जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौं, ८ असाेज । नेकपा एमालेले स्वदेशी तथा विदेशी मिडियामा सार्वजनिक भइरहेका नयाँ तथ्य, अन्तरिम सरकारका पदाधिकारी र छानबिन आयोगका अध्यक्ष स्वयंको पछिल्लो अभिव्यक्तिले भदौ २३ र २४ गतेका घटना पछाडि गहन षडयन्त्र रहेको पुष्टि हुँदै गएको दाबी गरेकाे छ ।

केन्द्रिय समिति बैठकपछि जारी विज्ञप्ति अनुसार भदौ २४ गते भएको राज्य विध्वंशको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले घटनालाई पञ्छाउने र त्यसमा संलग्न दोषीहरूलाई उन्मुक्ति दिने खेल रचिरहेको आरोप लगाइएको छ। त्यसैगरी, भदौ २३ गतेको घटनालाई लिएर राजनीतिक नेतृत्व विरुद्ध दूषित मनसायका साथ मुद्दा चलाउने तर त्यस दिनको वास्तविक सुरक्षा कारबाहीका तथ्यहरू भने लुकाउने षडयन्त्र भइरहेको भन्दै बैठकले कडा भर्त्सना गरेको छ।

बैठकले उठाएका प्रमुख मागहरू:

सक्षम न्यायिक आयोगको गठन: भदौ २३ र २४ गतेका घटनाहरूको सत्य-तथ्य पत्ता लगाउनका लागि तत्काल एक निष्पक्ष र सक्षम न्यायिक आयोग गठन गरिनुपर्ने।

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने: छानबिनका नाममा यसअघि गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरू कुनै पनि अंश नलुकाई, पूर्ण पाठ र यथार्थ रूपमा अविलम्ब सार्वजनिक गरिनुपर्ने।

सरकारका यस्ता षडयन्त्रपूर्ण क्रियाकलापले कानुनी शासन र सत्य-तथ्य माथि प्रहार गरेको भन्दै बैठकले निष्पक्ष छानबिनका लागि दबाब जारी राख्ने चेतावनी समेत दिएको छ।

 

बिज्ञप्तिकाे पुर्णपाठ

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५–८ असोज, २०८३ ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा महत्वपूर्ण निर्णयहरुसहित सम्पन्न भएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनित गरेको छ । केन्द्रीय सदस्यहरु मनोनितसँगै पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरिएको छ ।

images

त्यसैगरी बैठकले ७ जना स्थायी कमिटी सदस्य चयन गरेको छ । चयन भएका स्थायी कमिटी सदस्यहरूः– ईश्वर पोखरेल–काठमाडौं, प्रदिप ज्ञवाली–गुल्मी, काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे–झापा, शिवमाया तुम्वाहाम्फे–मोरङ, लालबाबु पण्डित–मोरङ, थममाया थापा–म्याग्दी रहनु भएको छ ।

मनोनित हुने केन्द्रीय कमिटी सदस्यहरूः काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे–झापा, हरि रिजाल–प्यूठान, पासाङ शेर्पा–ताप्लेजुङ, नरेन्द्र भट्टराई–ईलाम, नन्दराम देवकोटा–खोटाङ, धर्म गिरी–प्यूठान, नारायण घर्ती–जाजरकोट, विद्यासुन्दर शाक्य–काठमाडौं, शान्तिलाल महत–जुम्ला, पोल्तेन छेपाङ गुरूङ–मनाङ, प्रेम दङ्गाल–काठमाडौं, सुरेन्द्र उदास–भोजपुर, विनोद पाण्डे–काठमाडौं, पुष्पराज श्रेष्ठ–सिन्धुली, विमला घिमिरे–कपिलवस्तु, शिवमाया तुम्वाहाम्फे–मोरङ, कौशिला खत्री–जाजरकोट, जानुका सिम्खडा–धादिङ, बिना बास्तोला–भक्तपुर रहनुभएको छ ।
त्यसैगरी पार्टीमा समायोजन हुनुभएका कमरेडहरुबाट केन्द्रीय सदस्य हुनेहरुमा मोहम्मद इस्तियाक राई–बाँके, प्रदीप यादव–पर्सा, अब्दुल हुसैन अंसारी–सुनसरी, डिबी कार्की–स्यांङ्जा, भवानी खापुङ–तेह्रथुम, दीपक साउद–अछाम, जय गोल े(तामाङै)–काठमाडौँ, धर्मराज निरौला–सुनसरी, रवि चामलिङ–खोटाङ, विनोद पहाडी–रुपन्देही, श्रीप्रसाद शर्मा–बागलुङ, रामप्रीत राम–सिराह, ध्रुव विष्ट–भक्तपुर,

images

स्थायी कमिटी  
बैठक समापन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी हो भन्ने कुरा तेस्रो केन्द्रीय कमिटीमा पनि प्रकट भएको औंल्याउँदै सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । बैठकमा प्रस्तुत बाँकी एजेन्डाहरुमध्ये स्थायी कमिटीको पूर्णता, पोलिटव्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरुको गठन, जेष्ठ कम्युनिष्ट मञ्च गठनको कामलाई सचिवालय बैठकबाट निर्णय लिन केन्द्रीय कमिटी बैठकले अधिकार प्रत्यायोजन गरेको छ । बैठकबाट पारित समसामयिक प्रस्तावहरू देहाय बमोजिम रहेका छन् ।

समसामयिक प्रस्तावहरूः

images

श्रद्धाञ्जली, समवेदना तथा स्वास्थ्यलाभको कामना 

१.     केन्द्रीय कमिटीको यो तेस्रो बैठक देश, जनता र आन्दोलनका हितमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय शहीदहरुप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । कमरेड पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी लगायत हाम्रा मार्गदर्शक र प्रेरणास्रोत अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ । जस्तासुकै प्रतिकुल अवस्थामा पनि न्यायको सङ्घर्षमा हामीलाई भरोसा प्रदान गर्ने जनसमुदायप्रति आभार व्यक्त गर्दछ । हामी उहाँहरुको सपनालाई सार्थक पार्न निरन्तर कत्र्तव्यपथमा अगाडि बढिरहने सङ्कल्प गर्दछौँ ।

२.     यस अवधिमा पार्टी केन्द्रीय सदस्य, पोखरा नगरपालिकाका पूर्व मेयर एवं गण्डकी प्रदेशसभाका पूर्व सदस्य कमरेड कृष्ण थापा र पूर्व केन्द्रीय सदस्य कमरेड खगेन्द्र राईको असामयिक निधन भएको छ । पार्टी उहाँहरुको योगदानको सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।  हालै निधन हुनुभएका नेपाल बुद्धिजीवी परिषद्का पूर्व अध्यक्ष एवं भारतका लागि नेपालका राजदूत प्रा. हर्षनारायण धौभडेल, पार्टीका केन्द्रीय सल्लाहकार शोभाराम बस्नेत र लक्ष्मीप्रसाद पुन तथा मधेस प्रदेशसभा सदस्य जैनव खातुनप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । प्रतिष्ठित भाषा अभियन्ता, राष्ट्रभक्त एवं जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शिक्षाविद् एवं काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्माको निधनप्रति शोक व्यक्त    गर्दै  भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ ।

 

Nepal life insurance

३.     अध्यक्ष कमरेड केपी शर्मा ओलीका श्रद्धेय पिता मोहनप्रसाद ओलीको गतः फागुन २९ गते दुःखद देहावसान भएको छ । पितृशोकमा पर्नुभएका अध्यक्ष लगायत यसै अवधिमा केन्द्रीय सचिव कमरेड शेरधन राई, कमरेड हिक्मत कार्की र केन्द्रीय सदस्य दीपक कार्की तथा केन्द्रीय सदस्यहरु कमरेड लालबहादुर थापा, निर्मला पाठक तथा सन्तोष शर्मा थापा मातृशोकमा पर्नुभएको छ । त्यसै गरी केन्द्रीय सदस्यहरु दामोदर भण्डारी, मनकुमारी जिसी, सहवीर बोगटी, कोमल वली नारायण आचार्य र साजिदा खातुन सिद्दिकी पितृशोकमा पर्नु भएको छ । केन्द्रीय सदस्य निर्मला देवकोटा पतिशोकमा पर्नुभएको छ । पारिवारिक शोकमा पर्नुभएका अध्यक्ष कमरेड सहित सबै कमरेडहरुलाई समवेदना व्यक्त गर्दै दिवंगत बुवा आमाहरुप्रति यो बैठक श्रद्धाञ्जली अर्पण गर्दछ ।

 

४.     उपचार र उपचारपछि स्वास्थ्यलाभको प्रक्रियामा रहनु भएका पार्टीका निवर्तमान उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य, पार्टीका निवर्तमान वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलकी पत्नी एवं संविधानसभा सदस्य कमरेड मीरा ध्वजु तथा झापा आन्दोलनका क्रममा लामो जेलजीवन बिताउनु भएका कमरेड घनेन्द्र बस्नेतको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

 

उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माण

५.  गतः २०८३ भाद्र १० गते (२०२६ अगस्त २६) का दिन भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सिङ्गो राष्ट्र अझै शोकाकुल छ । बाढीमा परेर १४ सय भन्दा नागरिकको ज्यान गएको छ, ६ हजारभन्दा बढी अझै बेपत्ता हुनुहुन्छ र सयौँ घाइते हुनुभएको छ । बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा तामाङ सहित विभिन्न जनप्रतिनिधिहरु, विभिन्न जलविद्युत आयोजनामा कार्यरत इञ्जिनियरहरु सहित सयौं  प्राविधिक जनशक्ति, सयभन्दा बढी सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरु एवं सयौं विदेशी पर्यटकहरुको ज्यान लिएको छ । बाढीले भोटेकोशी–त्रिशुली करिडोरमा विकसित एउटा सभ्यता, जीवन्त अर्थतन्त्र, ४ सयभन्दा बढी मेगावाटको जडित विद्युत क्षमता, कैयौँ निर्माणाधीन आयोजनाहरु र सीमापार व्यापारमा अपूरणीय क्षति पु¥याएको छ । नेकपा (एमाले) भोटेकोशी बाढीले निम्त्याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ, ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ताको यथार्थ अवस्था जानकारी गराउन ध्यानाकर्षण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

६.     यस विनाशका पछाडि विकसित देशहरुले गएको २ सय वर्षदेखि गर्दै आएको अन्धाधुन्ध औद्योगीकरण, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरण विनास जिम्मेवार छ । जलवायु परिवर्तनले आज जलवायु सङ्कटकोे रुप लिँदैछ र त्यसको शिकार आज नेपाल जस्ता विकासशील राष्ट्र हुनु परेको छ । पेरिस सम्झौतामा व्यक्त प्रतिबद्धता विपरीत विश्वव्यापी तापमानले अहिल्यै १.५ डिग्री सेल्सियसको सीमा नाघ्न थालेको र पर्वतीय एवं टापु राष्ट्रहरुमाथि अस्तित्वको सङ्कट उत्पन्न भएको अवस्थाप्रति नेकपा (एमाले) चिन्तित छ । जलवायु सङ्कटको सामना र जलवायु न्यायको एजेण्डालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टी सङ्कल्पबद्ध छ ।

 

७.     यस राष्ट्रिय सङ्कटको सामना गर्ने विषयमा सरकारको भूमिका अव्यवस्थित र निष्प्रभावी मात्र होइन, कतिपय मामलामा गैरजिम्मेवार समेत देखियो । सरकार एक्लै अगाडि बढ्ने अहंकारी बाटोमा हिँड्यो । प्रदेश र स्थानीय सरकारको भूमिकालाई उपेक्षा गर्ने, राष्ट्रिय दलहरुसँगको समन्वय र सहकार्यलाई अस्वीकार गर्ने एवं पीडितहरुमा सान्त्वना र भरोसा जगाउने विषयमा सरकार चुक्यो । सुरुङमा फँसेका सयौँ  प्राविधिक जनशक्तिलाई उद्धार गर्ने मानवीय विषयमा विदेशी सहायता नलिने भनेर सुरुमा लिइएको गैरजिम्मेवार नीतिले उहाँहरुलाई जीवितै उद्धार गर्न सकिने संवेदनशील समय गुज्रेर गएको यो लापरबाही सामान्य होइन । एक्लै अगाडि बढ्ने अहं, समन्वयविहीनता र अन्य पक्षको भूमिकालाई निषेध गर्ने सरकारको व्यवहारले उद्धार र राहत कार्य प्रभावित भएको कुराप्रति नेकपा (एमाले) आपत्ति व्यक्त गर्दछ ।

 

८.     जनतालाई विपत्ति परेको यस घडीमा अनेकौं कष्ट र दुःख सहेर राहत र उद्धारमा खट्नु भएका नेकपा (एमाले) सम्बद्ध जनसङ्गठन र पार्टीका स्वयंसेवकहरुको उच्च प्रशंसा गर्दछ ।

९.     नेपाललाई परेको यस महाविपत्तिको समयमा राहत, उद्धार र पुनर्निर्माणमा सहयोग गर्ने छिमेकी लगायत सबै मित्र राष्ट्रहरु र अन्य सङ्घसंस्था, व्यक्ति र नेपाली नागरिकहरुलाई नेकपा (एमाले) धन्यवाद ज्ञापन गर्दछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लगायत उद्धार र राहतका काममा अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारीहरु, बागमती प्रदेश सरकार र स्थानीय तहहरुलाई  उच्च प्रशंसा सहित धन्यवाद ज्ञापन गर्दछ ।

१०.     बाढीबाट विस्थापित बालबालिका, गर्भवती र सुत्केरीहरु, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई केन्द्रबिन्दुमा राखेर तत्काल प्रभावकारी रुपमा पुनस्र्थापनाको काम थाल्न पार्टी माग गर्दछ । ध्वस्त भएका पुल र सडकहरुको तत्काल मर्मत संभार गर्दै रसुवा, नुवाकोटको त्रिशुली पारीको भूभाग र धादिङ सदरमुुकामलाई जोड्ने यातायात सम्पर्क पुनः सञ्चालन गर्न माग गर्दछ । बस्तीहरुको वैज्ञानिक अध्ययनका आधारमा पुनर्निर्माणको काम तत्काल सुरु गर्न ध्यानाकर्षण गर्दछ ।

राष्ट्रियता, लोकतन्त्र र जनजीविका

 

११.     नयाँ सरकार बनेको केही घण्टा बित्दानबित्दै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात गरिएको घर घेराउ र गिरफ्तारी एवं लगाउन खोजिएको मुद्दा राजनीतिक प्रतिशोध र मुलुकलाई मुठभेडतिर लैजाने दूषित मनशायको पराकाष्टा थियो । यो बैठक सरकारको उक्त प्रतिशोधी कुकृत्य र त्यसको केही समयपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गरिएको दुराशययुक्त गिरफ्तारीको निन्दा र भत्र्सना गर्दछ ।

१२.     स्वदेशी र विदेशी मिडियाहरुले सार्वजनिक गरिरहेका नयाँ तथ्यहरु, अन्तरिम सरकारका पदाधिकारी एवं कथित छानबिन आयोगका अध्यक्ष स्वयंले सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरुले भदौ २३÷२४ को घटनाका पछाडि रहेका अनेकौँ षडयन्त्रहरुको पर्दा खुलाउँदै लगेको छ । सरकार भने भदौ २४ को राज्य विध्वंशको छानबिनलाई पञ्छाउँदै लैजाने, त्यसमा सङ्लग्नहरुलाई उन्मुक्ति दिने, भदौ २३ को घटनामा राजनीतिक नेतृत्व विरुद्ध दूषित मनशायका साथ अभियोजन गर्ने तर त्यस दिनको सुरक्षा कार्बाहीहरुको यथार्थलाई भने लुकाउने षडयन्त्र गरिरहेको छ । यो बैठक सरकारको यस षडयन्त्रपूर्ण क्रियाकलापको भत्र्सना गर्दछ र भदौ २३÷२४ को घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गर्दछ । छानबिनका लागि यस अघि गठित आयोगहरुका प्रतिवेदन अविलम्ब यथार्थ र पूर्ण पाठसहित सार्वजनिक गर्न माग गर्दछ ।

१३.     यो सरकार गठन भए लगत्तै सुकुम्बासी बस्तीमा निर्ममतापूर्वक डोजर चलाउँदै गरिएको सुकुम्बासी विस्थापन नागरिकको मौलिक हक र मानवीयताका समेत विरुद्ध थियो । यस क्रममा ५ जना सुकुम्बासीहरुले आत्महत्या गर्ने अवस्था सिर्जना हुनु असाध्यै संवेदनशील विषय हो । यसका लागि सरकार जिम्मेवार छ भन्ने स्पष्ट छ । ५ महिनाभन्दा बढी समय बित्दा समेत विस्थापितहरुको व्यवस्थापन गर्न नसक्ने सरकारको यस गैरजिम्मेवार र जनविरोधी व्यवहारको यो बैठक विरोध गर्दछ ।

१४.     सरकार गठन हुनासाथ नेपालको संविधानले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार, विद्यार्थीहरुले बलिदानी सङ्घर्षका बलमा पञ्चायत कालमै प्राप्त गरेको स्ववियु अधिकार लगायत मानव अधिकारहरुको जसरी कटौती गरिँदै छ, मिडियाहरुको स्वतन्त्रतालाई विभिन्न बहानामा नियन्त्रण गरिँदै छ, सरकारको आलोचना गर्ने नागरिकहरु, अभियन्ताहरु र बौद्धिक व्यक्तित्वहरुलाई जसरी गिरफ्तार गरेर अधिनायकवादी राज्य स्थापना गर्ने धृष्टता हुँदैछ, बैठक गंभीर आपत्ति व्यक्त गर्दछ । लोकतन्त्र तथा मानव अधिकारका पक्षमा अविचलित रुपमा लडिरहने सङ्कल्प गर्दछ ।

१५.     संविधान संशोधनका नाममा एकपक्षीय र अनुत्तरदायी ‘कार्यदल’ गठन गरेर संविधानका आधारभूत संरचना नै भत्काउने सरकारी प्रयासप्रति पार्टी गंभीर छ । संविधान आफैमा गतिशील दस्ताबेज भएकाले आवश्यकता र औचित्यका आधारमा यो संशोधन हुन सक्छ र उपयुक्त समयमा संविधानका कतिपय प्रावधान संशोधन गर्नु पनि पर्छ  भन्ने कुरामा पार्टी स्पष्ट छ । तर संविधानप्रति यस सरकारको कुनै स्पष्ट प्रतिबद्धता र निष्ठा नरहेको पृष्ठभूमिमा, सरकारले संशोधनको नाममा संविधानका आधारभूत स्तम्भलाई नै धक्का पु¥याउने नियत बोकेको स्पष्ट देख्न सकिन्छ । पार्टी संविधानको रक्षाका निम्ति दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ ।

१६.     आम नागरिकहरु यतिबेला खाना पकाउने ग्यासको हाहाकार, विकराल बन्दै गएको महङ्गी र अन्धाधुन्ध बढाइएको करबाट आक्रान्त छन् । बढ्दो आत्मदाह, आत्महत्या र वाह्य प्रवासनमा जाने युवाहरुको निरन्तर बढ्दो सङ्ख्याले समाजमा नैराश्य बढ्दै गएको स्पष्ट सङ्केत गर्दछ । व्यवसायीहरु इतिहासमै सबैभन्दा बढी मनोबल खस्किएको अवस्थामा छन् । लगानी झनै सङ्कुचित हुँदै गइरहेको छ । तर सरकार जनताका यी समस्याप्रति पूरै संवेदनहीन देखिएको छ । पार्टी जनताको यस पीडाप्रति सम– अनुभूति व्यक्त गर्दछ । महङ्गी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति र अन्धाधुन्ध बढाइएको कर फिर्ता लिन माग गर्दछ । गतः वर्ष व्यवसायिक प्रतिष्ठानमाथि हमला र आगजनीमा सङ्लग्न भएका दोषीहरुलाई अविलम्ब कार्बाहीको दायरामा ल्याउन, व्यवसायीहरुलाई त्रसित पार्ने क्रियाकलाप तत्काल बन्द गर्न र अनुकूल व्यवसायिक वातावरण निर्माण गर्न ध्यानाकर्षण गर्दछ ।

१७.     गतः वर्ष भदौका विध्वंश र त्यसपछि विकसित घटनाक्रमसँगै नेपालको राष्ट्रिय हित विरुद्धका गतिविधि बढेका छन् । छिमेकी मित्र राष्ट्रहरुका संवेदनशीलतामाथि आँच पु¥याउने कामले अविश्वास बढाइरहेको छ । संसदको मञ्चबाटै दिएको सीमा सम्बन्धी गैरजिम्मेवार, विवादास्पद र आत्मघाती अभिव्यक्तिलाई प्रधानमन्त्रीबाट अझै सच्याइएको छैन । गैरजिम्मेवार सरकार र बढ्दो भूराजनीतिक चलखेलले राष्ट्रिय हित, महत्वपूर्ण प्राकृतिक स्रोतको रक्षा र स्वाभिमानको संरक्षणको प्रश्न अझ संवेदनशील बनेको छ । पार्टी राष्ट्रियताप्रतिको यस जोखिमप्रति संवेदनशील र सतर्क छ ।

१८.     यस्तो प्रतिकूल परिस्थितिमा राष्ट्रिय हितको रक्षा, लोकतन्त्र र संविधानको जगेर्ना एवं जनताका हितका प्रश्नमा सार्थक संवाद, सहकार्य र एकताका लागि नेकपा (एमाले) सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिकहरु एवं बौद्धिक समुदायमा आह्वान गर्दछ ।

प्रवासी नेपाली

१९.     रेमिट्यान्सका स्रोत मात्रै नभएर नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रुपमा रहेको प्रवासी नेपालीहरुको भूमिकालाई नेकपा (एमाले) सम्मान गर्दछ । नेपालको पुनर्निर्माणमा प्रवासी नेपालीहरुको थप भूमिका सुनिश्चित गर्न र मताधिकार, नागरिकता, लगानी र सम्मानित रोजगारी, सामाजिक सुरक्षा लगायत उहाँहरुका सरोकारलाई संबोधन गर्न पार्टी गंभीर रहेको विश्वास दिलाउँदै यसका लागि उहाँहरुसँग नियमित संवाद गर्दै समस्या समाधानमा सहजीकरण गर्ने सङ्कल्प गर्दछ ।

विशेष सङ्कल्प 

२०.     केन्द्रीय कमिटीको तेस्रो बैठक पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्वपूर्ण रह्यो । बैठकमा हामीले विगतमा रहेका कमीहरुको गंभीर समीक्षा गरेका छाँै, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहो¥याउने प्रण गरेका  छौँ र सुधार तथा रुपान्तरणको मार्गचित्र तयार गरेका छौँ । बैठकका निर्णयलाई गंभीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्दै अगाडि बढ्न पार्टीका सबै नेता कार्यकर्तालाई आग्रह गर्दछौँ । यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थताहरु यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रुपमा थप एकजुट भएको छ । बैठकको यस सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारी सम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टी पङ्क्तिलाई आह्वान गर्दछ ।
 विविध
२१.    बङ्गालको खाडीमा विकसित भइरहेको प्रणालीका कारण आगामी ३ दिनसम्म नेपालका विभिन्न भूभागमा ठुलो वर्षाको संभावना रहेको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ र विभिन्न जिल्लाहरुलाई रेड अलर्टमा समेत राखिएको छ । यो बैठक सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सतर्क रहन, मौसम पूर्वानुमान र सम्बद्ध निकायहरुले जारी गरेका सूचनाको परिपालना गर्न र अत्यावश्यक बाहेक यात्रामा ननिस्कन आग्रह गर्दछ ।
२२. यस बैठकको व्यवस्थापनमा सहयोग पु¥याउने सबै स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु र बैठकका लागि हल उपलव्ध गराउन रामबाग पार्टी प्यालेसलाई धन्यवाद ज्ञापन गर्दछ ।