
काठमाडौँ । भारतीय पूर्व तीव्र गतिका बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक बनेका छन् ।
उनले सन् २०२७ को आइपिएलबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । जहीरले १६ वर्षसम्म टोलीको मुख्य प्रशिक्षक रहेका स्टेफन फ्लेमिङको स्थान लिएका हुन् । फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक उपाधि जितेको थियो ।

४७ वर्षीय जहीरले खेलाडीका रूपमा १४ वर्ष बिताएका थिए । सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । यसअघि उनी लखनउ सुपर जायन्ट्सका मेन्टर तथा मुम्बई इन्डियन्सको व्यवस्थापन टोलीमा आबद्ध थिए । मुख्य प्रशिक्षकका रूपमा भने चेन्नई उनको पहिलो जिम्मेवारी हो ।


जहीरले आइपिएलमा १०० खेल खेल्दै १०२ विकेट लिएका थिए । उनले सन् २०१० र २०११ मा चेन्नईविरुद्ध फाइनल खेले पनि दुवै पटक उपाधि जित्न सकेका थिए । सन् २०१९ र २०२० मा मुम्बई इन्डियन्सले उपाधि जित्दा उनी टोलीको व्यवस्थापनमा थिए ।
चेन्नई पछिल्ला वर्षमा कठिन अवस्थामा छ । तीन वर्षअघि उपाधि जितेयता टोलीले प्लेअफमा स्थान बनाउन सकेको छैन । सन् २०२५ मा अन्तिम स्थानमा रहेपछि टोलीले युवा खेलाडीलाई प्राथमिकता दिएको थियो । फ्लेमिङले सन् २००८ देखि खेलाडी र प्रशिक्षकका रूपमा चेन्नईसँग आबद्ध रहेर सन् २०२६ को जुलाईमा मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।





