिस्तानले तालिबानको उक्त दाबीबारे हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । यसअघि पनि यसै वर्ष फेब्रुअरीमा पाकिस्तान र अफगानिस्तानबीच सीमाक्षेत्रमा तनाव र झडप भएको थियो ।





